नरैनापुरमा घट्यो ‘ड्रपआउट’ (फोटो फिचर)

नरैनापुर (बाँके), ३१ साउन, २०७९ ।


नरैनापुर गाउँपालिकाका विद्यालयमा ‘ड्रपआउट’ हुने विद्यार्थीको संख्या घटेको छ । गाउँपालिकाले विद्यालयमा दिवा खाजाको ब्यवस्था गरेपछि ड्रपआउट हुने क्रम घटेको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।
दिवा खाजा लागू भएपछि विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन थालेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनाहका प्रधानाध्यापक सज्जाक खाँले बताए । उनले दिवा खाजा र विद्यालय पोशाक वितरण भएपछि तल्लो कक्षाका विद्यार्थीहरु खुसी हुँदै विद्यालय आउने गरेको बताए । ‘दिवा खाजाले विद्यार्थीलाई आकर्षण गरेको छ । यसले विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने बानीको विकास गराएको छ नै ड्रपआउटलाई घटाउन पनि सघाएको छ,’ उनले भने, ‘दिवा खाजा खान पाउँदा बालबालिका रमाउँछन् । खाजा खान पाउने आशामा विद्यालय आउँछन् ।’
उनले पछिल्लो समय विद्यार्थी संख्या पनि बढेको बताए । दिवा खाजा र पोशाकले विद्यार्थीलाई विद्यालय आउने बातावरण मिलाएको जिकिर गरे ।
नमुना आधारभूत विद्यालय, मोतिपुरमा पनि ड्रपआउट हुने विद्यार्थीको संख्या घटेको प्रधानाध्यापक अलिमाम साफीले बताए । उनले दिवा खाजाले ड्रपआउटको संख्या ५ प्रतिशतमात्र रहेको बताए । उनले भर्ना भएका मध्ये ९० प्रतिशत विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेको दावी गरे । ‘ड्रपआउट रोक्न दिवा खाजाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।


उनले विद्यालय आउने बालिकाको संख्या पनि बढेको बताए । अघिल्लो भन्दा चालू शैक्षिक सत्रमा बालिकाको संख्या १०–१५ प्रतिशतले बृद्धि भएको उनको भनाई छ । ‘बालकभन्दा बालिकाको संख्या कम छ, तर चालू शैक्षिक सत्रमा बालिकाको उपस्थितिलाई सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘गाउँघरमा बालकको संख्या नै धेरै छ । सोही अनुपातमा विद्यालय आउने बालकको संख्या छ ।’
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जमुनीमा पनि ड्रपआउट हुने विद्यार्थीको संख्या घटेको प्रधानाध्यापक अवसल अलि मुकेरीले बताए । उनले विद्यालयमा दिवा खाजाले विद्यार्थीलाई आकर्षण गरेको बताए । उनले भर्ना हुने संख्या पनि बढेको बताए । ‘दुई–तीन बर्षअघि विद्यार्थी पाउन मुस्किल पर्थ्यो । घर–घर खोज्न जानु पर्ने हुन्थ्यो । अहिले आफै आउँछन्,’ उनले भने, ‘दिवा खाजाले पनि विद्यार्थीलाई तानेको भन्ने हाम्रो ठम्याई छ ।’


उनले विद्यालय आउने छात्राको संख्या सन्तोषजनक रहेको बताए । तल्लो कक्षाको अनुपातमा माथिल्लो कक्षामा छात्राको संख्या थोरै रहेको उनको भनाई छ । चालू शैक्षिक सत्रमा एक सयको हाराहारीमा छात्राभन्दा छात्रको संख्या धेरै छ । यसले पनि विद्यालय आउने बालिकाको संख्या बढेको हो भन्ने देखाउँछ,’ उनले भने ।
स्थानीय तहमा जनप्रतिनिधि चयन भएर आएपछि नरैनापुरका विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए । उनले ड्रपआउट रोक्न र बालिकाको संख्या बढाउन विशेष प्याकेजको कार्यक्रम ल्याएको जिकिर गरे । छोरी शिक्षालाई प्राथमिकतामा राखेर गाउँपालिकाले विभिन्न थरिका कार्यक्रम र अनुदान दिँदै आएको बताउँदै उनले अधिक मेहनतका बाबजुद ड्रपआउट घटाएको बताए । अवको पाँच बर्ष भित्र ड्रपआउट शून्यमा झार्ने उद्देश्यले गाउँपालिका अगाडी बढेको छ,’ उनले भने ।


छोरी शिक्षाका लागि गाउँपालिकाले साइकल, ल्यापटप, पोशाक वितरण गर्दै आएको शिक्षा शाखाका प्राविधिक सहायक कमल केसीले बताए । उनले विद्यार्थीलाई आकर्षित गर्न स्कुल बस संचालन गरिएको बताउँदै चालू आर्थिक बर्षमा थप स्कुल बस संचालनमा ल्याउने योजना रहेको बताए । ‘गाउँपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएपछि बालिकाको संख्या बढेको छ । पछिल्लो समय विद्यालयमा विद्यार्थीको संख्या बढेको छ नै विद्यालयको विकास पनि भएको छ । यहाँका विद्यालयको शैक्षिक स्तर पनि बढेको छ,’ उनले भने ।


शिक्षा विना पालिकाको विकास हुन नसक्ने भएकोले पहिलो प्राथमिकता शिक्षामा दिएको नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले गुणस्तरिय शिक्षाका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने, ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम मार्फत छोरी शिक्षामा जोड दिइएको छ । विद्यार्थीलाई आउजाउ गर्न सजिलो होवस भन्ने उद्देश्यले बस समेत संचालनमा ल्याइएको छ ।’ नरैनापुरमा चार मावि, ६ आधारभूत र २९ मदरसा संचालनमा छन् ।

Previous articleकिन गिर्दै छ निजामती सेवाको साख ?
Next articleनेपालगन्ज र कोहलपुरमा आकासे पुल निर्माण प्रक्रिया सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here