बाँके, २७ साउन, २०७९ ।
हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज मनाइँदैछ । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ ।
यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन् । यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ ।
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।
नयाँ जनै फेर्ने
यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ ।
आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्व ?
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ ।
जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ । यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर, नेपालगन्जको बागेश्वरी मन्दीर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ । यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ ।
सद्भावको पर्व
यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन् ।
पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ ।
क्वाँटी तथा भ्यागुताको पूजा
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । यस समुदायमा नौवटा गेडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ । पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन् । टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् ।
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् । भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो । ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजा गरिएको हो ।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको छ ।