पालिकालाई चिनाउन ‘हाम्रो राप्तीसोनारी’ पाठ्यपुस्तक तयार

बाँके, २५ साउन, २०७९ ।


विद्यार्थीलाई गाउँपालिकाको बारेमा बुझाउन र चिनाउन राप्तीसोनारी गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ पाठ्यपुस्तक तयार गरिएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
उक्त पुस्तक पालिकाभित्रका कक्षा १–८ सम्मका सबै विद्यालयमा लागू गरिएको उनले बताए । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समितिले पाठ्यक्रम तयार पारेको उनले बताए ।
पुस्तकमा सात वटा विषय समेटिएको छ । हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा, व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापन पुस्तकमा समेटिएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताए । ‘पुस्तकमा मुलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको छ,’ उनले भने ।
आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको उनले बताए । ‘पुस्तक पढेपछि विद्यार्थीले गाउँपालिका भित्र रहेका प्राकृतिक सम्पदा, गाउँपालिकाको भौगोलिक बनोट, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षको बारेमा जानकार हुने छन्,’ शिक्षा शाखा प्रमुख न्यौपानेले भने, ‘यहाँका प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन तथा साँस्कृतिक संरक्षण गर्न बालबालिकालाई प्रेरित गर्ने आशा छ ।’

Previous articleकरिव पाँच करोडको एक हजार ताजियाले सजियो नेपालगन्ज
Next article‘अझैँ पुरिएन दिलको घाउ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here