बाँके, २५ साउन, २०७९ ।
आगोले जलेर छियाछिया भएको रिहाना बानो ढपालीको घाउ पुरिएको छ, तर दिलमा पुगेको चोटको घाउ अझैँ ताजै छ । जुनी–जुनीसँगै जिउने सँगै मर्ने कसम खाएका जिवनको सवैभन्दा प्यारो ब्यक्ति पतिले शरिरमा मट्टी तेल खन्याएर जिउँदै जलाउँलान भन्ने उनले सोँचेकी पनि थिइनन् । तर, जे उनले सोँचेकी थिइनन् उनको जिवनमा त्यहि भयो । ‘आगोले पोलेको घाउ एक बर्षपछि निको भयो । अहिले पनि दुख पाइरहेकी छु, तर मुटुमा लागेको चोट ताजै छ,’ उनले भनिन्, ‘ममाथि आगो लगाउनेले सजाय पाएको देखे भनेमात्र मुटुमा लागेको चोट निको हुने छ । मनलाई शान्ति मिल्ने छ ।’
विक्रम सम्वत् २०७२ साल फागुन महिना थियो । गाउँघरमा होलीको रौनक थियो । रातको ११ बजे उनले पति फरिद ढपालीलाई खाना दिइन् । र, पानी लिन चापाकल (हेण्डपम्म) तिर जाँदै थिइन् । त्यहिबेला पतिले पछाडीबाट शरिरमा मट्टी तेल छर्किदै एकासी टाउकोमा मुका प्रहार गरे । उनी भूइँमा ढलिन् । अर्धचेत अवस्थामा रहेकी उनको हात, खुट्टा बाँधियो । मुखमा बुजो लगाइयो । अर्धचेत अवस्थामा रहेकी उनी माथि सलाई कोरेर आगो लगाइयो । उनी अर्धचेत अवस्थामै चिच्याइन् । जिवन बचाई दिन हारगुहार गरिन् । तर, उनको चित्कार सुन्ने त्यहाँ कोहि थिएन । आगोले पोलेको घाउ सहन नसकेर उनी केवल छट्पटाइरहिन् । जिवनभर साथ दिने कसम खाएका उनका पति आगो निभाउन छोडेर भारत तिर कुलेलम ठोके ।
घटना भएको समय रिहाना ६ महिनाकी गर्भवती थिइन् । आगोले उनको बाँया पेटदेखि तलको भाग जलेको छ । दुवै खुट्टा जलेर कुरुप भएको छ । पेटको भाग जलेकोले उनको गर्भमा रहेको बच्चामा समेत असर पर्यो । घटना भएको दुई हप्तापछि उनको गर्भ तुहियो । ‘गर्भमा रहेको बच्चाको पनि शरिरको विभिन्न भाग जलेको थियो,’ माइती घरमा हिरमिनियामा आएकी रिहानाले भनिन् ।
रिहानाको शरिरमा आगो लागेर घाइते भएको जानकारी उनका बाबु समिम ढपालीले दोस्रो दिन विहान ८ बजे पाए । हतार–हतार नरैनापुर तिर लागे । त्यहाँ पुग्दा रिहाना छटपटाइरहेकी थिइन् । परिवारका सदस्यले उपचारमा चासो नदिएपछि समिमले छोरीलाई भारतको बहराइचस्थित जिल्ला अस्पताल पुर्याएर उपचारको बन्दोबस्त मिलाए ।
छोरीको उपचारका लागि उनले दुहुनो भैँसी, एक हल गोरु, बाख्रा विक्रि गरे । त्यो पैँसाले पनि नपुगेपछि पत्नीको गहना विक्रि गरेर उपचारमा खर्चिए । तै पनि रकम अपुग भयो । रकम जोहो गर्न नसकेपछि छोरीलाई लिएर उनी नेपालगन्ज फर्किए । भेरी अस्पतालमा भर्ना गरे ।
नेपालगन्जमा उपचार सम्भव नभएपछि रिहानालाई काठ्माडौँ लैजानु पर्ने भयो । समिमले विभिन्न संघसंस्थासँग हारगुहार गरे । सरकारी र गैरसरकारी संस्थाको सहयोगमा काठ्माडौँस्थित वीर अस्पतालमा उपचार भयो । पूर्णरुपमा निको भएर झण्डै एक बर्षको बसाई पछि उनी डुडुवा गाउँपालिका ६, ढपालीपुरमा रहेको माइतीघर फर्किइन् । ‘आगोले पोलेको घाउले सताउन छोडेको छ, तर आगो लगाएर जिउँदै मार्नेहरुले दिएको पीडाको घाउ हरेक दिन बल्झिरहन्छ,’ उनले भनिन् ।
विवाहका बेला समिमले केटा पक्षलाई तीन लाख रुपैँया दाइजो दिए । तर, त्यतिले केटा पक्षको चित्त बुझेन । विवाह भएको तीन महिना बित्न नपाउँदै उनका पति र सासुले दाइजो ल्याउन रिहानालाई दवाव दिन थाले । उनीहरुले दुहुनो भैँसी र मोटरसाइकल नदिए ज्यान लिने धम्की बारम्बार दिन थाले । ‘पति हो, केहि दिन पछि सुध्रिएलान, माया मान्लान भन्ने लाग्थ्यो, तर उनीहरुले दाइजोकै लागि मलाई जिउँदै जलाएर मार्ने योजना बनाए,’ उनले घटना सम्झिइन् ।
विगत ६ बर्षदेखि उनी न्यायको लडाइँमा छिन् । जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । दोषीलाई कारवाहीको लागि उनी बयान दिन अदालत पुग्छिन् । अदालतले न्याय दिनेमा उनी आशाबादी छिन् । तर, प्रहरीले मुख्य अभियुक्त पति र सासुलाई पक्राउ गर्न नसकेकोमा उनी खिन्न छिन् ।
उनका ससुरालाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ । रिहानाका ससुरा सादा तारिखमा छुटेका छन् । अदालत पेशी परेको बेला उनी तारिख लिन नेपालगन्ज आउँछन् । रिहानाले ससुरालाई पनि जेल हाल्नुपर्ने बताउँछिन् । ‘ससुरालाई कारवाही हुन्नकी भन्ने मलाई ठूलो डर छ । ससुरालाई जेल सजाय भए पति र सासु छुटाउन अवश्य आउने छन्,’ उनले भनिन ।
अभियुक्तहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनुपर्ने उनको एक सुत्रिय माग छ । मुख्य अभियुक्तहरुलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याएमात्र मेरो दिलमा लागेको चोट मेटिने छ । मेरो दिलमा लागेको घाउ मेटाउन मैले निरन्तर लड्नु पर्ने छ । न्याय नपाउँदासम्म म निरन्तर लडिरहने छु,’ दृढताका साथ उनले भनिन् ।
घटनाका बेला सरकारी र गैरसरकारी संस्थाले न्यायका लागि आवाज उठाए पनि अहिले कसैले पनि चासो नदिएको उनले गुनासो गरिन् । फरार अभियुक्तलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन उनले प्रहरीलाई दवाव दिन्छिन् । एक्लैले दिएको दवावलाई प्रहरीले नटेरेको उनलाई लाग्ने गरेको छ । ‘त्यतिबेला न्यायका लागि आवाज उठाउने मानव अधिकारकर्मीहरु आज कहाँ छन् कुनै पत्तो छैन,’ उनले गुनासो गर्दै भनिन्, ‘न्यायका लागि आवाज उठाइरहने प्रतिवद्धता जनाएका गैरसरकारी संस्थाहरुले नाकमुख नदेखाउँदा मन हतास हुन्छ । न्याय पाउने आशा मरेर जान्छ ।’
माइतीघरको आर्थिक अवस्था एकदमै नाजुक छ । घरमा आठ भाई बहिनी छन् । साँझ–विहान हातमुख जोड्न मुस्किल परेपछि बाध्य भएर उनले दोस्रो विवाह रोजिन । कैलालीको जानकी गाउँपालिकाका एक युवकसँग तीन बर्षअघि विवाह गरेको उनले बताइन् । दोस्रो पतिबाट डेढ बर्षको छोरा छ । ‘दोस्रो विवाह गर्ने मेरो रहर होइन, गरिवी र बेरोजगारीका कारण विवाह गर्न बाध्य भएँ,’ उनले आफ्नो बाध्यता सुनाइन् ।
जिउँदै जलाएर मार्ने प्रयास गरेका पति फरार रहेकोले उनले कानुनी र धार्मिक परम्परा अनुसार सम्बन्ध विच्छेद गर्न सकेकी छैनन् । धार्मिक रुपमा सम्बन्ध विच्छेद गर्दा उनका पतिले धार्मिक गुरु र समाजका अगाडी तीन पटक तलाक भन्नु पर्छ । यहि तलाक नभएकै कारण उनले सामाजिक रुपमा बहिष्कार हुन परेको छ । कानुनी रुपमा सम्बन्ध विच्छेद नभएकै कारण अंशबाट बञ्चित हुनु परेको छ ।
उनलाई अहिले अनेकौँ समस्यासँग जुध्न परेको छ । इस्लाम धर्मग्रन्थ अनुसार सम्बन्ध विच्छेद नभएका कारण माइती पक्षले घरमा प्रवेश गर्न दिएका छैनन् । माइतीघरमा आउन रोकटोक नभए पनि घर बाहिर बस्न र सुत्न परेको छ । खाना खाने थाल र पानी पिउने गिलास पनि छुट्टै छ । उनका बाबुले नावालक नातीलाई काखमा राखेर खाना खान समेत पाएका छैनन् । ‘बाबुआमा, भाईवहिनीको माया लागेर माइतीघर आउन मन लाग्छ, तर धार्मिक मान्यताअनुसार घर बाहिर बस्नु पर्छ, बाहिर बसेर खानु पर्ने बाध्यता छ,’ उनले भनिन् ।
सम्बन्ध विच्छेद नभएकोले उनलाई काका–काकीले समेत खाना खुवाउन पाएका छैनन् । विवाह भएकी छोरी र नावालक नातीलाई बाहिर राख्न पर्दा मन खिन्न हुने गरेको बाबु समिमले पिरलो गरे । उनले धार्मिक मान्यतालाई मान्नै पर्ने भएकोले छोरीलाई घरभित्र पस्न नदिएको स्पष्ट पारे । ‘छोरीलाई बाहिर राख्दा कुन बाबुआमाका मन नदुख्ला र, तर धार्मिक मान्यता नमान्ने हो भने समाजबाट बहिष्कृत हुनुपर्छ,’ उनले भने ।