थारु समुदायमा प्रचलित १४ थरि विवाह : सट्टापट्टादेखि महिलाले पतिको रुपमा पुरुषलाई भित्र्याउने विवाह

विश्वराज पछल्डङ्ग्या
बाँके, २३ साउन, २०७९ ।


हरेक जातजातिको विवाह गर्ने आ–आफ्नै परम्परा हुन्छ । त्यस्तै पश्चिमा थारु समुदायमा विवाह गर्ने परम्परा पनि अन्य समुदायभन्दा एकदमै भिन्न छ । थारु समुदायले विवाहलाई अन्य समुदायको भन्दा एकदमै सरल र खुल्ला बनाएको पाइन्छ । कलिलो उमेरमा दाजुको मृत्यु भए भाउजुसँग देवरले विवाह गर्ने, पतिको मृत्यु भएपछि परपुरुषलाई पतिको रुपमा आफ्नो घरमा भित्र्याउने, परपुरुषसँग भएका छोराछोरीलाई सन्तानको रुपमा स्विकार्ने, एकल महिलालाई अर्को विवाह गर्ने छुट थारु समुदायले दिएको छ ।
विवाह गर्ने परम्पराको बारेमा लिखित दस्तावेज केहि नभए पनि लोक साहित्य राम विहग्रामा राम र सीताको विवाह, बर्कीमारमा दुर्पती र फुलवारमा महादेव र पार्वतीको विवाहको चर्चा गरेको पाइन्छ । ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएका कुरालाई अध्ययन गर्ने हो भने आदिम कालमा थारु समुदायमा विवाह गर्नका लागि केटाले केटी हेर्ने र माग्ने परम्परा भएको पाइन्छ । अन्य समुदाय जस्तै थारु समुदायमा पनि युवतीको संख्या कम हुँदै गएपछि केटाले केटी रोज्ने त के अनुहार समेत हेर्न पाउँदैनथे ।
केटाको तुलनामा केटीको संख्या बृद्धि भएपछि अहिले मागेर भन्दा प्रेम विवाह गर्ने चलन बढेको छ । केटाले केटी रोज्ने मात्र नभई केटीले केटा रोज्ने चलन थारु समुदायमा अत्यधिक भएको पाइन्छ । विवाह गर्ने परम्परागत चलन थारु समुदायमा हराइसकेको साहित्यकार सुशील चौधरी बताउँछन् । उनी भन्छन्, ‘आधुनिकतासँगै प्रेम र भागी विवाह गर्ने प्रचलन बढेको छ । यसले थारु समुदायको मौलिकता माथि ठाडो प्रहार भएको छ ।’
थारु समुदायमा गोत्र भित्र विवाह गर्न पाइदैन, तर फुपु, मामा, सानी आमा र ठूली आमाको छोरीसँग विवाह गर्ने प्रचलनमा छ । यी नाता पर्नेसँग विवाह गर्दा हाडनाता पर्ने भएकोले यस्तो विवाहलाई राम्रो मानिदैन ।
अव यहाँ थारु समुदायमा विद्यमान विवाहको चर्चा गरौँ । थारु समुदायमा १४ थरिको विवाह गर्ने परम्परा भएको पाइन्छ ।
१. सट्टापट्टा विवाहः
आफ्नो छोरीलाई दिने र उक्त घरको छोरीलाई आफ्नो बुहारी बनाएर ल्याउने विवाहलाई ‘सट्टापट्टा’ विवाह भनिन्छ । यो विवाहलाई ‘झाङ्गा’ विवाह पनि भनिन्छ । छोरी दिए बापत बुहारी ल्याउने भएकोले यसलाई ‘सट्टापट्टा भनिएको थारु गुरुवा मोहनलाल चौधरीले बताए । उनले उक्त विवाहमा दुवै पक्षको सल्लाह अनुसार विवाहमा खर्च गरिन्छ । अन्य विवाह जस्तै गरगहना, ५० पाथी चामल, २२ गज सेतो मार्किनको लुगा (बरह्वार), एक धार्नी नुन र एक धार्नी तेल दिने गरिन्छ । तर, यी सामग्री दिने–नदिने दुवै पक्षको सहमति अनुसार तय गरिन्छ ।
थारु समुदायमा यस्तो विवाहलाई पहिले सवैभन्दा सजिलो विवाह मानिन्थ्यो । विक्रम सम्बत् २०४४÷०४५ सालसम्म यो विवाह गर्ने चलन रहेको थियो । चेली साटासाट गर्ने भएकोले केटी पक्षले नै आफ्नो चेलीको लागि गहना बनाई दिने गरिन्थ्यो । ‘यो परम्परा अनुसार विवाह गर्दा एक जोडीको उमेर मिले पनि अर्को जोडीको उमेरमा धेरै अन्तर हुन्थ्यो । उमेर नमिलेका कारण पछि गएर केटा र केटीले अर्को विवाह गर्ने तथा छोडपत्र समेत हुन्थ्यो,’ उनले भने, ‘अहिले यो विवाह पूर्ण रुपमा हटिसकेको छ ।
२. झाङ्गा विवाहः
छोरी नभएका आमाबाबुले बुहारी ल्याए बापत केटी पक्षलाई अन्न, रुपैँया, सुन वा अन्य चिज बस्तु दिने विवाहलाई ‘झाङ्गा’ विवाह भनिन्छ । झाङ्गामा केटा पक्षले केटी पक्षलाई ५० पाथी चामल, एक धार्नी नुन, एक धार्नी तेल, २० गज लुगा, केहि पैँसा र गहना दिनु पर्दछ । पहिलेको जमानामा बुहारी पाउन मुस्किल पर्ने भएकोले छोरी नहुने आमाबाबुले बुहारी पाउन ठूलो चिन्ता गर्नु पर्दथ्यो ।
बाँके, बर्दियाका केहि थारुले विवाहित छोरी अर्कैसँग विवाह गरेमा सोही ज्वाईलाई अर्को छोरी दिने चलनलाई झाङ्गा भन्दछन् ।
३. टिन टिक्ठी (तीन खुट्टे) विवाह :
छोरी नहुने बाबुआमाले या विवाहवारी गर्न नमिल्ने दुई घरमा छोरी भएको खण्डमा छोराछोरी भएको अर्को परिवारसँग छोरी लिने दिनका लागि विवाहको छिनोफानो गर्ने कार्यलाई ‘टिन टिक्ठी’ विवाह भनिन्छ । यस्तो विवाह विग्रिने सम्भावना अत्यधिक हुन्थ्यो । एकतर्फको विग्रियो भने तीन तर्फको विवाह बिग्रन्थ्यो । यो विवाह पनि २०४४÷०४५ सालसम्म प्रचलनमा थियो ।
४. डमाहा विवाह :
आफ्नो दिदि बहिनी नहुने केटा पक्षले केटी पक्षसँग अन्नपात, रुपैँया, पैँसा, सुन, गरगहना माग्छन् । दाममा ५० पाथी चामल, धार्नी नुन, धार्नी खाने तेल, २२ गज लुगा, केहि पैँसा र गरगहना पर्दछ । पहिलेको जमानामा रुपैँया, पैँसा, अन्नपात कम हुने भएकोले छोरी नहुने आमाबाबुहरुलाई बुहारी पाउन ठूलो चिन्ता लिनुपर्ने हुन्थ्यो ।
५. उर्ही उर्हा (प्रेम) विवाह :
आमाबाबुको सहमति विना केटा र केटी वीच माया प्रेम भएर भागेर जाने विवाहलाई थारु समुदायले ‘उर्ही उर्हा’ (प्रेम) विवाह भन्दछन् । केटा र केटीको सल्लाह बमोजिम दुवै जना आफ्नो नातागोताको घरमा लुक्न जान्छन् । बाबुआमाले खोजेर ल्याएर सिधै विवाह गरिदिन्छन् । प्रेम विवाह गर्दा केटी पक्षले केटा पक्षसँग झाङ्गा वा दामको माग दावी गर्थे । पछिल्लो समय थारु समुदायमा भागी (प्रेम) विवाह मौलाएको छ, तर केटी पक्षले केटा पक्षसँग झाङ्गा माग्ने प्रचलन भने पूर्ण रुपमा हराएको छ ।
६. भौजी (भाउजु) विवाह :
दाजुको मृत्यु भएमा भाईले भाउजुसँग विवाह गर्ने प्रचलनलाई भौजी विवाह भनिन्छ । महिलाको बच्चा जन्मेको वा नजन्मेको दुवै अवस्थामा भाउजुसँग विवाह गरेको पाइन्छ । भाउजुसँग विवाह गरेकाहरुले दाजुबाट जन्मेका छोराछोरीलाई पनि आफूले जन्माएका छोराछोरी सरह ब्यवहार गरेको पाइन्छ । यो प्रचलन २०५४÷०५५ सालसम्म पनि कायम थियो ।
७. जारक्या विवाह :
अर्कैको पत्नीलाई भगाएर लैजाने विवाहलाई थारु समुदायले जारक्या विवाह भन्दछन् । यो विवाहलाई थारु समुदायमा खासै राम्रो मानिदैन, तर थारु धार्मिक ग्रन्थहरुमा देवताहरुले समेत अर्काको पत्नी भगाएको किवदन्ती छ ।
अन्य विवाहमा भन्दा जारक्या विवाहमा दुल्हा र दुल्हीको विवाह गराउने प्रचलन फरक छ । थारु संस्कृतिका जानकार एकराज चौधरीका अनुसार अर्काको पत्नी भगाएर ल्याए पछि विवाह गर्ने ठाउँमा केराको गोदा गाडिन्छ । त्यसलाई सेतो टोपी लगाइन्छ । दुल्हा र दुलही विवाहको लुगा लगाएर विवाह गर्ने ठाउँमा उभिएपछि दुल्हाको हातमा खुकुरी राखिन्छ । पहिले दुल्हाले दुलहीलाई सोध्छन्, ‘यो तिम्रो को हो ?’ त्यसपछि दुलहीले जबाफ दिन्छिन्, ‘यो मेरो जार हो ।’ त्यसपछि दुल्हाले दुलहीलाई सोध्छन्, ‘यसलाई काटु त ?’ दुलहीले फेरि भन्छिन्, ‘काट्नुस् ।’ त्यसपछि दुल्हाले केराको गोदा काटेपछि विवाहको कार्य सुरु हुन्छ । एवम् रितले तीन पटक गरेपछि विवाह सम्पन्न हुन्छ ।
८. भ्वाँर पैठ्ना विवाह :
थारु समुदाय विवाहको मामलामा केहि उदार देखिन्छ । कुुनै घरमा पत्नीको उमेर कलिलै छँदै पतीको मृत्यु भएमा अविवाहित देवरले भाउजुसँग विवाह गर्न इन्कार गरेमा महिलाले आफ्नो घरमा अर्कै पुरुषलाई घरमा ल्याउन पाउँछिन् । पतीको मृत्यु भएपछि पत्नीले आफ्नो घरमा अर्को पुरुष ल्याउने विवाहलाई ‘भ्वाँर पैठ्ना’ विवाह भनिन्छ । महिलाको सासु, ससुरा छन् भने पतिको रुपमा अन्यत्रबाट ल्याएको पुरुषलाई छोरा बनाउने चलन छ । यसलाई थारु समुदायमा ‘पुटकर छोरा’ भनिन्छ । यदि सासु, ससुरा छैनन् भने महिलाले सिधै विवाह गर्छिन् । यस्तो विवाह पनि थारु समुदायमा अहिलेसम्म प्रचलनमा छ ।
९. हातमा चुरा नभएकी महिलासँगको विवाह :
थारु समुदायमा पतिको मृत्यु भएपछि एकल महिलालाई विवाह गर्न कुनै रोकावट छैन । यस्तो विवाहलाई थारु समुदायले सहज रुपमा स्विकारेको छ । एकल महिलाले चुरा नलगाए पनि विवाहमा अन्य महिला जस्तै चुरा लगाई दिने गरिन्छ । पहिलेको पतिबाट जन्मेका बच्चा नयाँ बाबुले सहज रुपमा स्विकार गर्दै आएका छन् । यसरी आउने बच्चालाई ‘गोन्या लाग्ख आइल’ भनिन्छ । आमासँग आएका मध्ये छोरा छ भने नयाँ बाबुले काखमा लिएर दुध भात खुवाउँछन् । यसलाई थारु समुदायले ‘पुट्कर लेहल’ भन्दछन् । तर, नेपालको कानुन अनुसार आमासँग आएका बच्चाले नयाँ र पुरानो बाबुबाट अंश नपाउने भएकोले पछि गएर समस्या हुने गरेको छ ।
१०. घर ज्वाइँ
आफ्नो पत्नीसँगै ससुरालीमा बस्नेलाई ‘घर डम्डा’ भनिन्छ । छोरीमात्र भएका सासु ससुराले आफ्नो छोरी ज्वाईलाई घरमा ‘घर डम्डा’ राख्ने गर्दछन् । तर, घर डम्डा छोरा सरह कुल र गोत्रमा हुने धार्मिक कार्यमा सहभागी हुन पाउँदैनन् । घर डम्डाले आफ्नो जन्मघरको रितिरिवाज अनुसार देवीदेवताको पूजा गर्ने चलन छ ।
११. दैजाहा (दाइजो) दिने विवाह :
थारु समुदायमा दाइजो दिने प्रचलन नभए पनि पछिल्लो समय आमाबाबुले आफ्नो औकात अनुसारको दाइजो दिन थालेका छन् । तर, थारु समुदायमा दाइजो माग्ने र तोक्ने चलन छैन । अर्काको देखासिखी गरि थारु समुदायले पनि छोरी भित्र्याउने, जन्ती बोलाउने र दाइजो दिन थालेका छन् ।
१२. लठ्मरौवा विवाह :
भालेको डाँको छोड्नु भन्दा पहिले दुल्हाले सुरहोनको साथमा लठि लिएर केटीको घरमा गएर खानपिन गर्ने र केटी लिएर आउने विवाहलाई ‘लठ्मरौवा भ्वाज’ भनिन्छ । गाउँका दुई–चार जना सुरह्वाहरु डोली पठाउन आउँछन् । दुलहीको पक्षबाट पनि एकदमै कम मानिस दुल्हाको घरमा आउँछन् ।
१३. बासी चौकी विवाह :
आर्थिक रुपमा कमजोर भएका केटी पक्षले विवाहमा खर्च ब्यहोर्न नसक्ने भएकोले केटा पक्षकाले विवाहमा लाग्ने सवै खर्च ब्यहोर्ने विवाहलाई बासी चौकी विवाह भनिन्छ ।
१४. पोक्टा विबाह :
थारु समुदायमा फागुन महिनामामात्र विवाह गर्ने चलन छ । फागुन महिनाको पूर्णिमा पछि गर्ने विवाहलाई राम्रो मानिन्छ । त्यसैगरि, सकेसम्म बुधवारको रातमा विवाह गर्ने राम्रो मानिन्छ । तोकिएको लगनमा विवाह हुन नसकेमा नराम्रो हुन्छ भन्ने विश्वास अनुसार कथम कदाचित दुल्हा घरमा आउन नसक्ने अवस्था भएमा दुलहीको विवाह बर्छी (देउथानमा राखिएको लामो फलाम) सँग गरिदिने चलन छ । यसलाई नै थारु समुदायले ‘पोक्टा’ विवाह भन्दछन् । पोक्टा विवाहमा दुल्ही पर्छिने बेला दुल्हाको बर्छीमा धानको पपटो राखिएको हुन्छ । दुल्हाको सवै लुगा लिएर गन्ज्वा दुल्हा उभिने ठाउँमा उभिएको हुन्छ । त्यसपछि दुल्हाको आमा वा भाउजुले दुलही पर्छिने गर्छिन ।

Previous articleवन अतिक्रमण गर्नेलाई राजनीतिक दलको संरक्षण
Next articleकिड्नी पीडितको पीडा : डायलाइसिसको पालो कुर्दाकुर्दै धनबहादुरले गुमाए ज्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here