बाँके, २२ साउन, २०७९ ।
गणपुरक संख्या नपुगेपछि डुडुवा गाउँपालिकाको १२ औँ गाउँसभा फेरि स्थगित भएको छ । गाउँपालिका अध्यक्षले आह्वान गरेको १२ औँ गाउँसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचित बहुमत सदस्यहरु (२६ जना) अनुपस्थित भएकापछि लुम्विनी प्रदेश सरकारको गाउँसभा/नगरसभा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ (१) को प्रावधान बमोजिम १२ औं गाउँसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार दिउँसोका लागि डाकिएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५:३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको थियो ।
सभाको बैठकको जानकारी पाएका डुडुवाका जनताले चासोका साथ उपस्थित भएका थिए । त्यस अवसरमा उपस्थित भएका सर्वसाधारणलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने प्रतिवद्धता जनाए । सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताए ।
जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिए । उनले समस्या समाधानका लागि प्रयत्न जारी राख्ने अध्यक्ष चौधरीले आश्वासन दिए ।
गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९।०८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएका छन् ।