बाँके, २२ साउन, २०७९ ।
आगामी संसदिय निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धनले एमालेलाई कुनै असर नगर्ने एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आइतवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेट्घाटमा उनले यस्तो बताएका हुन् ।
सत्तापक्षको सिद्धान्त बिहिन गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने बताउँदै उनले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताए । उनले एमालेसँग सत्तापक्ष त्रसिएको जिकिर गरे । विचार नमिल्ने दलहरु वीच भएको अपवित्र गठबन्धनले एमालेलाई फाइदा पुग्ने दावी गरे । ‘जनताबाट अनुमोदित हुन नसक्नेहरुलाई जिताउन कै लागि भएको गठबन्धनले एमालेलाई झनै फाइदा पुर्याउने छ,’ उनले भने, सिद्घान्त र विचार नमिल्ने दलहरु वीच भएको गठबन्धनलाई जनताले आफ्नो अभिमतबाट अस्विकार गर्ने छन् ।’
एमालेलाई हराउन देशी, विदेशी शक्ति एकजुट भएको बताए । जनताबाट अनुमोदन हुन एमालेले निर्वाचन पर्खिरहेको उनको भनाई थियो । एमालेलाई हराउन सवै राजनीतिक दल एकजुट भए पनि कुनै सीप नचलेको प्यूठान इन्चार्ज समेत रहेका थापाले बताए । ‘सत्ता गठबन्धन बनाएर जानु आफैमा हारको मानसिकता हो । सत्तापक्ष अस्तित्व समाप्त हुने डर र भयले ग्रसित छ,’ उनले भने ।
एमालेको लोकप्रियता देखेर सत्तापक्षलाई औडाह भएको उनले जिकिर गरे । ‘चुनाव पछि यो औडाह झन बढेर जानेमा दुई मत छैन । राम्रो काम र एजेण्डा लिएर एमाले चुनाबमा होमिने छ र सरकारमा रहँदा गर्न नपाएका काम पुरा गर्न बहुमतका साथ फेरी एमाले सत्तामा जान कसैले रोक्न सक्ने छैन,’ थापाले भने ।