अवको गन्तब्य : जनताको बल

–रेशमलाल चौधरी

काठमाडौँ, १७ साउन, २०७९ ।
२०७४ सालको संसदीय निर्वाचनमा राजपा पार्टीबाट कैलाली–१ मा चुनिएँ म । कैलाली जिल्लाबाट राजपाले ५८ हजार भन्दा बढी मत प्राप्त गर्यो । प्रदेश सांसदमा कृष्णबहादुर चौधरी र मालामति राना पनि निर्वाचित हुनुहुन्थ्यो । सुदूरपश्चिम प्रदेशबाट प्राप्त मतले राजपाको केन्द्रीय समानुपातिक सांसदको संख्या पनि बढायो । स्वयंसिद्घ तथ्यसहित प्रमाणित छ, यदि कैलालीमा ५८ हजारभन्दा अधिक भोट प्राप्त नगरेको भए राजपा राष्ट्रिय पार्टी हुन सक्थेन ।
२०७७ मा मधेसवादी दल कहलिने राजपा र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) को निर्माण भयो । कहाँनेर कसको के स्वार्थ मिलेन, अन्ततः एकीकरण भएको एकै वर्षमा जसपा विभाजन भयो अनि लोसपा बन्यो । अहिले त जसपाबाट बाबुराम भट्टराई पक्ष पनि अलग भइसकेका छन् ।
जसपा औपचारिक विभाजनको दिनमा सनाखतका लागि मलाई निर्वाचन आयोगको कार्यालय लगियो । निर्वाचन आयोगले वर्गीकरणका लागि राखेको दुईमध्ये एक रजिष्टरमा हस्ताक्षर गर्नु थियो । सबैलाई थाहा छ, म जेलमा छु र पार्टी झगडाको बारेमा अनभिज्ञ । एकीकरण पूर्व दुवै पार्टीको एजेन्डा खासै फरक थिएन, अहिले पनि छैन । झगडाको बीउ मनमुटाव नै हो, अहङ्कार र अहमता नै हो । अलि अलि कुर्सी मोह पनि हो ।
म निर्वाचन आयोग जानुपूर्व आयोगकै कर्मचारी कारागार आएका थिए । तर सनाखत गर्न मैले अस्वीकार गरेँ, जहाँ कार्यालय त्यहीँ काम । त्यसो त सांसदको शपथ पनि मलाई जेलमै खुवाइने प्रपञ्च रचिएको थियो । मेरो अस्वीकृतिका कारण सरकार मलाई सिंहदरबार लगेर शपथ ख्वाउन बाध्य भयो । निर्वासनमा रहँदा, सांसदको शपथ खाँदा, निर्वाचन आयोग जाँदा, जहाँसुकै मौका मिल्छ– मेरो मुखबाट एउटै शब्द निस्कन्छ, त्यो हो, ‘न्याय’ ।
दया हामीलाई चाहिएकै छैन । क्षमाको भीख म माग्नेवाला छैन । सक्छौ न्याय देऊ । नभए देखाजाएगा ।
निर्वाचन आयोग पुगेर तटस्थको रजिष्टरमा हस्ताक्षर धस्काइदिएँ । कारण पार्टी विभाजनको कारक म होइन । कसैको झगडाबाट उत्पन्न परिणामको भागिदार पनि म होइन । मैले राजपाबाट चुनाव जितेँ, शपथ खाँदा राजपा थिएँ । आज कानुनी रूपमा राजपा छैन तर मैले बोकेको मुद्दा, मेरो विचार सगरमाथाझैँ अटल छ । सानोतिनो हावाहुरी भूकम्पको बेगले डेग चल्नेवाला छैन ।
२०७२ भदौको टीकापुर आन्दोलन थारू विद्रोह थियो । ‘संवैधानिक अधिकार, सिमाङ्कन र राज्यसँग हाम्रो सहभागिता’ यी तीन प्रमुख मुद्दालाई लिएर हामीले आन्दोलन थालेका थियौँ । टीकापुर विद्रोहको तीन सातामै देशमा संविधान जारी भयो । पूर्व सभामुख कृष्णबहादुर महराले मसँग जेलमै स्वीकार्नु भएको थियो, ‘थारूले टीकापुर विद्रोह नगरेको भए देशमा संविधान जारी सम्भव थिएन ।’
टीकापुर आन्दोलनको मुठभेदमा सात प्रहरी र एक नाबालक सहिद भए । आन्दोलन हो भन्दैमा मान्छे मार्नु हुँदैन तर भीडले मान्छे चिन्दो रहेनछ । भीड कसैको नियन्त्रणमा हुँदैन । आन्दोलनको भीडले केवल आफ्नो माग मुद्दा चिन्दो रैछ, मुद्दा विरोधी सब दुश्मन !
टीकापुर आन्दोलनमा दुर्घटना नहोस् भनेर जेठानको देहान्तमा श्रीमतीलाई पशुपतिको त्रियापुत्री घरमा छोडेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा धनगढी र टीकापुर पुगेको हुँ म । आखिर जसले सद्भावलाई शिरोपर गरी सम्झौता ग¥यो, उसैलाई दोषी बनाइयो । उसैलाई मुद्दा चलाइयो । मुख्य योजनाकारको आरोप लगाइ झ्यालखानामा थुनियो ।
लोकतन्त्रमा जनता जनार्दन हुन् । जनमतको अपमान गर्नु लोकतन्त्रको धज्जी उडाउनु र संविधानको बलात्कार गर्नुजस्तै हो । २०७४ को चुनावमा टीकापुर क्षेत्रबाट मसँग काँग्रेस, एमाले माओवादीलगायत सबै दलका उम्मेदवारको लज्जास्पद हार भयो । दोषी निर्दोषीको छिनोफानो जनताले चुनावबाटै गरिदिए । म निरङ्कुश तानाशाही व्यक्तिको नजरमा दोषी थिएँ तर जनताको आँखाले जे देखेको थियो, त्यो बाकसको मतले प्रमाणित गरिदियो ।
टीकापुर घटना भएको आठौँ वर्षको यात्रामा छौँ हामी । अहिले पनि दर्जनभन्दा बढी जेलमै छौँ । मैले जितेको चुनावको अवधि पाँच महिना मात्रै बाँकी छ । अपेक्षासहित मतदान गरेका जनताको सेवा गर्ने अवसर मलाई राज्यले दिएन । चुनाव लडेको राजपा अहिले जसपामा विलीन भइसक्यो । साथीहरु कोही जसपामै छन् कोही लोसपामा । कोही कोही त जसपा विभाजन भएर तितर वितर छन् । टीकापुर मुद्दाको विषय मौन छ । किनकि नयाँ सरकारमा समीकरणको हल्लै छैन । एमसीसीले सत्तामा आसिन गराइहाल्छ कि भन्ने सत्ता बाहिर बसेका साथीहरुको अपेक्षा छ । सरकारको कुर्सी स्यालले अंगुर हेरेर मुख अमिल्याएझैँ मात्र भएको छ ।
सांसदै भए पनि डिल्लीबजारको कारागारमा थुनिएको छु । मसँगै सरकारी सांसदको लोगो पनि थुनिएको छ । ३५ हजार नेपाली जनताको मत थुनिएको छ । कैलाली क्षेत्र नं १ को प्रतिनिधि थुनिएको छ । संवैधानिक आन्दोलनको अगुवा थुनिएको छ ।
म थुनिएको अधिकारकर्मी, मानवअधिकारवादी, पत्रकार कसैलाई मतलब छैन । प्रजातान्त्रिक विचारधारा अँगालेका नेतालाई मतलब छैन । राजनैतिक दलहरुमा निर्णायक शक्ति मानिएका काँग्रेस, कम्युनिष्टलाई मतलब छैन । म आफै रणभूल्लमा छुँ, कसको स्वार्थमा जेल हालियो र कसको स्वार्थमा छुट्छौँ हामी ?
आजभोलि मस्तिष्क र नजरले एउटै उत्तर दिन्छ, तिमीहरु एक्लै थियौ, एक्लै छौ । नडराऊ, स्वार्थीहरुले साथ छोड्छन् । अहंकारीहरुले दमन गर्छन् । निरंकुशहरुले हत्या गर्छन् । तिमीहरुसँग यी सबबाहेक पनि केही अझै बाँकी छ । तिम्रो इन्द्रियलाई शुन्यतामा पु¥याएर सोच त ?
कैलालीको आगोले कञ्चनपुर सल्किसक्यो । बर्दिया हुँदै मेची पुगिसक्यो । ‘जेलबाटै सबैलाई चुनाव हराइदेउ न ! अनि बल्ल जित्छौ तिमी । हिजो प्रवासबाट हरायौ, आज जेलबाट हराऊ । तिमीप्रति इष्र्या राख्ने, प्रतिशोध लिने, तिम्रा मुद्दा लत्याउनेहरुलाई लछार पछार पारिदेउ न ! बल्ल न्याय पाउँछौ तिमी । अनि कारागारका ढोका खुल्नेछ तिम्रा लागि ।’ आक्रोशको अन्तर्मनले आजभोलि यही भन्छ मलाई ।
हिजो अर्काको पछ्यौरी समातेर चुनाव जित्यौँ हामी । जनताको बल हामीसँग अद्यापि छ । अब हामीसँग आफ्नै दल नागरिक उन्मुक्ति पार्टी छ । यसका लागि द्वापरमा कृष्ण जन्मिएझैँ नेपालमा न्याय नपाएका, नागरिक भएर पनि नागरिक नकहलिएका, मान्छे भएर पनि मानवीयता अनुभूति गर्न नपाएका, पीडित, शोषित, विभेदित जनताको मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ ।
अब सबै प्रताडित आवाजहरु हामीसँगै मिसिनेछन् । अन्याय, अत्याचार भयमुक्त समाज निर्माणका लागि हामीलाई तिनै दबिएका जनताको साथ चाहिन्छ । ढुक्कसँग आफ्नो अनुभूत गर्न सक्ने परिवेश चाहिन्छ । तेरो मेरो नभनेर सबैको साझा भन्ने देश चाहिन्छ । आफ्नै पछ्यौरीले मुद्दा बोक्ने, संविधानको धारा उपधाराको पंक्तिमा अटाउने, पहिचानसहित संघीयता पटुकीमा बोक्ने नेपाल चाहिन्छ । हिम्मत नहारौँ साथीहरु हो ! विचार बोकेको दल र जनताको बलले गन्तव्य निश्चित छ । बाँकी सब बकवास कुरा !
हालः डिल्लीबजार कारागार, काठमाडौं

Previous articleब्राउनसुगर सहित दुई जना पक्राउ
Next articleअर्काको भौतिक संरचनामा आँखा नलगाउन क्षेत्रीय खेलकुदको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here