बाँके, १६ साउन, २०७९ ।
नेपालगन्जस्थित बाँके कारागारमा पानी समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले पैँसा उठाएर बोरिङ जडान गरेका छन् । क्षमताभन्दा बढि भएपछि पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्ष पावरको बोरिङ गाड्न रकम दिएको जेलर रामकुमार सोनखरले बताए । ‘एक हर्ष पावरको बोरिङ कारागार कार्यालयले गाड्यो । अर्को दुई हर्ष पावरको कैदी–बन्दीले दिएको रकमबाट जडान गरि पानीको समस्या समाधान गरिएको छ,’ जेलर सोनखरले भने ।
उनले दुई वटा बोरिङ जडान भएपछि पानीको समस्या समाधान भएको बताए । अहिले जुनबेला चाह्यो त्यतिबेला नुहाउन, लुगा धुने सुविधा छ,’ उनले भने ।
कैदीलाई कारागार भित्रको संरचना निर्माण र मर्मत गर्ने जिम्मा
त्यसैगरि, कारागार भित्रको काम पनि कैदी–बन्दीले नै गर्ने ब्यवस्था मिलाइएको उनको भनाई छ । कारागारमा रहेका कैदी–बन्दीलाई ब्लक इट्टा बनाउने तालिम दिएर उनीहरुले उत्पादन गरेको ब्लक इट्टाले शौचालय र पर्खाल निर्माण गरिएको उनले बताए ।
आयश्रोत बढाउन कारागार भित्र निर्माण गरिने संरचना, सडक पिसिसि र शौचालयको ट्यांकी मर्मत तथा सफाईमा समेत कैदी–बन्दीलाई अवसर दिइएको छ । कैदी–बन्दीको सहमति बमोजिम बाहिरका ज्यामी र मजदुरभन्दा अलि थोरै ज्याला दिएर काममा लगाउने गरिएको उनको भनाई छ । ‘एकातिर कैदी–बन्दीले रोजगार पाएका छन्, अर्कोतर्फ कारागारलाई बाहिरबाट ज्यामी र मजदुर ल्याउने झन्झट हटेको छ,’ उनले भने, ‘कारागारको पैँसा कारागारका कैदीले पाएका छन् नै कारागार र कैदी वीचको सम्बन्ध पनि सुमधुर हुन सघाएको छ ।’
उनले कारागार भित्रका संरचना निर्माण र रंगरोगनसमेत कैदीले गरेको स्पष्ट पारे ।
कैदी–बन्दीलाई सुत्न, बस्न समस्या
बाँके जिल्ला कारागारमा रहेका कैदी, बन्दीलाई सुत्न, बस्न समस्या भएको छ । क्षमताभन्दा दोब्बर बढि कैदी, बन्दी राखेका कारण सुत्न, बस्न समस्या भएको हो ।
कुल तीन सय ५० जना अट्ने बाँके जिल्ला कारागारमा पछिल्लो समय सात सय ५६ जना कैदी, बन्दी रहेको जेलर रामकुमार सोनखरले बताए । उनले महिला थुनुवा आए बर्दिया कारागारमा पठाउने गरेको बताउँदै पुरुष र महिला कैदी आए सम्बन्धित जिल्ला कारागारमा पठाउने गरिएको जानकारी दिए ।
तत्कालिन सरकारले त्यतिबेलाको चापलाई मध्यनजर गरि विक्रम सम्बत् २०२० सालमा बनाएको १७ कोठे भवनमा अहिले सात सय ५६ जना कैदी, बन्दी बस्दै आएको उनले बताए । कैदी–बन्दी थोरै भएकोले सोही अनुसार निर्माण गरिएको भवनमा अहिले कोचाकोच गरि बसाल्न परेको जेलर सोनखरले बताए । ‘ठाउँ नभएर एउटा कोठामा ६०–६५ जना कैदी–बन्दीलाई राख्न परेको छ,’ उनले भने ।
उनले पुरानो संरचनाले थेग्न नसकेका कारण आधा–आधा मिटरको दूरीमा सुत्ने ब्यवस्था मिलाइएको स्पष्ट पारे । नयाँ कैदी–बन्दी आए कहाँ राख्ने भन्ने चिन्ता हुन्छ । ठाउँ नभएकोले कतिपय कैदीलाई सरुवाको कागज बनाएर सम्बन्धित जिल्ला कारागारमा पठाउनु पर्ने बाध्यता छ,’ उनले भने, ‘नजिक–नजिक सुत्ने भएकोले कैदी–बन्दीलाई छाला तथा अन्य सरुवा रोग लाग्छ ।’
भवन जीर्ण, भत्किने चिन्ता
भवन पूरानो भएकोले जीर्ण भएको छ । दिवालको प्लास्टर उप्किएको छ । माटोको जोडाई भएकोले पानी रसाउँछ । बर्षातमा भूइँ चिसो हुन्छ । छत ढलान गर्दा प्रयोग गरिएको सिलिङको काठ कुहिएर छत खस्ने डर छ । ‘भवन पूरानो भएर जीर्ण छ । भवनले थेग्न नसक्ने गरि कैदी–बन्दी राखेका कारण छत कतिखेर खस्छ भन्ने डर छ,’ उनले भने ।
करिव ६० बर्ष पहिले निर्माण भएको भवनको इलेक्ट्रिक वायर कमजोर भएपछि बेला–बेला वायर शर्ट भई विद्युत अवरुद्ध हुने गरेको जेलर सोनखरले सुनाए । उनले एउटा कोठामा १०–१५ वटा पंखा चल्ने भएकोले पुरानो इलेक्ट्रिक वायरले धान्न नसकेको गुनासो गरे । ‘हरेक कोठाका लागि छुट्टै एमसिवीको ब्यवस्था नगर्दासम्म विद्युत समस्या रहिरहने छ,’ उनले भने ।
बाँके जिल्ला कारागारमा सवैभन्दा धेरै तीन सय जना लागुऔषध मुद्धाका कैदी–बन्दी रहेको जेलर सोनखरले बताए । उनले जवरजस्ती करणीका एक सय १० जना र अन्य अपराधमा सजाय पाएका कैदी रहेको जानकारी दिए ।