सरकारी उदासिनता : खुला कारागार बन्यो बाख्राको गोठ, सम्भार नपाउँदा जीर्ण बन्दै भवन

साढे दुई बर्षअघि निर्माण भएको खुला कारागार भवन ।

बाँके, १५ साउन,२०७९ ।


सरकारले ब्यवस्थापन गर्न नसक्दा बाँकेको गनापुरमा निर्माण भएको खुला कारागार भवन प्रयोगविहिन भई गौचरनमा परिणत भएको छ । पौने दुई करोड लागतमा ३६ कोठे खुला कारागार भवनमा चौकीदारले बाख्रा बाध्दै आएका छन् ।
खोरको रुपमा प्रयोग भएकोले शौचालयमा बाख्राको दिसामात्रै छ । कैदी बस्ने भवनको प्राङ्गनमा पनि बाख्राको दिसापिसाव छरपष्ट देखिन्छ । भवन प्रयोगमा नआएकोले केहि समयका लागि शौचालय लगायत अन्य कोठामा बाख्रा बाध्ने गरेको चौकीदार जगराम चौहानले बताए । ‘बर्षातले बाख्रा बाध्ने ठाउँ छैन । पानी रोकिएपछि बाहिर बाध्छु,’ उनले भने, ‘अहिले काम चलाउका लागि शौचालय र अन्य कोठामा बाध्ने गरेको छु ।’

खुला कारागारको शौचालयमा छरपष्ट अवस्थामा रहेको बाख्राको दिसापिसाव ।


कैदी बस्ने खुला कारागारमा १८–१८ कोठाका दुई वटा भवन छन् । सोही भवनमा कैदीका लागि ६–६ वटा शौचालय छन् । खुला कारागार परिसरमा साढे दुई तले १८ कोठे प्रशासनिक भवन पनि छ । करिव ११ बर्ष अघि बनेको प्रशासनिक भवन र अढाई बर्ष अघि बनेको कारागार भवन एक जना चौकीदारको भरमा छोडिएको छ । ति चौकीदारले हेरचाह गर्न नसकेका कारण ति दुवै भवन जीर्ण भएका छन् । ‘प्रशासनिक भवनको दिवालमा लगाएको सिमेन्ट झर्न थालेको छ,’ चौकीदार चौहानले भने । यो नेपालकै पहिलो खुला कारागार हो ।
राज्यको पौन दुई करोड लगानी, बालुवामा पानी
राज्यको पौन दुई करोड लगानीमा निर्माण भएका ती भवनमा जडान भएको विजुली बत्ती पनि काटिएको छ । विद्युतको वील तिर्ने रकम नभएपछि विद्युत प्राधिकरणले लाइन काटेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताए । उनले संरचना निर्माण भए पनि खुला कारागार संचालन कार्यविधि तयार नभएकोले संचालनमा ल्याउन नसकेको बताए ।

खुला कारागारमा ११ बर्ष अघि निर्माण भएको प्रशासनिक भवन ।


कारागारमा खाने पानी पनि छैन । खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि संचालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको उनले बताए । दुई तिहाई कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित शर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणा अनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको उनले बताए । ‘संचालन कार्यविधि नबन्दै हतारमा भौतिक संरचना निर्माण गर्दा खुला कारागारको संरचना बेवारिसे अवस्थामा छ,’ उनले भने ।
दुई तिहाई कैद भुक्तान गरेका कैदीलाई राख्न खुला कारागार स्थापना
दुई तिहाई कैद भुक्तान गरेका कैदीलाई खुला कारागारमा राख्ने सरकारको नीति अनुसार उक्त संरचना निर्माण भएको उनले बताए ।
संरचना निर्माण भएको ठाउँमा खुला कारागारको ६ विघा र तत्कालिन कृषि ज्ञान केन्द्रका दुई विघा जमिन छ । उक्त जमिनमा सरकारले तारवार समेत गरेको छ । त्यहाँ राखिएका कैदीलाई त्यहि जमिन खेतीका लागि दिने नीति अघि सारिएको थियो । ‘कैदीले दिनभरी खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहिँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो,’ जेलर सोनकरले भने ।
उनले आधा दर्जन सुझावको रूपमा पठाए पनि कारागार विभागले अहिलेसम्म कुनै निर्णय नगरेको बताए । उनले विभागबाट निर्देशन र कार्यविधि नबनाउँदा संचालनमा समस्या आएको बताए । ‘अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राख्ने भनिएको थियो । तर निर्माण भएका संरचना संरक्षण गर्न गाह्रो भएको छ,’ उनले भने, ‘चौकीदारलाई दिने रकमसमेत हामीसँग छैन । संरक्षण कसरी गर्नु ?’
जिल्ला कारागारमा खचाखच कैदी, खुला कारागार प्रयोगविहिन
बाँके जिल्ला कारागारमा सात सय ५६ जना कैदी–बन्दी छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ जना कैदी–बन्दीलाई ब्यवस्थापन गर्न समस्या भएको उनले बताए । ‘जिल्ला कारागारमा रहेका केहि कैदीलाई गनापुरको खुला कारागारमा पठाउन सकिएको भए केहि राहत हुने थियो,’ जेलर सोनकरले भने, बनेको संरचना खाली छ । जीर्ण भएको काराकारमा ठाउँ नभएर बाहिरी जिल्ला पठाउनु पर्ने बाध्यता छ ।’
उनले खुला कारागार संचालन र संरक्षणका लागि नीति तथा कार्यविधि तयार गर्न सरकारसँग माग गरे ।

Previous articleनेपालगन्जस्थित होल्डिङ सेन्टर तयार : भवन जाँचबुझ गर्दै नेपाली सेना
Next articleकैदी-बन्दीको सहयोगमा बाँके कारागारमा बोरिङ जडान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here