बाँके, १४ साउन, २०७९ ।
नेपालगन्ज उपमहानगरपालिका १४ भवनियापुरस्थित होल्डिङ सेन्टर संचालनमा ल्याउने तयारी गरिएको छ । भौतिक संरचना लगायत होल्डिङ सेन्टरमा आवश्यक पर्ने संरचना निर्माण पूरा भएपछि संचालन तयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । ‘होल्डिङ सेन्टर आवश्यक पर्ने वित्तिकै संचालन गर्न सकिने गरि तयारी अवस्थामा छ,’ उनले भने ।
नेपाली सेनाले निर्माण गरेको उक्त होल्डिङ सेन्टरमा एक हजार वडा बेड अट्ने २२ वटा ब्लक निर्माण भएका छन् । ब्लकलाई दुई भागमा बाँडिएको छ । ब्लकको दुवै तर्फ शौचालय निर्माण गरिएको छ । आइसोलेशन ब्लक र शौचालय भवन निर्माण गरिएको छ । एक हजार बेड मध्ये सय वटा बेडमा अक्सिजनको ब्यवस्था गरिएको बज्रदल गण, राँझाका गणपति प्रमुख सेनानी श्याम आत्रेयले जानकारी दिए ।
कुल २२ ब्लक मध्ये दुई वटा कार्यालय, चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्याइएको छ । ‘यी दुई ब्लकमा पाटेशन गरि कार्यालय संचालन तथा चिकित्सक बस्ने ब्यवस्था गरिने छ,’ उनले भने, होल्डिङ सेन्टर भित्र दुई वटा डाइनिङसहितको किचन, एक सेन्ट्रल किचन र १२ वटा खाना खाने हल निर्माण भएको छ ।’
कुल २९ करोड ३८ लाख २० हजार रुपैँया लागतमा निर्माण भएको होल्डिङ सेन्टर जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने बताइएको छ । नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यसम्म पु¥याउने, स्थानीयस्तरमा भइरहेको संक्रमणलाई रोक्ने उद्देश्यले निर्माण भएको होल्डिङ सेन्टरलाई अस्थायी अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

भवन जाँचबुझ गर्दै नेपाली सेना
नेपालगन्जबाट झण्डै ६ किलोमिटर दक्षिण पूर्वमा निर्माण भएको होल्डिङ सेन्टर नेपालगन्ज नाकादेखि तीन किलोमिटर पूर्वमा छ । पफ प्रविधिबाट निर्माण गरिएको ट्रष्ट विल्डिङमा बस्दा चिसोमा न्यानो र गर्मीमा शितल हुने गरि निर्माण गरिएको उनले बताए ।
होल्डिङ सेन्टर निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सम्झौतामा उल्लेख भए अनुसार निर्माण गरे–नगरेको मूल्यांकन गर्न प्राविधिक टोली खटिएको छ । चिकित्सक सहितको टोलीले भवन लगायत संरचना र उपकरणको निरीक्षण तथा मूल्यांकन गर्न खटिएको छ । ‘टोलीले दिएको रिपोर्टको आधारमा निर्माण कम्पनीले नेपाली सेनालाई जिम्मा लगाउने छ । जिम्मा लिइसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने छ,’ उनले भने, ‘एक–दुई दिनभित्र नेपाली सेनाले निर्माण कम्पनीसँग भवन बुझ्ने छ ।’