बाँके, १३ साउन, २०७९ ।
वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ ले डुडुवा गाउँपालिकामा बृक्षारोपण गरेको छ । कांग्रेसले डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्रांगणमा बृहत बृक्षारोपण गरेको हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रमका वीच विभिन्न प्रजातीका करिब पाँच सय विरुवा विहीबार रोपिएको नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजयकुमार यादवले बताए । नवनिर्मित कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि छहारी र हरियाली वाताबरण तयार गर्न बृक्षारोपण गरिएको उनले बताए ।
बृक्षारोपणपछि आयोजित सभामा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपीको चिन्तन विचारबाटै अगाडी बढेकाले उहाँको विचार चिन्तनलाई सबै कार्यकर्ताले व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कांग्रेसको विचार र कार्यशैली अरुभन्दा फरक भएको र देशको विकासका लागि एक मात्र पार्टी भएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका कन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायतले बृक्षारोपण गरेका थिए ।