बाँके, १३ साउन, २०७९ ।
बाँकेमा कोरोना संक्रमित देखिन थालेका छन् । कुनै बेला शून्य संक्रमित रहेको बाँकेमा शुक्रवार मात्र चार जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पिसिआर ल्यावमा १२ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
त्यसैगरी, नेपालगन्जस्थित बागेश्वरी ल्यावमा एक जनामा कोरोना पुष्टि भएको छ । अहिले बाँकेमा ३९ जना सक्रिय संक्रमित रहेको उनले बताए । ति सवै होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेको उनले जानकारी दिए ।
त्यसैगरी, भेरी अस्पतालको कोभिड वार्डमा दुई जना कोरोना संक्रमित भर्ना भएका छन् । दाङ घोराहीका ८० बर्षिय जेष्ठ नागरिक र बर्दिया बाँसगढीकी २९ बर्षिया कोरोना संक्रमित गर्भवती महिला उपचारका लागि भर्ना भएको भेरी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । पुरुषमा निमोनिया भएको छ भने गर्भवती महिलालाई ज्वरो आएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।