सर्पले टोकेका दुई जनाको भेरी अस्पतालमा र चार जनाको बाटोमा मृत्यु

सावधानी अपनाउन र समयमा अस्पताल ल्याउन चिकित्सकको सुझाव

बाँके, १२ साउन, २०७९ ।


सर्पले टोकेर भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । उपचारका लागि ढिलागरि अस्पताल ल्याएका कारण बचाउन नसकिएको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेले बताए । उनले अन्तिम अवस्थामा अस्पताल पुर्याएका कारण उपचारमा समस्या आएको बताए । ‘अहिलेसम्स आइसीयूमा राखेर २९ जनाको उपचार भएकोमा दुई जनाको मृत्यु भएको छ । बाँकी निको भएर घर फर्किनु भएको छ,’ उनले भने ।
उनले उपचारका लागि ल्याउने क्रममा चार जनाको वीच बाटोमा मृत्यु भएको बताए । सर्पदंश विरामीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भए पनि आफन्तले भेरी अस्पतालको इमरजेन्सीसम्म पुर्याएको चार जना भएको उनले जानकारी दिए । ‘अन्ध विश्वासका कारण पहिलो चरणमा गाउँका बैद्य र गुर्वासँग झारफुक गराउँछन् । कुनै सीप नचलेपछि अन्तिम अवस्थामा मात्र अस्पताल ल्याएका कारण बाटोमा मृत्यु हुने र आइसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएको छ,’ डा. पाण्डेले भने ।
वर्षात शुरु भएपछि पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी ह्वात्तै बढेको उनले बताए । भेरी अस्पतालमा दैनिक १५–२० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए । ‘भेरी अस्पतालमा आउने सर्पदंशका अधिकांश बिरामी अन्य अस्पतालबाट रेफर भएर आउने गरेका छन्,’ डा. पाण्डेले भने ।
आइसीयू र भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्थाका विरामीमात्र आउने गरेको उनको भनाई छ । हप्तामा पाँच–सात जना सर्पदंशका विरामीलाई आइसियूमा राखेर उपचार गरिरहेका छौँ,’ उनले भने, ‘कतिपयलाई कृतिम स्वासप्रस्वास दिएर अस्पतालले पठाउने गरेका छन् ।’
धेरैजसो विरामी बर्दियाको भए पनि दाङ, सुर्खेत, कैलाली लगायत जिल्लाका विरामी समेत उपचारका लागि आउने गरेको उनले जानकारी दिए । जिल्ला बाहिरबाट आउने अधिकांश बिरामी गम्भीर प्रकृतिको हुने भएकाले उनीहरुलाई एण्टी स्नेक भेनमसहित आइसीयूको जरुरत पर्ने गरेको डा. पाण्डेले बताए ।
उनले बयस्क भन्दा बच्चाको ख्याल गर्नुपर्ने बताए । बच्चालाई सर्पले डसेमा छिटो असर गर्ने र उपचार नपाए मृत्यु हुने खतरा रहेको स्पष्ट पारे । ‘बच्चाको शरिर नरम हुन्छ । यसले सर्पको विष छिटो सर्छ र बच्चा छिट्टै बेहोस भई मृत्यु हुने खतरा रहन्छ,’ उनले भने । उनले आफ्ना बालबच्चाको ख्याल गर्न सुझाव दिएका छन् ।

Previous articleखेलकुदमा २५ बर्ष पूरा गरेका बाँकेका ६ जना सम्मानित (फोटोहरु)
Next articleफेरि गाउँ फर्किन थाले कोहलपुरका मुक्त कमैया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here