खेलकुदमा अझैं क्षेत्रीय संरचना : पदाधिकारीलाई काम गर्न नीतिगत समस्या

बाँके, ११ साउन, २०७९ ।


लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले देश संघीयतामा गए पनि खेलकुदलाई संघीयताले छुन नसकेको बताएका छन् । उनले नीतिगत ब्यवस्था गर्न नसकेका कारण प्रदेश र जिल्ला खेलकुद विकास समितिले काम गर्न नसकेको गुनासो गरे ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बुधवार नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा उनले राज्यका सवै संरचना विकेन्द्रीकृत भए पनि खेलकुद अहिले पनि केन्द्रीकृत अवस्थामा रहेको जिकिर गरे । ‘प्रदेशको संरचना निर्माण भए पनि नीतिगत रुपमा हामी अहिले पनि क्षेत्रीय खेलकुद विकास समितिको नाममा काम गरिरहेका छौँ,’ उनले भने, ‘नाम लुम्बिनी प्रदेश खेलकुद परिषद छ, काम मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको नाममा भइरहेको छ । यसलाई खेलकुद क्षेत्रको ठूलो विडम्बना मान्नु पर्छ । अर्कैको नाममा काम गर्नुपदा रुन मन लाग्छ ।’
उनले कर्मचारी समायोजन र जिल्ला तथा क्षेत्रमा रहेका भौतिक संरचनाको दायित्व बाँडफाड नहुँदा कर्मचारी वीच मनमुटाव भई समग्र खेलकुदको क्षेत्रमा असर परेको स्पष्ट पारे । ‘कुन कर्मचारी केन्द्रको हो, कुन प्रदेश मातहतको हो भन्ने नीतिगत ब्यवस्था नहुँदा कर्मचारी अलमलमा छन् । भएका संरचना प्रयोगमा समेत विवाद उत्पन्न भइरहेको छ । कर्मचारी र प्रशिक्षक चलायमान हुन सकिराखेका छैनन् । यसले सिंगो खेल क्षेत्र प्यारालाइस हुने अवस्थामा छ,’ सदस्य सचिव भट्टराईले भने ।
उनले २८ असोज–३ कात्तिकसम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण तथा खेलाडी छनोटमा लाग्न कर्मचारी तथा प्रशिक्षकलाई निर्देशन दिए । हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन भएको बताउँदै नवौँ राष्ट्रिय प्रतियोगितामा पनि राम्रो शिल्ड ल्याउने गरि प्रशिक्षण थाल्न उनले निर्देशन दिए । उनले बाँके जिल्ला खेलकुदको उर्वर भूमि भएको बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले अहिलेसम्म भएका प्रगति र आगामी नवौँ राष्ट्रिय प्रतियोगिताको तयारीका बारेमा सदस्य सचिव भट्टराईलाई जानकारी गराएका थिए ।
बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले कर्मचारी समायोजन नभएका कारण जिल्ला खेलकुद विकास समिति माउ विनाको बचेरा जस्तै भएको बताउँदै एक जना कार्यालय सहयोगी समेत नभएको बताए । उनले नेपालगन्ज रंगशाला सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको जानकारी गराउँदै रंगशालालाई खेलाडी उत्पादनको थलो बनाउन सुझाव दिए ।
उनले नेपालगन्ज रंगशालामा हुनु पर्ने प्रशिक्षण खजुरा, धम्बोझी लगायत ठाउँमा हुनु नेपालगन्ज रंगशालाका लागि दुर्भाग्य भएको जिकिर गरे । उनले प्रशिक्षणका लागि ठाउँ अभाव भए स्थानीय तहसँग समन्वय गरेर ब्यवस्थापन गरिने आश्वासन दिए ।

Previous articleपछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
Next articleखेलकुदमा २५ बर्ष पूरा गरेका बाँकेका ६ जना सम्मानित (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here