रेशमलालको ‘लाल डायरी’

काठ्माडौँ, ९ साउन ।


रातो डायरीमा राम्रा कुरा
खैरो डायरीमा खस्रा कुरा
आफ्नै हातले लेख्याका कुरा
हुन्छन् नागरिक उन्मुक्तिका कुरा

जेलमा आएदेखि दुइवटा डायरी बोक्छुँ म । एउटा रातो र अर्को खैरो । कविताले नै बोल्छ, रातोमा राम्रो र खैरोमा खस्रा कुरा लेख्छुँ म । विगत केही महिनादेखि रातो डायरीमा कम र खैरो डायरीमा बेसी लेख्नु परेको छ । यसले मलाई अलिकति दुखित र चिन्तित तुल्याएको छ ।
मेरो शुभचिन्तक र निकटका पार्टी कार्यकर्तालाई डायरीको बारेमा थाहा छ । भेटघाटमा आएको बेला आँखा सन्काउँदै तिनले भन्छन्, ‘सरके लाल डायरी ।’ (सरको रातो डायरी)
अगाडि बसेको बेला खैरो डायरीको पाना पल्टाइएछ भने तिनको मुहार पनि डायरीको खैरो रंगजस्तै हुन पुग्छ । निष्ठावान र इमान्दार कार्यकर्ताले त कहिलेकाहीँ सोधी पनि हाल्छन्– ‘खयर डायरीम मोर नाउँ ट नै हो सर ?’ (खैरो डायरीमा मेरो नाम त छैन सर ?) तिनलाई डर हुँदो रहेछ, कतै खैरो डायरीमै नाम लेखिएकै कारण मैले चुनावमा टिकट नपाउने त होइन ?
छलफलको बेला मैले रातो डायरी काखमा खेलाएँ मात्रै पनि तिनको मुहारमा डायरीको खोलजस्तै चमक आउँछ । डायरी नदेखेका धेरै नेता तथा कार्यकर्ताहरुले रन्जितालाई सोध्छन् रे, ‘मेडम कस्तो छ सरको लाल डायरी ?’
जे होस्, मेरो लाल डायरीले निकै चर्चा पाएको छ । कार्यकर्तालाई हौस्याउने, तर्साउने हाउगुजी भएको छ । बस्, मैले कलम समातेर डायरीमा केही शब्द लेखीमात्रै दिनुप¥यो । काम तमाम ।
उनीहरु आफ्नो काम सम्पन्न भएको सम्झिन्छन् । अस्ति दाङदेउखुरीबाट भेट्न आएका एक बुद्घिजीविले नै सोधे, ‘साँच्चिकै हजुरको लाल डायरी देखाउनुस् न ।’ डायरी नदेखाए पनि मैले उनलाई दुई पङ्क्ति जरुर सुनाएँ ।
लाल डायरीम मजा बाट
खयर डायरीम खस्रार बाट
आपन हाँठले लिखल बाट
रहट् नागरिक उन्मुक्तिक बाट

स्थानीय चु्नावमा नागरिक उन्मुक्ति पार्टीले २ नगरपालिका र २ गाउँपालिका गरी ४ पालिका जितेपछि सबैले पार्टीको उत्कृष्ट नतिजा भने । तर मलाई लाग्यो हामी प्रमोटेड पास भएछौँ । उत्तीर्ण हुन अझै केही समय लाग्छ । उत्कृष्ट नतिजाको लागि त झन् केही वर्ष पर्खिनुपर्ला ।
चुनाव जितेर आए पछिको पहिलो भेटमै रन्जिताले भनिन्– ‘धेरै ठाउँमा निकै कम भोटले हारियो नि राजा !’ दुबैले नतिजाका पानाहरु पल्टायौँ, करिब ५० भन्दा धेरै प्रतिनिधि ३ देखि एक सय मतको अन्तरले हारेका रहेछन् ।
चुनावी नतिजा सुनाउँदा उनी धेरै खुसी थिइनन् । म त झन हुने कुरै भएन । मैले घात अन्तर्घात र कमी कमजोरीको बारेमा टिपोट गरेँ । उनले त्यति बेलै हो, खैरो डायरीको बारेमा थाहा पाएको ।
‘यस्तो डायरी त हुनैपर्छ राजा !’ पत्याउनै नसकिने को आफ्नो, को बिरानो ? हजुरले पक्कै मूल्याङ्कन गरिसक्नु भयो होला । तर अधिकांश हाम्रा कार्यकर्ता इमान्दार छन् है ! तैपनि अरु पार्टीले घुसपैठ गराइहाल्ने के ! हर्ष विस्मात मिश्रित जवाफ दिइन् उनले ।
खराब नतिजाका बारेमा खैरो डायरीमा टिपेपछि हामीले चुनावी समीक्षा निकैबेर ग¥यौँ । निकै ठाउँमा उन्मुक्तिले जितेको छ र पनि हराइएको छ । व्यक्ति जितेका छन् र पनि विवादित व्यक्तिले झिकेका बखेडाले हार्नुपरेको छ । आन्तरिक मात्रै होइन, बाह्य राम्रो र खराब राजनीतिको बारेमा पनि यी दुई डायरीमा टिपोट हुन्छन् । मैले खराब अन्तरराष्ट्रिय राजनीतिको बोरमा भर्खरै खैरो डायरीमा टिपोट गरेको छु, ‘विद्रोहीलाई समाप्त पारेर खराब राज्य गर्ने शासकले अन्ततः श्रीलङका छोड्नुप¥यो ।’
कसैको विचारलाई दमन गर्नुभन्दा नमन गरी मन्थन गरेर नतिजा निकालियो भने निष्कर्ष उपलब्धिमूलक हुन्छ । दमनले त रक्तबीजको बीजारोपण मात्रै हुन्छ ।
निकै पुलकित र उमङ्गमा भएको बखत मैले लाल डायरी समात्छुँ । साउन २ गते मुक्त कमैया दिवस हो । म केही दिनदेखि नै रोमाञ्चित छुँ । कमैया, कमलरीका बारेमा निकै सानो उमेरदेखि गीत लेख्दै र गाउँदै आएको छु । कमैयाको हरेक सुख दुःखदेखि मुक्तिको आन्दोलनसम्मै समाहित छु ।
युवा उमेरमा सँगालेको सबै रकमले मैले ‘कमैया’ फिल्म नै बनाएँ । फिल्म ‘कमैया’ बनाएको पैसाले काठमाडौंमा घर बन्न सक्थ्यो र पनि मैले ‘कमैया’ बनाएँ । कमैयाका लागि खर्चेका शब्द, समयहरु यही साउन २ गते मुक्त कमैया दिवसको दिन सम्झिदै छु । लेख्दै गर्दा अहिले मलाई २०५० साल रेडियो नेपालको स्टुडियोमा गाएको गीतले निकै रोमाञ्चित तुल्याइरहेको छ ।
हर ज्वाँट उठल कमैया बिहानीक लुगलुग जारम
ढेंकि कुट उठलि कमलरी अँढरिया राट भुवर बिहानम

सन् २००३ मा स्वीट्जरल्याण्डको लोकार्नोमा संसारका बडेबडे हस्ती भेला भएको बेला कमैया फिल्मको गीत गाउने संजोग जुरेको थियो ।
माटिके ओ¥हौना माटिके बिछौना माटिक डेहल यि जरम हो
काहे डिहलो इशरु महादेव कमैयनके फुटल करम हो
चुलिया परट जावै खरहिक् धान जैसे बारहैँ मलिकान हो
हम्र कमैयन निखरट गैलि जैसे निखरि खरहिक धान हो

कमैया ! तिनले व्यतित गरेका जीवन । र, यो गीतको व्याख्या गर्दा सबैजसोले आँसु पुछे । हिजोदेखि आजसम्म यो गीत अजर छ । सायद म मरे पनि यो गीत मर्दैन होला । हरेक वर्षको कमैया दिवसमा यही गीतको चर्चा हुन्छ, यही गीत घन्किन्छ । यही गीतको धुनमा मुक्त कमैयाले आफ्नो विगत स्मरण गर्छन् ।
२०७२ भदौ ७ को टीकापुर घटना अघिसम्म हरेक मुक्त कमैया दिवसको दिन प्रमुख अतिथिको रुपमा उपस्थित हुन्थेँ म । आजभोलि मेरो सट्टा रन्जिता जान्छिन् । यो वर्ष पनि उनलाई मुख्य अतिथिको रुपमा निम्त्याइएको छ । जानुपूर्व उनको र मेरो बसाइँले फेरि एकपटक लाल डायरी समातेँ र जितेका पालिका प्रतिनिधिहरुलाई निर्देशन दिनु भनेर रन्जितालाई निम्न बुँदा सुझाएँ :
मुक्त कमैया दिवसको दिन सार्वजनिक विदा दिनु, सिकलसेल परीक्षण गर्ने उपकरण खरिद गर्नु, सिकलसेल रोग लागेका सबै नागरिकको निशुल्क उपचार गर्नु, कमैयाका बालबालिकालाई निशुल्क शिक्षाको घोषणा गर्नु, कमैयाहरुका लागि गाँस, बास, कपासको उचित बन्दोबस्त गर्नु ।
यी पाँच सुझावका साथ मैले उनलाई विदा गरेँ । र, फेरि लाल डायरीमा टिपोट गरेँ, ‘सरकारले कमैया मुक्ति घोषणा गरे पनि तिनको उन्मुक्ति गरिदिएन । राज्यले बुझ्नु पर्छ, ती दास होइनन् । यही देशका नागरिक हुन् । राजनैतिक दौडानमा सहभागी हुनेहरुलाई विघौँ जमिन दिएको तथ्य छ । त्यसैले विना हिच्किचाहट राज्यले गाँस, बास, कपास सहितको ग्यारेण्टी गरोस् । मुक्त कमैया दिवसको शुभकामना सबैलाई ।’
–हाल : डिल्लीबजार कारागार, काठमाडौं

Previous articleस्याउ टिप्न काला पहाड जानेको नेपालगन्ज नाकामा लर्को
Next articleपछिल्लो २४ घण्टामा ५६८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here