थारू र पहाडी समुदायको अन्तर सम्बन्ध झल्काउने उपन्यास ‘बुह्रान’

बाँके, ४ साउन, २०७९ ।


दाङ उपत्यकामा बसोबास गर्ने थारुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई बुह्रान भनेर चिन्दै आएका छन् । आफ्नो थातबास छोडेर दाङबाट बसाईसराई गरेर बुह्रान आउने चलन थियो पहिले । भएका जग्गा जमिन अरुले हड्पेपछि थारुहरु दाङबाट बसाईसराई गरि बुह्रान आउँथे । विक्रम सम्वत् २०२१ सालमा भूमिसुधार लागू भएपछि मालपोत तिर्न नसकेर दाङका धेरै थारु परिवारले मालपोत तिर्न सकेनन् र आफूले खोरिया फाँडेर बनाएको जमिन छाडेर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर आए । यो थारुहरुको रहर थिएन बाध्यता थियो ।
यहि बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर महानन्दल ढकालले लेखेको उपन्यास ‘बुह्रान’ लाई सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको छ ।
तीन दशकदेखि साहित्य साधनामा क्रियाशील ढकालले पछिल्लो पटक पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई समेटिएको ‘बुह्रान’ उपन्यासको आवरण सार्वजनिक भएको छ । शिक्षक समेत रहेका साहित्यकार ढकालको बुह्रान छैठौँ कृति हो ।
गैर थारूले थारू संस्कार र संस्कृतिसंग नजिकको सम्बन्ध राख्ने ‘बुह्रान’ लाई सांग्रिला बुक्सले प्रकाशनमा ल्याउन लागेको छ । उपन्यासकार ढकालले ‘बुह्रान’ उपन्यास जातीय समानता र सहकार्यको कथा भएको बताए । ‘जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाइएको छ,’ उनले भने ।
थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।
बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कम्लहरी प्रथाबाट सिर्जित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातीय विवाह महत्वपूर्ण हुन सक्ने औंल्याइएको छ ।
समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिवर्तन आउँदा माइलाको जीवनस्तरमा परिवर्तन नआउनुका कारणहरूको खोजी गरिएको उनले बताए । ‘उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कम्लहरी, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको छ,’ ढकालले भने ।
उनले थोरै लेखक तथा साहित्यकारले कलम चलाएको विषयवस्तुमा कलम चलाएको दावी गरे । ‘दुरगामी महत्व राख्ने थारू र पहाडी समुदायको सम्बन्धलाई विषयवस्तु बनाइएको छ । धेरैले सोच्नै पर्ने विषय समेटिएकोले यो उपन्यास धेरैको रोजाइमा पर्ने विश्वास छ,’ उनले भने ।
कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल संग्रह (२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल संगह (२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल संग्रह (२०६३), ‘घाम उदाए’ हाइकु संग्रह (२०६८) र सिमाना मुक्तक संग्रह (२०७७) उनका कृति हुन् । आख्यान क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास भएको उनले बताए । यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएको उनले बताए ।

Previous articleसिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न डा. पाण्डेले गरे अस्विकार
Next articleनेपालगन्ज भन्सार : लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम राजस्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here