जानकी गाउँपालिकामा सिकल सेल अस्पताल निर्माण गर्न समिति गठन

बाँके, ३ साउन, २०७९ ।


जानकी गाउँपालिका ३, नहरपुर्वामा सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु अगुवाको मंगलवार नेपालगन्जमा भएको भेलाले जानकी गाउँपालिका ३, नहरपुर्वामा सिकलसेल अस्पताल स्थापना गरि संचालनमा ल्याउने निर्णय गरेको हो ।
नयाँ पत्रिका दैनिकका बाँके सम्बाददाता तथा गोचालीखवर डट कमका संचालक विश्वराज पछल्डङ्ग्याको अध्यक्षतामा भएको भेलाले सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका लागि थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जिवराज चौधरीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यमा लोकजन चौधरी, मंगलराम थारु, राजकुमार चौधरी, इन्द्रकुमार चौधरी, विमला चौधरी, रोहितकुमार चौधरी, दिलबहादुर चौधरी र पानफुला चौधरी चयन भएका छन् ।
अस्पतालको सल्लाहकारमा भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, डा. सुरेन्द्र चौधरी, रामशरण चौधरी, हरिराम चौधरी, बालकृष्ण सुवेदी, डा. राजेश्वर अर्याल, कुलबहादुर चौधरी, शिद्धराज आचार्य लगायत चयन भएको अध्यक्ष जिवराज चौधरीले जानकारी दिए । ‘अस्पताल निर्माणका लागि समितिले तत्कालै प्रक्रिया अगाडी बढाउने छ,’ अध्यक्ष चौधरीले भने, ‘डिपिआर तयार भइसकेको छ । अस्पताल दर्ता गरेर निर्माणको काम अगाडी बढाइने छ ।’


सिकलसेल अस्पतालसँगै सोही ठाउँमा दंगीशरण सिभिल होम स्थापना गरिने भएको छ । भेलाले सिभिल होम ब्यवस्थापनका लागि पत्रकार विश्वराज पछल्डङ्ग्याको संयोजकत्वमा जोगिलाल चौधरी, रामकृष्ण चौधरी, शंकर डंगौरा सहित ११ सदस्यीय समिति गठन गरेको छ ।
उक्त सिभिल होममा सय वटा आवासिय घर निर्माण गरिने भएको छ भने, सिभिल होमको वीच भागमा सिकलसेल अस्पताल र त्यस आसपास क्षेत्रमा ब्यवसायिक प्रयोजनका लागि घर निर्माण गर्न जमिनको ब्यवस्था मिलाइएको छ । ‘आवासिय र ब्यवसायिक प्रयोजनका लागि छुट्याइएको जमिनको मूल्य फरक फरक राखिएको छ,’ संयोजक पछल्डङ्ग्याले भने ।
उनले सिभिल होममा होमस्टे लगायत थारु संस्कृति झल्किने संरचना निर्माण गरिने बताए । कुल सात विघा जमिन मध्ये १० कट्टा अस्पतालका लागि छुट्याइएको छ भने सिभिल होम र अस्पताल भएको क्षेत्रमा पार्किङ, स्थल खेल मैदान र बगैचाको समेत ब्यवस्था गरिएको छ ।

Previous articleडब्लुएचओ पिइएन-प्लसको सिकलसेल क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा डा. पाण्डे मनोनित
Next articleसिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न डा. पाण्डेले गरे अस्विकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here