लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो रंगशाला नरैनापुरमा निर्माण सुरु

बाँके, २६ असार, २०७९ ।

बाँकेको सुदूर पूर्वमा रहेको नरैनापुरमा बहुखेलका लागि लक्षित गरि रंगशाला निर्माण थालिएको छ । नरैनापुर गाउँपालिका वडा नं. ४ मा अत्याधुनिक रंगशाला निर्माणको काम अगाडी बढेको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।
पाँच विघा क्षेत्रफलमा निर्माण गर्न लागिएको रंगशालाका लागि यूवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपैँया विनियोजन गरेपछि निर्माणको काम सुरु भएको उनले बताए । ‘पहिलो चरणमा रंगशालाले ओगट्ने जमिनमा माटो पटान र पर्खाल लगाउने सुरु भएको छ,’ उनले भने ।
सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजनाअनुसार अगाडी बढेको बताउँदै उनले डिपिआर अनुसार निर्माण गरिने जानकारी दिए । डिपिआर अनुसार सम्पूर्ण निर्माण पूरा गर्न एक अर्ब आठ करोड ५४ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । ‘केन्द्र र प्रदेश सरकारले दिएको बजेट अनुसार भौतिक संरचना निर्माणको काम गर्दै जाने योजना छ,’ अध्यक्ष शाहले भने ।

रंगशालाको डिपिआर ।


बहुउद्देश्यीय रंगशालाले भारतका खेलाडीलाई पनि फाइदा
रंगशालामा आधुनिक क्रिकेट मैदान, स्विमिङ पुल, लन टेनिस कोर्ट, बास्केटबल कोर्ट र भलिबल कोर्ट निर्माण गरिने छ । यसका साथै रंगशालामा भीआईपी, भीभीआईपी र सर्वसाधारणका लागि प्यारापिटसहितको मैदान गरिने भएको छ ।
गाउँपालिका अध्यक्ष शाहले बहुद्देश्यीय रंगशाला बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिने बताए । ‘निर्माणको काम सुरु गर्न केन्द्र सरकारले बजेट दिएको छ । प्रदेश सरकारले हरेक वर्ष बजेट थप्दै जाने आश्वासन पाएका छौँ । अपुग बजेट स्थानीय तहले पनि विनियोजन गर्छ,’ उनले भने ।
एक वर्षभित्र सडक र फिल्डको काम सम्पन्न गर्ने लक्ष लिइएको छ । पहिलो चरणमा हुलाकी सडकदेखि रंगशाला जानको लागि करिब डेढ किलोमिटर बाटो निर्माण हुने अध्यक्ष शाहले बताए । निर्माणाधीन रंगशाला हुलाकी सडकदेखि डेढ किलोमिटर उत्तर सामुदायिक वन छेउमा छ । ‘रंगशाला बनाउन लागिएको जग्गा पनि सामुदायिक वनकै हो । वन उपभोक्ता समितिले रंगशालाका लागि भोगचलन गर्न दिने निर्णय अनुसार प्रदेश सरकारले जग्गा भोेगचलनका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिसकेकोले रंगशाला निर्माणले कानुनी मान्यता पाइसकेको छ,’ अध्यक्ष शाहले भने ।

रंगशाला जाने बाटोका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । आर्थिक बर्ष ०७९–०८० मा सडक कालोपत्रे र रंगशाला निर्माण सँगसँगै अगाडी बढाउने उनले बताए । ‘सडक निर्माणसँगै रंगशालाको अन्य काम पनि सँगैसँगै अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ,’ उनले भने ।
एकमुष्ठ रकम नपाउँदा निर्माणको कामले गति लिन नसकेको गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले बताए । उनले निर्माणको काम सुरु भइसकेकोले अवको पाँच बर्षमा रंगशालाले मूर्तरूप लिने दावी गरे । ‘यो महत्वाकांक्षी योजना हो । प्रदेश स्तरिय प्रतियोगिता गर्न सकिने यसको क्षमता छ,’ उनले भने, ‘डिपिआर अनुसार निर्माण पूरा भए यो लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो रंगशाला हुनेछ ।’ उक्त रंगशाला निर्माण भए नेपाल–भारतका खेलाडीले लाभ लिने छन् ।

Previous articleज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः भट्टराई निर्वाचित
Next articleबाँके जिल्ला खेलकुदको अध्यक्षमा शाह नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here