नेपालगन्जका ब्यापारीको आरोप : अवैध सामान आयातमा प्रहरी, प्रशासनको मिलेमतो, नियन्त्रण नगरे ब्यापार-ब्यवसाय ठप्प पार्ने चेतावनी

बाँके, २३ असार, २०७९ ।


भारतबाट हुुने अवैध आयात नियन्त्रण नगेर ब्यवसाय ठप्प पार्ने नेपालगन्जका ब्यापारीले चेतावनी दिएका छन् । नाकामा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीले भारतबाट आयात हुने बस्तु खुलेआम ल्याउन दिएका कारण यहाँको ब्यापार, ब्यवसाय ठप्प भएको गुनासो गरेका छन् ।
अवैध आयात नियन्त्रणमा सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपालगन्जका ब्यापारीले भारतबाट अवैध रुपमा सामान भित्रिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराए । नेपालगन्जका पुस्तक ब्यवसायी बसन्त लामिछानेले भारतबाट खुलेआम सामान भित्रिदासमेत प्रहरी, प्रशासन मौन भएर बसेको आरोप लगाए ।
उनले आर्थिक मन्दीका कारण ब्यापार, ब्यवसाय धरापमा परेको बेला बैंकहरुले ब्यापारीको घरमा असुलीकर्ता खटाएको बताए । ‘ब्यापारी, ब्यवसायीको घरमा बैँकहरुले असुलीकर्ता खटाएका मात्र छैनन्, बाउन्सर पठाएर ऋण तिर्न धम्की दिइरहेका छन्,’ उनले भने ।
प्रहरी, प्रशासनको मिलेमतोमा तस्करी भए पनि प्रहरीले ढाकछोप गर्दै आएको नेपालगन्जका पुराना ब्यवसायी ललितकुमार रौनियारले बताए । उनले नेपालगन्जमा बरामद भएको सामानलाई प्रहरीले बेवारिसे भनेर तस्करलाई जोगाउने गरेको बताए । ‘कुनै उद्योगी, ब्यवसायीको प्राङ्गनमा अवैध सामान बरामद हुन्छ, तर प्रहरीले कारवाहीमा ल्याउन छाडेर मिलेमतोमा बेवारिसे बनाएर तस्करलाई उन्मुक्ति दिन्छ,’ उनले भने ।


नेपालगन्जका रेडिमेड कपडा ब्यवसायी नन्दप्रसाद न्यौपानले तस्करी नियन्त्रण नगरे ब्यापार ब्यवसाय बन्द गरेर प्रशासन र नेपालगन्ज भन्सारको प्राङ्गनमा पाल टाङ्गेर बस्ने चेतावनी दिए । उनले भारतको सामान अवैध रुपमा रातारात नेपालगन्ज भित्रिन्छ । हामीहरु टुलुटुलु हेर्छौँ, तर प्रहरी, प्रशासन देखेर पनि नदेखेको जस्तै गर्छ । सामान भित्रिने बेला देखेर पनि नदेखेको बहाना गर्छ,’ उनले भने, ‘प्रहरी, प्रशासनले तस्करी नियन्त्रण नगरे हामीहरु ब्यापार, ब्यवसाय ठप्प पार्छौँ र भन्सार तथा प्रशासनमा पाल टाङ्गेर बस्ने छौँ ।’
नेपालगन्ज उद्योग बाणिज्य महासंघका प्रवक्ता टंकप्रसाद धामीले एलसीमा समेत हस्तक्षेप भइरहेको बताए । उनले एलसी खोलेको दुई महिनापछि मात्र पैँसा पुग्ने गरेको बताउँदै एसलसीमार्फत सामान ल्याउन सक्ने अवस्था नरहेको बताए । ‘प्रक्रिया पुर्याएर सामान ल्याउन हामीलाई एक महिना लाग्छ, तर अवैध रुपमा सामान ल्याउनेहरुको सामान छिनभरमा नेपालगन्ज आइपुग्छ । रुपइडिहामा किनेको सामान रातभरमा कैलाली, दाङ र काठ्माडौँ पुग्छ,’ उनले भने ।
किराना तथा खाद्य ब्यवसायी मखन धामीले विवाह र घर खर्चको नाममा हुने तस्करी नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए । उनले एक हजार रुपैँयाको सामानको भन्सार लाग्ने राज्यको नीति भए पनि घर खर्च र विवाहको नाममा २०–३० हजार रुपैँयाको सामान ल्याउन छुट दिँदा तस्करी मौलाएको बताए । ‘विवाह र घर खर्चको नाममा ३०–३५ हजार रुपैँयाको सामान ल्याउन दिने हो भने नाकाका प्रहरी पोष्ट र भन्सार कार्यालय बन्द गरे हुन्छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अवैध सामान ओसार पसार रोक्न नसकेको आरोप प्रहरी, प्रशासनलाई बर्षाँै पहिलेदेखि लाग्दै आएको बताउँदै अवैध सामान रोक्न उपमहानगरले टिम बनाएर सात दिनभित्रै ठोस कदम चाल्ने आश्वासन दिए । उनले जमुनाहा नाकामा निगरानी बढाउन उच्च गुणस्तरको सीसी टिभी र डिस्प्ले बोर्ड लगाउन उमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगर उपप्रमुख कमरुद्दिन राईले भने सीमापारीबाट सामान ल्याएर जिविकोपार्जन गर्ने व्यक्ति र समूहको संरक्षण गर्नमा जोड दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अवैध आयात नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले भने तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासन संस्थागत रुपमा नै चिन्तित भएको बताउँदै अवैध काममा कुनै संलग्नता नरहेको दावी गरे । ‘अवैध नियन्त्रण गर्न कुनै कसर बाँकी राख्ने छैनौँ,’ उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव चिरञ्जीवी ओलीले गरेका थिए । बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका गणपति एसपी जनक बस्नेत, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपाने, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज उद्योग वाणिज्य संघका सल्लाहकार नन्दलाल वैश्यलगायतले अवैध आयातको समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।

Previous articleदुईजनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए फाइभ’ पुष्टि
Next articleभेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाई नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here