अस्पतालको सिफारिस कार्यान्वयन गर्दैन स्वास्थ्य मन्त्रालय, चिकित्सकले अग्रिम हाजिरी गर्दै आएको पुष्टि

बाँके, २२ असार, २०७९ ।


सरकारले तोकेको ड्यूटी पूरा नगरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई कारवाहीको सिफारिस गरि २२ साउन, २०७८ मा स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । अस्पताल विकास समितिले कारवाही सिफारिसको बारेमा बेला–बेला ताकेता पनि गर्यो । कारवाहीको सिफारिस गरि पठाएको पत्रको जवाफ आउने आशामा बर्षदिन बित्यो, तर पत्रको जवाफ आएन । त्यसपछि डा. नागलाई मिल्यो हौसला । लामो समय पछि उनी २० असारमा अस्पताल गए । र, २९ असारसम्मको अग्रिम हाजिरी गरेर फर्किए ।
डा. नागको नेपालगन्ज उपमहानगरपालिका ११ मा बैष्णवी अस्पताल संचालनमा छ । उनी भेरी अस्पतालमा भन्दा आफ्नो निजी अस्पतालमा समय दिने गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । ‘हामीले डा. नागको गतिविधि नजिकबाट नियालीरहेका थियौँ । उहाँ लामो समय अस्पताल आउनु भएन । २० असारमा आएर २९ असारसम्मको हाजिरी गरेर फर्किएपछि एक्सनमा आउन बाध्य भयौँ,’ उनले भने ।
उनी आफ्नो ड्यूटी पूरा नगर्दा विरामी उपचारबाट बञ्चित हुँदै आएका छन् । बरिष्ठ चिकित्सकलाई भेरी अस्पतालमा हप्तामा दुई दिनमात्रै ड्यूटी गर्नु पर्छ । तर पनि उनी ड्यूटी पूरा नगरेको अस्पताल विकास समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । ‘आफ्नै अस्पतालमा समय दिने र भेरी अस्पतालमा नियमित रुपमा ड्यूटी नगरेर हाजिरी गर्ने कुरा धेरै पहिलादेखि नै उठेको थियो । हामीले अनुसन्धान गरेर कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरि पठाऔँ, तर एक बर्ष बित्न लाग्दा पनि कुनै सुनुवाई भएन,’ उनले भने ।
२० असारमा अस्पताल आएका डा. नागले २९ असारसम्मको एकमुष्ट हाजिरी गरेको फेला परेपछि समितिले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको उनले बताए ।
भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पताल हो । यहाँका सबैजसो चिकित्सकको अस्पताल र क्लिनिक छ । भेरी अस्पतालले दिएको ड्युटी समयमा चिकित्सकहरु नभेटिने गरेको विरामीले गुनासो गर्दै आएका छन् । ‘विरामीको गुनासोलाई मध्यनजर गरि गुनासा आएका चिकित्सकको बारेमा अध्ययन, अनुसन्धान भइरहेको छ । आफ्नो ड्यूटी पूरा नगर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारवाही हुन्छ,’ अध्यक्ष धितालले भने, ‘अस्पताल विकास समिति निर्मम भएर एक्सनमा उत्रिएको छ ।’

Previous articleघोराही उपमहानगरमा थारु भाषामा पढाइको तयारी : थारु समुदायले गरे स्वागत
Next articleदुईजनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए फाइभ’ पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here