घोराही उपमहानगरमा थारु भाषामा पढाइको तयारी : थारु समुदायले गरे स्वागत

साविक डुडुवा गाविस ६, धमाकापुर, दाङस्थित श्री बाल चेतना आधारभूत विद्यालयले तयार पारेको थारु भाषाको पाठ्यपुस्तक ।

दाङ, २१ असार, २०७९ ।


घोराही उप–महानगरपालिकाले थारु बाहुल्य क्षेत्रमा संचालित सामुदायिक विद्यालयमा थारू भाषाको शिक्षा लागू गर्ने भएको । तल्लो कक्षाका विद्यार्थीलाई मातृ भाषामा शिक्षा दिँदा प्रभावकारी हुने निष्कर्ष सहित उपमहानगरले थारु बाहुल्य विद्यालयमा थारु भाषामा कक्षा संचालन गर्न लागेको मेयर नरुलाल चौधरीले बताए । ‘थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पु¥याउन थारू बाहुल्य विद्यालयमा थारू भाषाको पाठनपाठन गरिने भएको छ,’ उनले भने ।
पहिलो चरणमा कक्षा १ मा थारु भाषामा पठनपाठन सुरु गरिने उनले बताए । उनले पाठ्यपुस्तक निर्माण भई छपाइका लागि प्रेसमा पठाइएको बताए । ‘छपाइको काम सकिने वित्तिकै साउनदेखि सामुदायिक विद्यालयमा थारु भाषामा पढाइ शुरू हुन्छ,’ उनले भने ।

साविक डुडुवा गाविस ६, धमाकापुर, दाङस्थित श्री बाल चेतना आधारभूत विद्यालयले तयार पारेको थारु भाषाको पाठ्यपुस्तक ।


संविधानले नै मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेकाले उपमहानगरका सामुदायिक विद्यालयमा थारू भाषाको पठनपाठन सञ्चालन गर्न लागेको मेयर चौधरीको भनाई छ। ‘यस शैक्षिक सत्रमा कक्षा १ मा पढाइ हुनेछ । त्यसपछि क्रमशः माथिल्लो कक्षामा पनि पढाइ हुने छ,’ मेयर चौधरीले भने ।
थारू समुदायको बालबालिकाको शिक्षामा थप सहयोग पुर्याउन थारु भाषाको पाठ्यक्रम लागू सञ्चालन गर्न लागेको उपमहानगरका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले बताए । घोराहीको दक्षिणी क्षेत्रका अघिकांश सामुदायिक विद्यायमा थारू बालबालिकाको बाहुल्य रहेको उनले बताए ।
घोराही उपमहानगरले पहिलो पटक थारु भाषाको पाठ्यक्रम लागू गर्न लागेपछि थारू कल्याणकारिणी सभा दाङले खुसी ब्यक्त गरेको छ । सभा दाङ अध्यक्ष भुवन चौधरीले घोराही उपमहानगरपालिकाले थारू भाषाको पढाइ सुरु गर्न लागेको सुन्दा खुसी लागेको बताए । स्थानीय सरकार बनेपछि घोराही उपमहानगरपालिकाले पहिलो पटक थारू भाषाको पाठ्यक्रम लागू गर्न लागेको सुन्दा खुसी लागेको छ । उपमहानगरको कार्य प्रशंसायोग्य छ,’ उनले भने ।
उनले अन्य पालिकाले पनि मातृ भाषामा पठनपाठन गर्ने नीति लिनुपर्ने बताए । संविधानले दिएको अधिकार लागू गर्ने दायित्व सवै पालिकाको भएको बताउँदै उनले घोराही उपमहानगरले चालेको कदमलाई कार्यान्वयन गराउन सभा सहकार्य र समन्वय गर्न तयार छ,’ अध्यक्ष चौधरीले भने ।
घोराही उपमहानगरमा कुल जनसंख्याको २५.४९ प्रतिशत थारु छन् । यहाँ क्षेत्री २३.७०, मगर १२.७८ प्रतिशत र अन्य समुदाय छन् । घोराहीमा ७१.५१ प्रतिशत नेपाली, २३.४७ प्रतिशत थारू, २.२० प्रतिशत खाम र १०.८२ प्रतिशत अन्य भाषा बोल्नेको बसोबास छ ।

Previous articleकृषकको हितमा काम गर्न नसक्ने हो भने कृषि मन्त्रालय खारेज गरौँ
Next articleअस्पतालको सिफारिस कार्यान्वयन गर्दैन स्वास्थ्य मन्त्रालय, चिकित्सकले अग्रिम हाजिरी गर्दै आएको पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here