परम्परागत तरिकाले पशुपालन गर्दै नरैनापुरका किसान : दुध पकेट क्षेत्र घोषणा गर्न माग

बाँके, २० असार, २०७९ ।


बाँकेका सुदूर पूर्वमा पर्ने नरैनापुर गाउँपालिका ५ मटेहियाका रामफेरन यादवले दैनिक २५–३० लिटर दुध विक्रि गर्छन् । उनले दुध विक्रि गरेर दैनिक कम्तीमा तीन हजार रुपैँया आम्दानी गर्दै आएका छन् । उनीसँग २० वटा भैँसी छन् । ति मध्ये आठ वटा दुहुना भैँसी भएको उनले बताए ।
उनले प्रति लिटर १००–१५० रुपैँयामा दुध विक्रि गर्दै आएको बताए । दुधको क्वालिटीको आधारमा डेरी उद्योगले दुध किन्ने गरेको भनाई छ । ‘कुनै दिन महंगोमा जान्छ । कुनै दिन दुध पातलो भयो भनेर प्रति लिटर ८०–९० रुपैँयामा पनि विक्रि हुन्छ,’ उनले भने, विहान र बेलुका गरि सरदर ४० लिटर दुध उत्पादन हुन्छ । केहि दुध घरमा राखेर दैनिक ३० लिटर विक्रि गर्छौँ ।’
नरैनापुर गाउँपालिका ५ मटेहियाकै राजितराम यादवले दैनिक २० लिटर दुध नजिकैको डेरी उद्योगलाई विक्रि गर्छन् । उनले पनि प्रति लिटर कम्तिमा एक सय रुपैँयामा दुध विक्रि गर्दै आएको बताए । ‘दैनिक सरदर दुई हजार रुपैँयाको दुध विक्रि हुन्छ,’ उनले भने ।
उनीसँगै मटेहियाकी अनोखा यादव पनि ग्लोबल डेरी उद्योगमा भेटिइन् । उद्योगमा दुध पुर्याउन आएकी उनले विहान र बेलुका गरि १० लिटर दुध विक्रि गर्दै आएको बताइन् । खेति किसानीसँगै भैँसी पालन गरेको बताउँदै उनले बालबालिकाको शिक्षादिक्षा, लुगाकपडा किन्न पुगेको बताइन् ।
नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया र वडा नं. ६ गंगापुरका अधिकांश कृषकले भैँसी र गाई पालेका छन् । एउटा परिवारमा कम्तिमा १० वटा भैँसी भएको नरैनापुर गाउँपालिका ५ मटेहियाका अगुवा विनय दिक्षितले बताए । परम्परागत रुपमा भैँसी पालन गर्दै आएका किसानले पालिकास्थित पशु शाखा र जिल्ला पशु कार्यालयबाट अहिलेसम्म कुनै सेवा, सुविधा पाएका छैनन् । ‘हामीलाई आधुनिक तरिकाले भैँसी पालन गर्न कसैले सिकाएको छैन । न त राज्यका निकायबाट अहिलेसम्म कुनै सेवा, सुविधा पाएका छौँ,’ रामफेरनले भने, ‘बाजे, बराजुले जसरी पालन गर्नु हुन्थ्यो, अहिले पनि त्यसैगरी पालिरहेका छौँ,’ उनले भने ।
यहाँका किसानले विहानको खाना खाएर भैँसी फुकाउँछन् । आफ्नो गाउँको पायक पर्ने जंगल र खुला चौरमा भैँसी चराउन लैजान्छन् । दिनभर बाहिर चराएर बेलुकी गोठमा बाध्छन् । ‘गोठमा बाधिएका भैँसीलाई थोरै घाँस, पराल, भुस दिइन्छ । त्योभन्दा धेरै दिन सक्ने क्षमता हामीसँग छैन,’ अर्का भैँसी पालक किसान राजितराम यादवले भने, ‘परम्परागत तरिकाले पालन गर्दा पनि भैँसीले दुध राम्रो दिइरहेका छन् ।’
दुध पकेट क्षेत्र घोषणा गर्न किसानको माग
नरैनापुर गाउँपालिका वडा नं. ५ र ६ का अधिकांश किसानले पशुपालन गर्छन् । यी दुई वडामा झण्डै एक हजार लिटर दुध उत्पादन हुन्छ । राज्यबाट कुनै अनुदान र सुविधा नपाएका यहाँका किसानले यी दुई वडालाई दुध पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
परम्परागत तरिकाले पालन गर्दै आएको किसानलाई तालिम तथा अनुदान दिएर ब्यवस्थित बनाउन आवश्यक रहेको मटेहियाका रामनिवास यादवले बताए । उनले यहाँका घर–घरमा गाई, भैँसी भए पनि राज्यको नजर पुग्न नसकेको बताए । उनले पुरानै विधिबाट पशुपालन गर्दा मेहनत अनुसार आम्दानी गर्न नसकेको बताए । ‘यहाँका किसानको मुख्य आयस्रोत पशुपालन हो, तर यहाँका किसानको पशु विरामी भए उपचार गर्ने पशु स्वास्थ्यकर्मी नै छैनन् । पशु विरामी भए भारत र नेपालगन्ज पुगेर औषधि किन्नु पर्ने बाध्यता छ,’ उनले भने ।
मटेहिया र गंगापुरका किसानले वडा कार्यालयमा पशु स्वास्थ्यकर्मीको ब्यवस्था गर्न माग गरेका छन् । पशु स्वास्थ्यकर्मी नहुँदा सामान्य रोगको औषधि किन्न भारतीय सीमावर्ती बजार जमुनाह जानु पर्ने बाध्यता मटेहियाका मायाराम यादवले सुनाए । उनले गाउँपालिकाले पशु स्वास्थ्यकर्मीको ब्यवस्था नगरेका कारण भारतीय पशु स्वास्थ्यकर्मीको भर पर्नु परेको बताए । ‘नेपालगन्जबाट पशु स्वास्थ्यकर्मी आउन मान्दैनन् । नजिकमा छैनन् । भारतीय पशु चिकित्सकको शरण पर्नु बाहेक अरु विकल्प हामीसँग छैन,’ उनले भने ।
नरैनापुरका पशुपालक किसानले आफ्ना पशुको वीमा गराई दिन स्थानीय सरकारसँग माग गरेका छन् । वीमा नहुँदा धेरै क्षति ब्यहोर्नु परेको स्थानीय रामधन यादवले बताए । उनले पशु स्वास्थ्यकर्मी नहुँदा पशुचौपायाले अकालमा ज्यान गुमाउने गरेको बताउँदै त्यसको असर सिंगो परिवारलाई पर्ने गरेको स्पष्ट पारे । ‘वीमा भएको भए क्षतिपूर्ती पाइने थियो । यसले किसानलाई थोरै भए पनि राहत मिल्ने थियो,’ उनले भने, ‘पशुको वीमा नहुँदा किसान साह्रै मर्कामा छौँ ।’
नरैनापुर क्षेत्रमा कृतिम गर्भाधारणको ब्यवस्था गर्न पनि यहाँका सर्वसाधारण किसानले माग गरेका छन् । कृतिम गर्भाधारणको ब्यवस्था नहुँदा हाईव्रिड पशुचौपाया उत्पादन हुन नसक्दा दुध उत्पादन घट्दै गएको जनक यादवले बताए । उनले पहिलेदेखि एउटै जातको भैँसी पालन गर्दा बच्चा ख्याउटे जन्मिने र त्यसले दुध कम दिन थालेको गुनासो गरे । ‘हाईव्रिड जातका राँगाको विर्य क्रस गराउन पाएको भए राम्रो जातको भैँसी जन्मिने थिए । र, दुध धेरै दिन्थे होला,’ उनले भने ।

Previous articleनरैनापुरमा डेरी उद्योग संचालन : किसानले पाए उचित मूल्य
Next article१५ साउन भित्र ई–रिक्सा सूचीकृत गर्ने नेपालगन्ज उपमहानगरको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here