बाँके, १८ असार, २०७९ ।
डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गरेपछि बैठक सञ्चालन गर्न समस्या भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनाएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकीय अधिकृतले सचिवको हैसियतले कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था भएको उनले बताए । तर, एमाले र जसपाबाट विजयी भएका कार्यपालिका सदस्यले उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूची विपरित एकैपटक विभिन्न विषयमा छलफल गराउनु पर्ने अडान राखेपछि बैठक सञ्चालन गर्न कठिनाई भएको उनको भनाई छ ।
कार्यपालिकाको ३० जेठमा बसेको पहिलो बैठकले धन्यवादसहितको प्रस्ताव पास गरेको बताउँदै उनले त्यसपछि ६ असार र १२ असारमा बोलाइएको बैठकमा कानून अनुसार अध्यक्षबाट पेश हुने प्रस्ताव पेश गरिएको विषयमा छलफल नगरि अनावश्यक विवाद गर्दा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट समेत अनिश्चित बनेको अध्यक्ष चौधरीले बताए ।
कार्यपालिकाको बैठकका लागि फोन र एसएमएसमार्फत सबै सदस्यहरुलाई खबर गरि बैठकको एजेण्डा प्रस्तुत गर्दा समेत सभा सञ्चालन तथा विषयगत समितिको गठन, बजेटको तयारी लगायतका विषयमा प्रवेश गर्न नदिएको उनले बताएका छन् । ‘गाउँपालिकाको समग्र हितका लागि पहिला नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने हुन्छ, तर हाम्रो गाउँपालिकामा अनावश्यक विवाद गरि सवै काम अस्तब्यस्त बनाउने काम गरिएको छ,’ उनले भने ।
एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफवाह फैलाएर भ्रम सिर्जना गरेको उनले बताए । ‘जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा जनताले अनाहकमा दुःख पाउने निश्चित छ । कार्यपालिकाको बैठक नस्न नसक्दा गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य, पशु, राजस्व संकलन लगायतका विभिन्न महत्वपूर्ण सेवाहरु प्रभावित हुने निश्चित छ,’ अध्यक्ष चौधरीले दुःख व्यक्त गरे ।
एमाले र जसपाले बहुमत भएको देखाउदै कार्यपालिकाको बैठकमा हुल हुज्जतका साथ अन्य कार्यकर्ता समेत ल्याएर बैठक भाड्ने कार्य गरेको भन्दै अध्यक्ष चौधरीले आगामी दिनमा त्यस्ता गतिविधी नगर्न आग्रह गरेका छन् ।
उता, एमाले र जसपाबाट विजयी कार्यपालिका सदस्यले गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्राप्त जनादेशलाई स्वीकार नगरि मनोमानी र एकल निर्णयबाट गाउँपालिका चलाउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष चौधरीले बहुमत कार्यपालिका सदस्यलाई पाखा लगाएर एकलौटी ढंगले निर्णय गर्न खोज्दा समस्या निम्तिएको बताएका छन् । कार्यपालिका सदस्यहरुले नेपालगन्जमा पत्रकार सम्मेलन गरि अध्यक्ष चौधरीले राजनीतिक आस्थाको आधारमा कार्यपालिका सदस्यहरुलाई विभेद गरेको बताउँदै बहुमत कार्यपालिका सदस्यहरुले आफूहरुका कारण गाउँपालिकाको नियमित काममा बाधा नपुगेको दावी गरेका छन् ।