भेरी अस्पतालमा वीमा सेवा : स्वास्थ्य वीमा बोर्डबाट दुई करोड रकम पाउन बाँकी, औषधि किन्न समस्या

बाँके, १८ असार, २०७९ ।


स्वास्थ्य वीमा बोर्डले वीमा बापतको रकम समयमा नपठाउँदा नेपालगन्जस्थित भेरी अस्पताललाई औषधि खरिद गर्न रकम अभाव भएको छ । राष्ट्रि वीमा बोर्डले १५ असार, २०७९ सम्म सात हजार चार सय १४ जना वीमकको रकम भुक्तानी नगर्दा औषधि खरिद गर्न रकम अभाव भएको भेरी अस्पतालका स्वास्थ्य वीमा काउन्टर इन्चार्ज सुनिल पंगेनीले बताए ।
भेरी अस्पतालले वीमकलाई स्वास्थ्य जाँच, औषधि, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा निशुल्क दिँदै आएको छ । वीमकलाई यी स्वास्थ्य सेवा दिए बापत स्वास्थ्य वीमा बोर्डले भेरी अस्पताललाई विरामीले लिएको सेवाको रकम बुझाउनु पर्छ । तर, अहिलेसम्म वीमा बोर्डले दुई करोड भन्दा बढि रकम बुझाएको छैन ।
वीमा बोर्डले ०७४ सालदेखिको रकम बुझाउन बाँकी रहेको उनले बताए । ‘वीमा बोर्डले छिट्पुट रुपमा आर्थिक बर्ष ०७४ देखिको रकम बुझाउन बाँकी छ । १६ असारसम्म दुई करोडभन्दा बढि रकम भेरी अस्पतालले पाउने देखिन्छ,’ उनले भने ।
भेरी अस्पतालमा दैनिक ८०–१५० जना वीमक उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । उनले मासिक ५०–६० लाख रुपैँया बराबरको औषधि उपचार वीमकले गराउँदै आएको बताए । ‘समयमा रकम पाएको भए औषधि, केमिकल लगायत स्वास्थ्य सामग्री खरिद गर्न सहज हुन्थ्यो । औषधि खरिद गर्ने रकम पुग्दैन । अस्पताल प्रशासनले रकम उठाउन हामीलाई ताकेता गर्छ,’ उनले भने, ‘हामीले वीमा बोर्डलाई रकम पठाउन भन्दा कागजात मिलाउन नसकेर ढिला भएको जवाफ आउँछ । दुवैतिरबाट हामी चपेटामा परेका छौँ ।’
वीमा भुक्तानीलाई ब्यवस्थित बनाउन भेरी अस्पतालको वीमा काउन्टरले १५ कात्तिकदेखि कम्प्यूटरमा तथ्यांक राख्न थालेको छ । यो अवधिमा १३ हजार ९५ जना वीमकले स्वास्थ्य सेवा लिएको अस्पतालका वीमा काउन्टर इन्चार्ज पंगेनीले जानकारी दिए । उनले जेष्ठ महिनामा सबैभन्दा धेरै दुई हजार पाँच सय १७ जना वीमकले सेवा लिएको बताए ।
उनका अनुसार, बैशाखमा एक हजार नौँ सय २६, चैतमा दुई हजार एक सय ३१, फागुनमा एक हजार नौँ सय २१, माघमा एक हजार एक सय ३३, पुसमा एक हजार पाँच सय २४, मंसिरमा एक हजार तीन सय ८८ र कात्तिकमा पाँच सय ५५ जना वीमकले सेवा लिए ।
स्वास्थ्य वीमा बोर्ड बाँकेका प्रमुख रमेश आचार्यले भेरी अस्पताललाई रकम बुझाउन बाँकी रहेको बताए । उनले आर्थिक बर्षका अन्तिमसम्म भेरी अस्पतालले भुक्तानी पाउने जानकारी केन्द्रबाट पाएको जिकिर गरे । उनले बाँकेका अन्य अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रले पाउने रकम बाँकी नरहेको दावी गरे । ‘केन्द्रले हिसाव हेरिरहेको छ भन्ने खवर पाएको छु । सवैतिरको हिसाव मिलाउन समय लागेकोले ढिलाई भएको हुनुपर्छ,’ उनले भने ।
उनले बाँकेस्थित कार्यालयले बाँकेका सवै वडामा वीमा दर्ता सहयोगी मार्फत वीमा बनाउने, वीमकबाट उठेको रकम केन्द्रमा पठाउने, सरकारले तोकेका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रसँग समन्वय गर्ने, आवश्यक तालिम र परामर्श दिने काममात्र गर्दै आएको बताए । ‘हिसाकिताव हेर्ने र वीमकको उपचार गरेका अस्पताललाई रकम पठाउने लगायतका महत्वपूर्ण काम केन्द्रबाट हुन्छ,’ उनले भने ।
स्वास्थ्य वीमा बोर्डले बाँकेस्थित भेरी अस्पताल, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र तोकेको छ । वीमा सहयोगीले सम्बन्धित पालिकाका वीमकलाई सोही अनुसार केन्द्र तोक्ने गरेको आचार्यले बताए ।
तीन हजार पाँच सय रुपैँया बुझाए एउटा परिवारका पाँच जनाको वीमा बनाउने गरेको छ । वीमा परिवारका अन्य सदस्य जोडिन चाहेमा प्रति ब्यक्ति सात सय रुपैँया थप शुल्क लिने गरेको आचार्यले बताए ।
वीमा बनाएका एक जनाले २० हजार रुपैँयाको स्वास्थ्य सेवा लिन पाउने ब्यवस्था छ । ‘वीमा गराएका पाँच जना मध्ये एक जनाले मात्र सेवा लिन चाहेमा बर्षमा एक लाख बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान छ,’ उनले भने, ‘पाँचै जनाले सेवा लिए रकम बाँडिएर २०–२० हजार रुपैँयाका सेवा दिइन्छ ।’

Previous articleगाभर भ्याली होमस्टेमा बाघ : रैथाने खानासँगै पर्यावरणको मनोरम दृष्य (हेर्नुस २९ फोटो)
Next articleनरैनापुरमा पहिलो पेट्रोल पम्प संचालनको तयारी : भारत र नेपालगन्ज जानु पर्ने बाध्यता अन्त्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here