बाँके, १८ असार, २०७९ ।
नरैनापुर गाउँपालिका ५, मटिहियामा पेट्रोल पम्प संचालनको अन्तिम तयारी थालिएको छ । सडक संजालसँग जोडिएपछि नरैनापुर गाउँपालिकामा पहिलो पटक पेट्रोल पम्प संचालनमा आउन लागेको हो ।
पेट्रोलियम पदार्थका लागि नेपालगन्ज आउन टाढा पर्ने भएकोले स्थानीयको सुविधालाई मध्यनजर गरि पेट्रोल पम्प स्थापना गर्न जोड दिइएको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले पेट्रोल पम्प संचालनमा आए त्यहाँका सर्वसाधारणलाई भारतीय पेट्रोल पम्पमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘एक लिटर पेट्रोल र डिजेलका लागि डुडुवा र नेपालगन्ज जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अव स्थानीयले प्रचलित दरमा आफ्नो गाउँठाउँमा सुविधा पाउने छन् ।’
उनले नरैनापुर गाउँपालिकामा ट्याक्टर, बस र मोटरसाइकलको संख्या अत्यधिक भए पनि पेट्रोल पम्प नहुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको बताए । ‘पेट्रोल, डिजेलका लागि नेपालगन्ज जाने हो भने टाढा पर्छ । भारतमा जाने हो भने महंगो पर्छ नै नेपाल र भारतका सुरक्षाकर्मीको सास्ती खेप्नु पर्ने अवस्था थियो,’ उनले भने ।
नरैनापुर गाउँपालिका ५ मेटहियामा पेट्रोल पम्प संचालनमा आए धेरै सहज हुने स्थानीय रामनिवास यादवले बताए । उनले पेट्रोलका लागि नेपालगन्ज र भारतीय सीमा बजार जानुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘पेट्रोल र डिजेलका लागि साह्रै गाह्रो थियो । एक लिटर पेट्रोलका लागि ३५ किलोमिटर दूरी पार गरेर नेपालगन्ज जानुपर्ने बाध्यता अन्त्य हुने क्रममा छ,’ उनले भने ।
यहि असार अन्तिम सातादेखि पम्प संचालनमा ल्याउने तयारी भइरहेको स्टार रिफ्यूलिङ सेन्टरका प्रोप्राइटर अन्सार अहमद खानलेले बताए । उनले पालिकाबासीको मागलाई मध्यनजर गरि पम्प संचालनमा ल्याएको बताउ । नेपाल आयल निगमले सप्लाईको अनुमति दिइसकेको छ । सडक विभागले १९ असारमा संचालन अनुमति दिन्छु भनेको छ । अनुमति पाउने वित्तिकै पम्प वैधानिक रुपमा संचालनमा ल्याउँछौँ,’ उनले भने, ‘प्राविधिक गड्बडी नभए यहि असार महिनाको अन्तिम सातादेखि संचालन हुन्छ ।’