बाँके, १६ असार, २०७९ ।
नेपालगन्जबाट २४ र कोहलपुर चौराहबाट ८ किलोमिटर उत्तरमा छ गाभर भ्याली होमस्टे । चारैतर्फ पहाडले घेरिएको गाभर भ्यालीको वरिपरि होमस्टे संचालनमा छन् । यी होमस्टेमा बसेर रैथाने परिकारको स्वाद लिन सकिन्छ । यहाँका होमस्टेले आफ्नै परिवारका सदस्यले झैँ पाहुनालाई खानपिन गराई घरमै बास बसाउने गरेका छन् । गाभर भ्याली होमस्टेमा आफ्नै परिवारको सदस्यलाई झैँ खानपिन मात्र गराइदैन । यहाँ पुग्ने जो कोहीलाई आफ्नै घरमा पुगेको जस्तो अनुभूती दिलाइन्छ ।
गाभर भ्यालीमा झण्डै २० वटा होमस्टे छन् । ति मध्ये घर नं. १ को विशेषता अन्यको भन्दा फरक छ । उक्त होमस्टेमा थारु परिकार खान पाइन्छ । ‘हामी कहाँ विभिन्न थरिका परिकार पाइन्छ, तर हामीले विशेषगरि थारु परिकारलाई प्राथमिकता दिएका छौँ । थारु परिकार र सत्कार पाइने होमस्टेको रुपमा हामीले यसलाई विकास गरेका छौँ,’ संचालक कृष्णलाल चौधरीले भने ।

होमस्टेमा थारु समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको (हेल्का, डेल्या, हलो, जुवा, छट्री, जाल, जब्या, दुना, टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतो) लगायतका पौराणिक सामग्री हेर्ने ब्यस्था मिलाइएको बताए । उनले थारु समुदायले पूजा गर्ने देवीदेवता, तेल पेल्ने कोल, ढिकी, जाँतो पनि हेर्न सकिने बताए । ‘थारु समुदायमा भएका, तर लोप हुन लागेका र लोप भएका सामग्री हेरेर मनोरन्जनसँगै जानकारी लिने ब्यवस्था मिलाइएको छ,’ उनले भने ।


घर नं. १ होमस्टेले थारु समुदायमा प्रचलित देवीदेवताको मुर्ती र चित्र हेर्ने ब्यवस्था समेत मिलाएको छ । यस होमस्टेमा थारु संस्कृति र संस्कारसँग सम्बन्धित मुर्ती तथा लत्ताकपडा अवलोकन गर्न सकिन्छ । ‘थारु कलासंस्कृतिको अध्ययन, अनुसन्धान गर्नेहरुका लागि उचित स्थान हुनसक्छ,’ चौधरीले भने ।
उक्त होमस्टेले बातावरण संरक्षणलाई समेत जोड दिएको छ । पाहुनालाई घरमै बसेको अनुभूती दिलाउन होमस्टे परिसरमा विभिन्न थरिका फलफूलका बोट र विरुवाको मजा लिन सकिन्छ । होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, विजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, सितलचिनी, सुनाखरी, अमलेसो, चमेली, कटहर, लिची, पिपल, विभिन्न जातका कागती, जामुन, निम, बोकाइनो, गुलमोहर लगायत फलफूलका विरुवाले होमस्टेको सौन्दर्य थप बढाएको छ । ‘पर्यावरण संरक्षणका लागि फलफूल र बाह्रैमास हरियो हुने रुख रोपिएको छ । यसले पाहुनालाई शितलता प्रदान गरेको छ । पर्यावरणमा टेवा समेत पुगेको छ,’ उनले भने ।


होमस्टेमा माहुरी पालन गरिएको छ । भने, काठजन्य किरा संरक्षणका लागि घार पनि बनाइएको छ । घार बनाउने वित्तिकै माहुरी आएर बसेको उनले बताए । उनले माहुरीसँगै विभिन्न जातका काठजन्य किराको अवलोकन गर्न सकिने बताए ।

उनले पानीमा पाइने विभिन्न प्रजातिका किराको बासस्थान समेत निर्माण गरिएको बताए । ‘गाभर भ्याली होमस्टेले रैथाने खानाको संरक्षण मात्र गरेको छैन । विभिन्न जातका किरा, फट्यांग्रा, माहुरी र माहुरी प्रजातिका किराको संरक्षण गरि पर्यावरण जोगाई सिंगो पृथ्वीमा पाइने जिव, जन्तु संरक्षण गर्ने अभियान समेत थालेको छ,’ चौधरीले भने, ‘शहर बजारको कोलाहल र दैनिक कामको थकान मेटाउने थलोको रुपमा विकास गर्ने योजना छ ।’





















