बाँके, १५ असार, २०७९ ।
अवेर रातसम्म मदिरा विक्रि गर्ने कार्यलाई रोक्न नेपालगन्ज उपमहानगरपालिका २२, पुरैनीका यूवाले बाँके प्रहरीसँग माग गरेका छन् । अबेर रातसम्म मदिरा विक्रि गर्दा समाजमा नकारात्मक असर पर्ने र झैँझगडा हुने खतरा भएको भन्दै पुरैनीका यूवाले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेसँग यस्तो माग गरेका हुन् ।
लागुऔषध प्रयोग रोकथाम, न्यूनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी यूवाले पुरैनी क्षेत्रमा मादक पदार्थको अवैध रुपमा ब्यापार ब्यवसाय हुने गरेको बताउँदै घरपालुवा मादक पदार्थ खुलमखुला विक्रि वितरण हुने गरेको बताए । ‘मादक पदार्थ सेवन गरेकाहरुले रातभर हल्ला गरेर सुत्नसमेत दिँदैनन्,’ स्थानीय मोहम्मद अर्सद शेषले भने ।
यूवाहरुको सुझावलाई मध्यनजर गरि बाँकेका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी न्यौपानेले अवेर रातसम्म मदिरा विक्रि गर्ने ब्यापारीको पहिचान गरि कारवाहीको दायरामा ल्याउने बताए । उनले अवैध रुपमा मादक पदार्थ उत्पादन गर्न नपाइने बताउँदै मादक पदार्थ सेवन गर्ने, विक्रि गर्ने र उत्पादन गर्ने ब्यक्तिको पहिचान गरि प्रहरीलाई जानकारी गराउन आग्रह गरे । ‘तपाईहरुको गाउँघरमा अवैध रुपमा मदिरा उत्पादन गर्ने र मादक पदार्थ सेवन गरि होहल्ला गर्नेको पहिचान गरि प्रहरीलाई खवर गर्नुस हामी कानुन बमोजिम कारवाही गर्न तयार छौँ,’ उनले भने ।
उनले मादक पदार्थ र लागुऔषधले यूवा समुदायलाई नमाजसँग गाजेको बताउँदै लागुऔषधको कारोवार भए त्यसको जानकारी दिने दायित्व यूवाको भएको बताए । ‘हाम्रो गाउँघरमा हुने गलत कामको सूचना दिने दायित्व तपाई हामी सवैको हो,’ उनले भने ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी लागुऔषध ब्यूरोका प्रहरी निरीक्षक प्रकाश केसीले लागुऔषधले ब्यक्ति, परिवार र समाजलाई पार्ने असर र कानुनी कारवाहीका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा परामर्शदाता आश्रय श्रेष्ठले लागुऔषध प्रयोग गरेका कारण आफ्नो ब्यक्तिगत जिवनमा पुर्याएको असर र परिवार तथा आफन्तले भोगेका समस्याको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका २२ का वडा अध्यक्ष अब्दुल गफार हल्वाई, सामाजिक अभियन्ता संजय थापा, परिवर्तन समुहकी कार्यक्रम निर्देशक इन्दु रावल लगायतको सहभागिता रहेको थियो ।