आज धान दिवस, बाँकेमा २–३ प्रतिशतमात्र धान रोपाइँ, पानी परेपछि किसान हर्षित

बाँके, १५ असार, २०७९ ।


१५ असार आज धान दिवस । तर, बाँकेमा २–३ प्रतिशत धान रोपाइँ भएको छ । समयमा बर्सात नहुँदा किसानले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।
उनले सिक्टा सिँचाई आयोजनाको पानी सुविधा भएको ठाउँका किसानले मात्र रोपाइँ गरेको बताए । ‘यो समयमा बाँकेमा २०–३० प्रतिशत खेतमा रोपाइँ हुने बेला हो, तर सिचाई सुविधा नभएकोले सिँचाईको पूर्वी नहरले सिञ्चित सुविधा भएका किसान बाहेकले धान लगाउन सकेका छैनन्,’ उनले भने, ‘धानको वियाड बुढो हुन थालेपछि बोरिङको सुविधा भएका फाटफुट किसान बाहेक अन्यको खेत बाँझो छ ।’
धानको वियाड तयार भए पनि डुडुवा गाउँपालिका ६ हिरमिनियाका गुरुदिन यादवले रोपाइँ गर्न नसकेको बताए । उनले पानी नभएकोले वियाड तयार भए पनि रोपाइँ गर्न नसकेको बताए । समयमा रोपाइँ गर्न नसक्दा वियाड बुढो हुने चिन्ता बढेको उनले बताए । ‘मेरो मात्र होइन अधिकांश किसानको वियाड तयार छ । पानी नहुँदा सवैजसो खेत बाँझो छ,’ उनले भने, ‘पानी भएको भए अहिलेसम्म आधा रोपाइँ सकिन्थ्यो होला ।’
नरैनापुर गाउँपालिका ५ मटेहियाका विनय दिक्षितले पनि अधिकांश खेत बाँझो रहेको बताए । उनले अहिलेसम्म कसैले पनि रोपाइँ नगरेको बताए । मोटरको सहायतामा धानको वियाड राखे पनि बर्सात नहुँदा रोपाइँ गर्न नसकिएको बताए । ‘धानले खेत भरिभराउ हुने बेला हो । तर, धान रोपाइँ हुनुपर्ने समयमा पानी नहुँदा कमिला हिडिरहेका छन्,’ दिक्षितले भने ।
सिँचाई सुविधा नभएकोले धान रोप्न नसकिएको खजुरा गाउँपालिका २ सी गाउँका ऋषि पोख्रेलले बताए । उनले धान रोप्न आत्तुर लागे पनि बर्सातले साथ नदिएको बताए । ‘एकातिर खेतमा पानी छैन, अर्कोतर्फ रासायनिक मलको हाहाकार छ । पानी पाए पनि मल नपाए रोपाइँमा ढिला हुने देखिन्छ,’ उनले भने ।
पानी नभएकोले धान दिवस मनाउने ठाउँ अभाव खड्किएको कृषि ज्ञान केन्द्र प्रमुख ढकालले बताए । उनले बोरिङबाट सिँचाई हुने ठाउँमा गएर धान दिबस बनाउने तयारी भएको बताए ।
बर्सातले किसान हर्षित
मंगलवार मध्यरातबाट बर्सात भएपछि बाँकेका किसान हर्षित भएका छन् । पानी अभावमा धान रोप्न नपाएका यहाँका किसानहरु बर्सात भएपछि राहतको महशुस गरेका छन् । बर्सातले ठूलो राहत दिएको डुडुवा गाउँपालिका १ होलियाका राजकुमार शुक्लले बताए ।
उनले धानको वियाड तयार भइसकेकोले बर्सात रोकिने वित्तिकै धान रोपाइँ सुरु गर्ने बताए । ‘पानी नभएर छटपटाहट भएको थियो । मध्यरातबाट परेको बर्सातले ठूलो राहत दिएको छ । बर्सात रोकिने वित्तिकै धान रोपाइँ सुरु गर्छौँ,’ उनले भने ।
बर्सातले धेरै ठूलो राहत दिएको जानकी गाउँपालिका २, ढोडेगाउँका रामफेरन रैदासले बताए । उनले अव धान रोप्न सुरु गर्ने बताए । ‘पानीको पर्खाईमा थियौँ । अव रोपाइँ सुरु गर्छौँ,’ उनले भने ।

Previous articleराप्ती नदीमा खतराको सतहमा बढ्दै, नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन प्रशासनको निर्देशन
Next articleपुरैनीका यूवाको माग : अबेर रातसम्म मदिरा विक्रि गर्ने कार्य बन्द गराऊ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here