हत्यालाई सडक दुर्घटना बनाउन खोज्ने चार यूवा पक्राउ

बाँके, १३ असार, २०७८ ।


बैजनाथ गाउँपालिकाका ६ का ३० बर्षिय मिलन भन्ने दिक्षित खड्काको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । यूवाको समुहले कोहलपुर–सुर्खेत अन्तरगत बैजनाथ ४ स्थित रत्न राजमार्गमा खड्का माथि आक्रमण गरि घाइते बनाएका थिए । आक्रमणपछि उनीहरुले सवारी दुर्घटनाको रुप दिन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय कोहलपुरको टोली घटनास्थल पुगेर आक्रमणमा संलग्न चार जना यूवालाई पक्राउ गरेको इन्चार्ज प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बताए ।
सोमबार विहान करिव २ बजेतिर कुटपिटपछि खड्कालाई सडकको विच भागमा छोडिएको अवस्थामा फेला पारिएको उनले बताए । घाइते खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्याएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि १३ असार विहान थप उपचारका लागि काठमाडौँ लगिएको थियो । सीता एयरको एयर एम्बुलेन्सबाट वीर अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको दिउँसो मृत्यू भएको मल्लले बताए ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा बैजनाथ गाउँपालिका ३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र बैजनाथ ४ का गोविन्द विकलाई पक्राउ गरेको डिएसपी मल्लले जानकारी दिए । उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सोमवार दिउँसो सार्वजनिक गरिएको छ । ‘घटनाको जानकारी पाएको तीन घण्टा भित्र घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएका छौँ,’ उनले भने ।
घटनामा संलग्न शाही, बुढामगर, थापामगर र विकको समूहले बैजनाथ गाउँपालिका ३ का पदम सुनारको घरमा जन्मदिनको पाटीमा सहभागी भएका थिए । ‘उनीहरु सोही रात गाउँकै अनुशा कटेजमा मादक पदार्थ सेवन गरेको र फेरि जन्मदिनको पाटीमा गएर नाचगान गरेको अनुसन्धानले देखाउँछ,’ उनले भने ।
जन्मदिनको कार्यक्रम सकेर फर्किने क्रममा विहान करिव २ बजेतिर एलवी चोकमा थापासँग भेट भएको थियो । पैदल कोहलपुर आउँदै गरेका उनीहरुसँग खड्काले बसपार्क जाने बाटो सोधेपछि विवाद भएको प्रहरी समक्ष बयान दिएका छन् ।
मदिराले लठिएका यूवाले खड्का माथि लाठी लगायतले अन्धाधुन्ध प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘घटनालाई सवारी दुर्घटना जस्तो देखाउन उनीहरुले घटनास्थलबाट बोकेर सडकको बीच भागमा राखेर आ–आफ्नो घरमा सुत्न गएको देखिन्छ,’ डिएसपी मल्लले भने ।

Previous articleकृषि मन्त्रीलाई एग्रो ब्यवसायी किरण खनालको खुला पत्र
Next articleराप्ती नदीमा खतराको सतहमा बढ्दै, नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन प्रशासनको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here