बाँके, १४ असार, २०७९ ।
श्री कृषि मन्त्री ज्यू,
कृषि नेपाली अर्थतन्त्रको प्रमुख पक्ष मानिन्छ । कृषिले नेपालको कुल जनसंख्याको ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ । जिडियोमा कृषिको करिव २७ प्रतिशत योगदान छ । त्यसैले कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण भाग हो किसान । नेपाल कृषि प्रधान देश हो भन्दै गर्दा कृषक र कृषिमा आधारित समस्या बुझ्न नसक्नु कृषि मन्त्रालयको प्रमुख दोष हो भन्नेमा दुई मत छैन ।
गत वर्षको जस्तै यस बर्ष पनि मलको हाहाकार नहोला भन्न सकिदैन । सहि समयमा मल आपूर्ती गर्न नसक्नु सरकारको कमजोरी हो भन्नेमा दुई मत छैन । गत वर्षको बर्षा याममा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल कृषकले नपाएर हाहाकार मच्चिएको यहाँलाई पनि विदितै छ ।
लामो समयदेखि देश र किसानले धेरै कृषि मन्त्री पाए, तर समयमा न मल पाउन सक्केका छन् न त समयमा बीउ नै पाउन सके । पूर्व कृषि मन्त्रीले प्रदेश–प्रदेशमा रासायनिक मल कारखाना स्थापना गर्छौँ भनेर सपना बाड्ने सिवाय केहि गर्न नसक्दा किसान वर्गमा आएको खुसियाली मनाउन नपाउँदै ओइलाएको छ ।
हामीबाट किसानले धानको बीउ त लिन्छ, तर मल पाउन सक्दैनन् । सरकारले यसतर्फ गम्भिर भएर सोच्नु पर्ने समय आएको छ । मानो रोपेर मुरी फलाएर आ–आफ्ना लालाबालालाई गुणस्तर जीवन जिउन सिकाउने किसानलाई सरकारबाटै यतिसम्मको धोका दिनु हुन्न र हुँदैन पनि ।
कृषि मन्त्री र कम्पनी विच हुने सम्झौतामा कमिशनका कारण मल भित्र्याउन समय लाग्छ भनेर अहिलेबाट बार्गेनिङ गर्न सुरु गर्नुस र समयमा कृषक सामु मल पुर्याउनुस । समय पश्चात् आएको मलको कुनै भुमिका हुँदैन । कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि र कृषिलाई आधुनिकीकरण तिर लगेर देशको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि कृषि उत्पादनमा वृद्धि ल्याउन मलको महत्वपूर्ण भुमिका रहेको छ ।
–खनाल लामो समयदेखि नेपालगन्जमा रहेर कृषि र किसानको हक हितमा कार्य गर्दै आएका एग्रो ब्यवसायी हुन् ।