एक बर्षमा एक सय ८५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ, एक सय १२ विरुद्ध मुद्धा दायर

बाँके, ११ असार, २०७९ ।


बाँकेमा चालू आर्थिक बर्षको ७ असारसम्म १० महिला र एक सय ७५ पुरुष गरि एक सय ८५ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारकर्ता पक्राउ परेका छन् । लागुऔषध दुब्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार अन्तरक्रियामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका दिवस मुल समारोह समितिका संयोजक टोपेन्द्रबहादुर केसीले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।
गत आवमा ११ महिला र एक सय ८५ पुरुष गरि एक सय ९६ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये गत बर्ष एक सय २६ जना विरुद्ध मुद्धा चलाइएको थियो । चालू आवको ७ असारसम्म एक सय १२ जना विरुद्ध मुद्धा चलाइएको उनले बताए ।
काठ्माण्डौको अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका भएको बताउँदै उनले चालू आवको ७ असारसम्म ८९०.९९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको उनले बताए । गत आवमा बाँकेमा ५७० ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
चरेश, अफिम, गाँजा र कोरेक्स बरामद कम भए पनि नाइट्रोजन भ्याट र ट्रामाडोल बरामद बढेको बताए । उनले चालू आवमा चार हजार २५ ट्याब्लेट नाइट्रोजन भ्याट र दुई हजार चार सय ३० ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी दिए । गत आवमा एक हजार तीन सय १० ट्याब्लेट नाइट्रोजन भ्याट र एक हजार ७० ट्याब्लेट ट्रामाडोल बरामद भएको थियो ।
बाँकेमा लागुऔषध पुनस्र्थापना केन्द्रको संख्या बढेर २० पुगेको छ । शहरसँगै गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको संख्या बृद्धि भएपछि कोहलपुर, खजुरा, हवल्दारपुर लगायतका ठाउँमा पनि पुनस्र्थापना संचालनमा आएका छन् ।
चालू आवको ७ असारसम्म यहाँका पुनस्र्थापना केन्द्रमा सात सय ९४ जना पुरुष र ९३ महिला गरि आठ सय ८७ जना लागुऔषध प्रयोगकर्ता भर्ना भएको बताउँदै सहयाक प्रमुख जिल्ला अधिकारी केसीले पाँच सय तीन पुरुष र ७२ महिला गरि पाँच सय ७५ जना निको भएर घर फर्किएको जानकारी दिए । उनले तीन सय १२ जना लागुऔषध प्रयोगकर्ता अहिले पनि उपचाररत रहेको बताए ।
त्यसैगरि, गृह मन्त्रालयले नेपालगन्जमा स्थापना गरेको लागुऔषध पुनस्र्थापना केन्द्रमा ७८ जनाले प्रत्यक्ष र ४० जनाले अप्रत्यक्ष सेवा लिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोसीले बताए । उनले ६ पुरुष र तीन महिला उपचाररत रहेको बताउँदै ११ जना डिस्चार्ज भएको जानकारी दिए ।
बाँकेमा ८० जनाले मेथाडोन पद्धतीबाट लागुऔषध सेवन गरिरहेका छन् । चेन्ज टिमसँगको सहकार्यमा भेरी अस्पतालका चिकित्सकको प्रत्यक्ष निगरानीमा मेथाडोन पद्धतीबाट लागुऔषध सेवन गरिरहेको चेन्ज टिमकी अध्यक्ष इन्दिरा जोसीले बताइन् ।

Previous articleकोहलपुरको नीति तथा कार्यक्रममा ‘यूवाको जवानी, कोहलपुरमा लगानी’
Next articleनरैनापुरको बजेट ५१ करोड १० लाख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here