रासायनिक मल : नेपालमा पाइदैन, भारतबाट ल्याउँदा चोरीपैठारीको आरोप खेप्दै किसान

बाँके, १० असार, २०७९ ।


धान खेतिका लागि भारतबाट रासायनिक मल ल्याउँदा चोरीपैठारीको आरोप खेप्न परेको बाँकेका किसानले गुनासो गरेका छन् । नेपाल सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि बाध्य भएर भारतीय बजारबाट मल किनेर ल्याउने क्रममा सीमा खटिएका नेपाली सुरक्षाकर्मीको चोर भनेर लाठी बर्साउने र नानाथरि गाली गर्ने गरेको डुडुवा गाउँपालिका १, कन्धईपुर्वाका जयराम गोडियाले गुनासो गरे ।
उनले भारतीय रासायनिक मल किन्न रत्तीभर मन नभए पनि नेपाल सरकारले उपलब्ध गराउने रासायनिक मल नपाएपछि बाध्य भएर भारतीय मल प्रयोग गरेको बताए । ‘नेपाली मलका लागि नेपालगन्ज धाउन थालेको धेरै भइसक्यो, तर मल पाउने कुनै छाँट छैन । कृषि सामग्री कम्पनीले मल आउने कुनै ठेगान नभएको बताएपछि भारतीय मल किन्न बाध्य भयौँ,’ उनले भने, ‘ल्याउने बेला आफ्नै देशका सुरक्षाकर्मीबाट नानाभाती गाली खानु पर्यो । चोरको आरोप लगाइयो ।’
डुडुवा गाउँपालिका १, होलियाका बहेकर धोवीले पनि भारतीय रासायनिक मल प्रयोग गर्ने भएका छन् । तर, भारतबाट मल ल्याउन उनलाई ठूलै कसरत गर्नुपरेको छ । मल ल्याउने बेला नेपालतर्फका सुरक्षाकर्मीबाट धेरै सास्ती खेप्न परेको उनले गुनासो गरे । ‘बास्तवमा भन्ने हो भने भारतीय सुरक्षाकर्मीले रोकतोक गर्नुपर्ने हो, तर हामीले आफ्नै देशका सुरक्षाकर्मीबाट पीडित छौँ,’ उनले भने, ‘बल्लतल्ल जोहो गरेको पैँसाले मल किनेर ल्यायो । बाटोमा बसेका सुरक्षाकर्मीलाई फेरि १०–५० रुपैँया चढाउनु पर्छ । नदिए मल ल्याउन दिदैनन् ।’
भारतबाट मल ल्याउने क्रममा नरैनापुर गाउँपालिका २, लक्ष्मणपुरका इसाक खानले पनि धेरै सास्ती खेप्नु परेको छ । नेपाली मल नपाएपछि उनी नजिकैको सीमावर्ती भारतीय बजार बघौडा पुगेर मल किने । भारतीय सुरक्षाकर्मीले नरोकेपछि उनी सरासर नेपाल प्रवेश गरे, तर सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले रोकेर चोर भन्दै तथानाम गाली गरेको उनले बताए । ‘घर खर्चको ल्याउँदासमेत सुरक्षाकर्मीबाट विभिन्न थरिका आरोप खेप्नु पर्छ । चोर भन्दै सामान जफत गर्छन् । अलि कडा स्वरमा बोल्ने हो भने कुट्ने धम्की दिन्छन्,’ उनले भने, ‘मल नहालौँ धान फल्दैन । हालौँ मल पाइदैन । भारतबाट किनेर ल्याउन खोज्यो सुरक्षाकर्मीको गाली र लाठी खानुपर्छ । चारैतर्फबाट हामी किसान चेपुवामा छौँ ।’
जानकी गाउँपालिका १, ढोडेगाउँका रामपाल यादवलाई भारतीय मल प्रयोग गर्ने रत्तिभर मन छैन । तर, नेपाली मल नपाएपछि उनी नजिकैको सीमावर्ती बजार रुपइडिहाबाट मल खरिद गरे । मुख्य नाकाबाट ल्याउन सुरक्षाकर्मीले नदिएपछि उनले अवैध बाटो प्रयोग गरे । मल ल्याउँदै गर्दा नेपालतर्फका सुरक्षाकर्मीले फेला पारे । निकैबेर केरकार पारेपछि सुरक्षाकर्मीले उनलाई घरतर्फ आउन दिए, तर उनले निकै सास्ती खेप्न पर्यो । ‘अनेक आग्रह पछि अवदेखि मल नल्याउने सर्तमा आउन दिए,’ उनले भने ।
फोटो क्याप्सन ः भारतीय सीमाबर्ती बजार नबाबगन्जबाट रासायनिक मल किनेर ल्याउँदै डुडुवा २, बनकट्टीका किसान ।

Previous articleपर्यटकलाई पर्यावरणको जानकारी दिन होमस्टेका यूवालाई नेचर गाइड तालिम
Next articleलोपोन्मुख अजिङ्गरको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here