बाँके, ९ असार, २०७९ ।
नेपालगन्ज उपमहानगरले आगामी आर्थिक बर्ष ०७९–०८० को नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । ११ औँ नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज धार्मिक र सांस्कृतिक हिसावले धनी भएको बताउँदै धार्मिक स्थलको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले नेपालगन्ज हिन्दु, मुस्लिम, शिख, इसाई, बौद्ध लगायत बहुधार्मिक सम्प्रदायको बसोवास रहेको बताउँदै नेपालकै नामबाट स्थापना भएको नेपालगन्ज वहुसांस्कृतिक, बहुभाषिक, बहुसम्प्रदाय र सहिष्णुतायुक्त प्राचीन शहरको रुपमा परिचित रहेको बताए । पाटेबाघ संरक्षण गर्न विस्तार गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र भएकोले पर्यटकिय क्षेत्रको प्रवल सम्भावना रहेको उल्लेख गरे ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासका लागि बागेश्वरी मन्दिरको ऐतिहासिक धरोहरको संरक्षण, सम्बद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरु योजना बनाउन बजेट विनियोजन गरेको उनले बताए ।
नेपालगन्ज शहरको फरक पहिचान बनाउन १०८ फिटे हनुमान मूर्ती निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरिएको बताउँदै उनले विपी चोकस्थित इदगाहमा प्रवेशद्वार निर्माण गर्न बजेट विनियोजन गरिएको बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विष्टले नेपालगन्जको पहिचान बोकेको प्राचीन टाँगाहरुको संरक्षण र सम्बद्र्धन गरिने बताए ।
उनले नेपालगन्जमा रहेका धार्मिक तथा सांस्कृतिक धरोहरहरुको दीर्घकालीन संरक्षण र विभिन्न समुदाय बीचको सद्भाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरी धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुपान्तरण गर्ने योजना प्रस्तुत गरे । पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्वाहरुको संरक्षण तथा सम्वद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई थियो । ‘नगरभित्र रहेका सम्पूर्ण ताल, तलैया तथा पार्कहरुको पहिचान, स्तरोन्नति तथा निर्माण गरी संरक्षण र सम्वद्र्धन गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ,’ मेयर विष्टले सभामा पेश गरेको कार्यक्रममा उल्लेख छ ।
नगरका धार्मिक, ऐतिहासिक महत्वका स्थानहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहयोग पुर्याउन पर्यटन गाइडकोे व्यवस्था गर्ने उपमहानगरले नीति तथा कार्यक्रममा समेटेको छ । ‘मृत्यूपछि शवलाई केही समय सुरक्षित राख्ने प्रयोजनको लागि शव राख्ने फ्रिजर, अन्तिम संस्कारका लागि शववाहन र विद्युतीय शवदहन गृहको व्यवस्थापन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपालगन्जलाई चिनाउन नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नेपालगन्ज उपमहानगरपालिका २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने योजना अघि सारेको उपमहानगरले नेपालगन्जबाट आन्तरिक तथा वाह्य गन्तव्य मार्गको पहिचान गरी संचालनमा ल्याउने योजना उपमहानगरले बताएको छ ।
नेपालगन्जलाई क्लिन, ग्रिन र हेल्थी सहरको रुपमा विकास गरिने नगर प्रमुख विष्टले बताए ।
नेपालगन्जको आगामी बर्षको बजेट एक अर्व ६३ करोड ६५ लाख
नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैँयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरको ११ औँ नगर सभामा उप–प्रमुख मोहम्मद कमरुद्धिन राईले आगामी आर्थिक बर्ष ०७९–०८० का लागि उक्त अनुमानित बजेट पेश गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारले दिने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु पर्ने आवश्यकता उप–प्रमुख राईले औँल्याए । यसवर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।