बाँके, ८ असार, २०७९ ।
बाँके जिल्ला भलिबल संघको अध्यक्षमा चिरन्जिवी चन्द निर्वाचित भएका छन् । संघको बुधवार नेपालगन्जमा भएको अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको महासचिव यमनारायण महतोले जानकारी दिए । चन्द यसअघि उपाध्यक्ष थिए ।
अधिवेशनले उपाध्यक्षमा रिता कोइराला, महासचिवमा महतो, कोषाध्यक्षमा सुमनसिंह बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा पूर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भएको महतोले जानकारी दिए ।
नेपाल भलिबल संघका सचिव एवम् केन्द्रिय प्रतिनिधि भीम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यतामा भएको अधिवेशनले प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ ।
अधिवेशन भेलामा पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुराना खेलाडी एवम् प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थियो । जिल्ला संघमा दुई जना उपाध्यक्ष रहने प्रावधान छ । नेपाल भलिबल संघको विधान बमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्नेछन् । बाँकी सदस्य कार्यसमितिले मनोनयन गर्नेछ । दुई जना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउनेछ ।
नेपाल भलिबल संघका केन्द्रिय सचिव ओलीले बाँके जिल्लाले गरेका कामलाई केन्द्रले उच्च मुल्यांकन गरेको बताए ।
पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्माले पछिल्लो पुस्ताले जिल्लामा गरेको गतिविधिले आफुहरुलाई गौरवबोध गराएको विचार राखे । ‘कुनै समय राष्ट्रिय एरिनामा बाँकेको बेग्लै पहिचान थियो, दबदबा थियो,’ उनले भने, ‘पछिल्लो पुस्ताले निकै सक्रियता देखाएको छ, फेरि त्यो लयमा समात्ने आशा गर्दछौं ।’
करिब एक दशक नेतृत्वमा रहेका टीएस ठकुरीले औपचारिक रुपमा भलिबलको सम्पूर्ण जिम्मेवारीबाट अलग्गिने निर्णय लिएको घोषणा गरे । यद्यपी भलिबलको अभियानमा आफु दृढ रहेको उनले बताए ।
बाँके जिल्ला भलिबल संघको महत्वाकांक्षी कार्यक्रम प्रधानमन्त्री कप महिला भलिबल विगत आठ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ ।