जनक शिक्षाको भवन संचालनमा नआउँदै जीर्ण : करोडौँ लगानी बालुवामा पानी

बाँके, २८ जेठ, २०७९ ।


नेपालगन्जको धम्बोझी चोकबाट आठ किलोमिटर पश्चिममा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको दुई तले प्रशासनिक र छापाखाना भवन छ । आधुनिक डिजाइनमा निर्माण गरिएको भवनको माथिल्लो तलामा कार्यालयका लागि संरचना तयार गरिएको छ । भूइँ तलामा छपाईमा काम लाग्ने साना–साना उपकरण राखिएका छन् । यो भवन सरकारले विक्रम सम्वत् २०६२ सालमा निर्माण गरेको हो ।
तीन तले प्रशासनिक भवनको उत्तरतर्फ जस्ता पाताले छाएका थप दुई वटा भवन निर्माण गरिएका छन् । वीचमा रहेको भवनमा दुई कलर छाप्न मिल्ने आधुनिक मेसिन राखिएको छ । अर्को भवन कागज र किताव राख्ने उद्देश्यले तयारी पारिएको जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्माले बताए ।
साबिक मध्य र सुदूरपश्चिमका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले विक्रम सम्वत् ०६२ सालमा उक्त छापाखाना स्थापना गरेको हो । करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैँया लागतमा प्रशासनिक भवन निर्माण गरेको थियो । त्यसपछि दुई करोड रुपैँया लागतमा थप दुईवटा भवन निर्माण गरिए । छापाखाना र गोदामका लागि निर्माण गरिएका ती दुई भवन पनि प्रयोगविहीन छन् ।


छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा रहेको उनले बताए । ‘स्याहार सम्भार नपाएपछि प्रशासनिक भवन जीर्ण भइसकेको छ,’ उनले भने, ‘छपाई मेसिन ल्याएदेखि प्रयोग भएको छैन । त्यो पनि विग्रियो होला ।’
उनले ‘टु–कलर’ मेसिनले कक्षा नौँ र १० को पाठ्यपुस्तक छाप्न सकिने बताए । कक्षा आठसम्मका पाठ्यपुस्तक फोर–कलरमा छाप्नुपर्ने बताउँदै उनले फोर–कलर उपकरण खरिद गर्न पाँच करोड रुपैँया लाग्ने बताए ।
सरकारले चाहेको खण्डमा तत्काल संचालन गर्न सकिने उनको भनाई छ । संविधानले विकेन्द्रिकरणको सिद्धान्त अलवलम्बन गरे पनि राज्यको नीति बनाउनेहरुको मानसिकता केन्द्रिकृत रहिरहेकोले छापाखाना संचालनमा आउन नसकेको उनको भनाई छ । ‘विकेन्द्रिकरणको सिद्धान्तलाई आत्मसाथ गर्ने हो भने दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ । नारा विकेन्द्रिकरणको लगाउने काम केन्द्रिकृत गर्ने परम्पराको अन्त्य नहुँदासम्म छापाखाना संचालनमा आउने छैन,’ उनले भने, ‘बजेट ठूलो कुरा होइन । संचालन गर्नुपर्छ भन्ने मानसिकता ठूलो कुरा हो ।’
फोर–कलर मेसिन खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब १० करोड रुपैँया आवश्यक पर्ने उनले बताए । ‘मेसिन खरिद गरेर छपाईको काम अगाडी बढाउने र अन्य पूर्वाधार निर्माणको काम विस्तारै गर्दा पनि हुन्छ,’ शर्माले भने ।
देशभरका विद्यार्थीका लागि काठ्माडौँको मेसिनले छाप्न सम्भव नभएको उनले बताए । उनले खजुरास्थित छापाखाना तत्काल संचालनमा ल्याएर पाठ्यपुस्तक अभाव समस्या समाधान गर्न सकिने बताए । फोर–कलर मेसिन खरिद गरेर खजुरामा छपाइ गर्न सकिए पश्चिम नेपालका हिमाली तथा पहाडी भेगमा पाठ्यपुस्तक पठाउन सहज र छिटो, छरितो हुने बताए । ‘साविकको मध्य र सुदूरपश्चिम क्षेत्रका विद्यार्थीलाई सहज रूपमा पाठ्यपुस्तक उपलब्ध गराउन सकिन्थ्यो । यहाँ छाप्दा काठ्माडौँबाट ढुवानी गर्दा लाग्ने खर्च र समय पनि जोगिन्थ्यो,’ उनले भने ।


जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्न ढिलाइ गर्छ नै ढुवानी कम्पनीले समयमै ढुवानी नगरिदिँदा यस क्षेत्रका हिमाली तथा पहाडी जिल्लामा हरेक पाठ्यपुस्तक अभाव हुने गरेको छ । ‘कागज, मसीलगायत सामग्री यहीँबाट काठ्माडौँ जान्छ । यहीँ छाप्न सकिने पाठ्यपुस्तक पनि दोहोरो ढुवानी खर्च गरेर काठमाण्डौ पठाउनु परेको छ,’ केन्द्रका प्रमुख शर्माले भने ।
जनक शिक्षा सामग्री केन्द्रको नेपालगन्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्युठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । ‘खजुराको छापाखाना संचालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुस्तक यहीबाट छपाइ गरि पठाउन सकिन्छ,’ उनले भने ।

Previous articleबाढीबाट यस वर्ष बाँकेका १० हजार परिवार प्रभावित हुने आँकलन
Next articleविद्युतिय गाडीका लागि कोहलपुरमा चार्जिङ प्वाइन्ट संचालन, चार्जबापत कति शुल्क लाग्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here