बाँके, २८ जेठ, २०७९ ।
पहिरोको जोखिम नभए पनि बाँके बाढीको उच्च जोखिममा रहदै आएको छ । हरेक बर्ष बर्सातको समयमा सयौँ परिवार बाढीबाट प्रभावित हुने गरेका छन् । विशेष गरि राप्ती नदी आसपासका बासिन्दा बाढीको उच्च जोखिममा रहेका छन्, तर पनि मानखोला, डुडुवा, पेडारी नाला, किरण नालामा आउने बाढीले धन, जनमा क्षति पुर्याउँदै आएको छ ।
यस बर्ष बाढीबाट बाँकेका करिब १० हजार घर परिवारका ५० हजार सर्वसाधारण प्रभाबित हुने जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ । बाँकेमा राप्ती नदी, डुडुवा खोला, मानखोला, परुवा लगायत खोलामा आएको बाढीले क्षति पुर्याउँदै आएको छ । यस बर्ष अघिल्लो बर्षको तुलनामा बढि बर्सात हुने जल तथा मौसम विज्ञान विभागले गरेपछि विपद ब्यवस्थापन समितिले पनि बाढीबाट बाँकेका ५० हजार ब्यक्ति प्रभावित हुन सक्ने पूर्वानुमान गरेको सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनले राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडा बाढीको जोखिममा रहेको बताए । त्यसैगरि, डुडुवा गाउँपालिकाको १, २, ३ र ४ नंं. वडा राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा रहेको उनले बताए । कोहलपुर नगरपालिकाका बासिन्दाहरु डुडुवा खोलाको बाढीबाट प्रभावित हुँदै आएका छन् । भने, बैजनाथमा मानखोला र खजुरा गाउँपालिकाका बासिन्दा मानखोला, किरण नाला र पेडारी नाला मा आएको बाढीबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
बाढी जोखिम क्षेत्रको नक्सांकन गरि जिल्लाको विपद् पूर्वतयारी गरिएको उनले बताए । जिल्लामा हुने विपद न्यूनिकरण गर्न पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्विकृत गरेको उनले बताए ।
मनसुन शुरु भइसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरि डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदीमा प्रदेश सरकार, सवै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा ६ असार विहान ११ वजे कृतिम घटना अभ्यास गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यस वर्षको मनसुनमा विगतमा भन्दा वढी वर्षा हुने आकलन अनुसार सवै सुरक्षा निकाय, विषयगत समितिलाई तयारी अवस्थामा राखेको वताए । वाढीजन्य विपदबाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपदमा प्रयोग हुने स्रोत, साधन, जनशक्तिको अद्यावधिक गरि तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फाराम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने र पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय भएको उनले बताए ।