पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित : हाजिरी लगाउँदै फर्किदै विद्यार्थी

बाँके, २३ जेठ, २०७९ ।


समयमा पाठ्यपुस्तक नपाउँदा बाँकेका अधिकांश विद्यालयमा विद्यार्थी हाजिर गरेर मात्र फर्किने गरेका छन् । शैक्षिक शत्र सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन सुरु हुन नसक्दा हाजिरी गरेर मात्र घर फर्किने गरेको नरैनापुर गाउँपालिका २, लक्ष्मणपुरस्थित आदर्श मावि कक्षा ९ मा अध्ययनरत मोहम्मद मोहसिनले बताए ।
उनले अहिलेसम्म नेपाली र शिक्षा विषयको पुस्तकमात्र हातमा परेको बताए । पुस्तक नहुँदा शिक्षकहरुले पनि पढाउन मन नगरेको उनले सुनाए । ‘सरहरु पढाउन भनेर कक्षा कोठामा आउनु हुन्छ । पुस्तक नभएपछि पढाउन त्यति जाँगर लगाउनु हुन्न,’ उनले भने, ‘पुस्तक नहुँदा हामीलाई पनि पढ्न मन लाग्दैन । नपढेर घर फर्किन्छौँ ।’
पुस्तक नहुँदा सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत साहिल अन्सारीलाई पनि पढ्न पटकै मन लाग्दैन । उनले अहिलेसम्म कुनै विषयको पुस्तक पाएका छैनन् । ‘पुस्तक नपाएका कारण विद्यालय आउन मन लाग्दैन । पढाई नभएपछि विद्यालय आउनुको अर्थ रहेन,’ उनले भने, ‘पुस्तक नपाएकोले अधिकांश विद्यार्थी विद्यालय आउन मान्दैनन् । घरको काम गरेर बस्छन् ।’
पाठ्यपुस्तक नहुँदा अध्यापनमा समस्या भएको आदर्श मावि लक्ष्मणपुरका प्रधानाध्यापक त्रिलोकीनाथ मौर्यले बताए । उनले पुस्तक नहुँदा विद्यार्थीहरु कक्षा कोठामा बस्न नमान्ने गरेको बताए । पाठ्यपुस्तक नहुँदा कक्षा संचालन गर्न गाह्रो परेको बताउँदै उनले विद्यार्थीहरु पनि कक्षामा बस्न नमानेको जिकिर गरे । ‘विद्यार्थीहरु कक्षा कोठामा बस्नै मान्दैनन् । पुस्तक भएपछि मात्र पढ्छौँ भनेर जिद्दि गर्छन्,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिका ४ बैजापुरस्थित सरस्वती माविका सहायक प्रधानाध्यापक पुष्पालाल चौधरीले पनि विद्यार्थीले पुस्तक नपाएको बताए । उनले पाठ्यपुस्तक विनाको कक्षा लगाम बिनाको घोडा जस्तै हुने गरेको बताए । ‘कक्षा खाली राख्दैनौँ, तर पाठ्यापुस्तक नहुँदा अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थी अल्झाउने गरेका छौँ,’ उनले भने, ‘शैक्षिक तालिका अनुसारको पठनपाठन नहुँदा कोर्ष सकाउन गाह्रो पर्ने निश्चित छ ।’
पुराना र नयाँ पुस्तकले पढाई संचालन गरेको खजुरा गाउँपालिका २, सी गाउँस्थित अमर माविका प्रधानाध्यापक बाबुहरि गौतमले बताए । उनले १–४ कक्षाको पुस्तक आए पनि अन्य कक्षाको पाठ्यपुस्तक आंशिक रुपमा आएको बताए । पुस्तक आउने क्रम जारी रहेको बताउँदै उनले अपुग भएकालाई पुरानो पुस्तक दिएको बताए । ‘पढाउन साह्रो गाह्रो छ, तर मिलाएर पढाउँदै आएका छौँ,’ उनले भने ।
जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्माले पर्याप्त संख्यामा पाठ्यपुस्तक आउने निश्चित नभएको बताए । उनले पश्चिम क्षेत्रका मात्र समस्या नभएकोले यसै भन्न सकिने अवस्था नरहेको बताए ।

Previous articleकोरोना परीक्षणको दायरा बढाउन डिसिएमसीलाई केन्द्रको निर्देशन
Next articleजिल्ला समन्वय समिति बाँकेको उप-प्रमुखमा काँग्रेसकी सीता कार्की निर्विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here