जिल्ला समन्वय समिति बाँकेको उप-प्रमुखमा काँग्रेसकी सीता कार्की निर्विरोध

बाँके, २५ जेठ, २०७९ ।


जिल्ला समन्वय समिति बाँकेको उप–प्रमुखमा नेपाली काँग्रेसकी सीता कार्की निर्विरोध निर्वाचित भएकी छन् । उप–प्रमुखमा कार्कीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उम्मेदवारको मनोनयन २५ जेठमा तोकिएको थियो । कार्की कोहलपुर नगरपालिका वडा नं. ५ को वडा सदस्य हुन् ।
प्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी (कुर्मी) र जनता समाजबादी पार्टी (जसपा) का उमेशकुमार कुर्मीले उम्मेदवारी दर्ता गराएका छन् । चौधरी जिल्ला समन्वय समिति बाँकेका उप–प्रमुख हुन् । उनी डुडुवा गाउँपालिका १ का वडा सदस्य हुन् । प्रमुखमा उम्मेदवारी दिएका जसपाका कुर्मी जानकी गाउँपालिका ३ का हुन् ।
दलित÷अल्पसंख्यक सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य जगदिश बाल्मिकी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
खुला सदस्य पनि तीनै जना काँग्रेसबाट विजयी वडा सदस्य निर्विरोध निर्वाचित भएको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका ५ का वडा सदस्य उदय नारायण मिश्र, जानकी गाउँपालिका ५ का जुल्फेकार अली मनिहार र कोहलपुर नगरपालिका १५ का सन्तकुमार थारु निर्विरोध निर्वाचित भएको उनले बताए ।
तीन जना महिला सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि जसपाबाट नेपालगन्ज उपमहानगरपालिका ५ की तरुन्नुम बानो शेष र जानकी गाउँपालिका ३ की लक्ष्मी पासी तथा माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिका ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ गाउँपालिका ५ की चमेली थारुको उम्मेदवारी परेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचन २७ जेठका लागि तोकिएको छ । प्रमुख र महिला सदस्यमा उम्मेदवारी फिर्ता नभए चुनाव हुनेछ । उम्मेदवारी फिर्ताको समय २६ जेठ दिउँसो १–३ बजेको समय तोकिएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत छ । तर, स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका सत्तारुढ दललाई समेट्ने उद्देश्यले सदस्य पद दिएको काँग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले बताए । काँग्रेसले माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) लाई एक÷एक जना महिला सदस्य दिएको उनले बताए । तर जसपाले काँग्रेसको उक्त प्रस्तावलाई अस्विकार गर्दै प्रमुख र महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।
१६ जना मतदाता मध्ये काँग्रेसका १२, जसपाका तीन र माओवादी केन्द्रका एक जना छन् । यसमा पालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
यसअघि जसपाले प्रमुख लिएर काँग्रेसलाई उप–प्रमुख दिएको थियो । राप्रपाले एउटा सदस्य पाएको थियो ।

Previous articleपाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित : हाजिरी लगाउँदै फर्किदै विद्यार्थी
Next articleबाढीबाट यस वर्ष बाँकेका १० हजार परिवार प्रभावित हुने आँकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here