पाँच बर्षमा दुर्गमबाट सुगम भएको नरैनापुर, के-के भयो परिवर्तन ?

बाँके, १५ जेष्ठ, २०७९ ।


बघौडा भन्ने वित्तिकै सवैले बाँकेको विकट क्षेत्र भनेर चिन्थे । सडकको पहुँच नहुँदा ४१ किलोमिटर पूर्वमा पर्ने नरैनापुर पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । नरैनापुर क्षेत्रमा सामुदायिक विद्यालय थिए, तर त्यहाँका बालबालिका भारतीय विद्यालयमा शिक्षा लिन बाध्य थिए । विद्युत सेवा नहुँदा त्यहाँका बासिन्दा सोलार बत्ती र टुकीमा निर्भर थिए । विकासमा निकै पछि परेकाले त्यो क्षेत्रलाई ‘बाँकेको कर्णाली’ भनेर चिनिन्थ्यो । तर, जनप्रतिनिधि निर्वाचित भएपछि नरैनापुर बदलिएको छ ।
नरैनापुर बेला–बेला चर्चामा आउने गरेको छ । कुनै बेला बाँकेको कर्णाली भनेर चर्चामा रहेको नरैनापुर गत वर्ष ‘कोरोना हटस्पट’ भनेर चर्चामा आयो । यहाँको खवरले राष्ट्रिय सञ्चार माध्यमहरूमा प्राथमिकता पायो । त्यतिखेर यहाँका पाँच जनाले ज्यान गुमाए ।
गाउँमा अस्पताल बन्दै थियो, सेवा सुरू भइसकेको थिएन । त्यसैले कोरोना बिरामीको उपचार गर्न नेपालगन्जदेखि दाङको तुलसीपुरसम्म लैजानुपरेको थियो । तर जसै नरैनापुरलाई कोरोना हटस्पट भनियो, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले हतार–हतार आफ्नै नेतृत्वमा क्वारेन्टिन, आइसोलेसन र आइसियू निर्माण गराए ।
आइसियू सञ्चालन गर्न चाहिने बिजुली गाउँमा पुगेकै थिएन । बिजुली आपूर्तिका लागि उनले रातारात जिल्ला सदरमुकाम आएर दवाव सिर्जना गरे । ‘बिजुलीबिना आइसियू सञ्चालन नहुने देखेपछि म केन्द्रदेखि जिल्लामा गएर झगडा गरेँ,’ उनले भने ।
त्यसपछि नरैनापुरमा विद्युत आपूर्ति गरियो । २३ वर्षदेखि जडान हुन नसकेको विद्युत लाइन २७ दिनमै विस्तार भयो । नरैनापुरमा पहिलो पटक बिजुलीको उज्यालो आइपुग्यो । कोरोनाले थलिएका गाउँलेले केही राहत महसुस गरे ।
यहाँ पौने दुई करोड लागतमा निर्मित लक्ष्मणपुर अस्पताल गत बर्षदेखि सञ्चालनमा आएको छ । ओपिडीसहित सर्पदंश उपचार केन्द्र र आँखा उपचार सुरू भएको छ । सामान्य बिरामी हुँदा पनि उपचार गर्न भारत जानुपर्ने बाध्यता हटेको छ । स्थानीय तहको निर्वाचनपछि धुलाम्ये सडकहरु कालोपत्रे गरिएका छन् ।
अहिले कालोपत्रे सडकमा गाडी गुडाउँदै नरैनापुरका गाउँ घुम्न सकिन्छ । त्यो कालोपत्रे सडक पनि स्थानीय सरकार आएपछि बनेको गाउँलेहरूले बताए । चार÷पाँच वर्षअघिसम्म नरैनापुर पुग्न भारतको रूपैडिहा हुँदै दिनभरि यात्रा गर्नु पर्दथ्यो । स्थानीय ५५ वर्षीय रामचन्द्र पासी यसका साक्षी हुन् ।
‘सडक आइसक्यो, बिजुलीबत्ती आइसक्यो, आवातजावात गर्न गाडी चल्छन्,’ उनले भने, ‘पहिलेभन्दा धेरै सहज भइसक्यो ।’ बाँकेको धम्बोजी चोकदेखि नरैनापुरको सुइँया भनिने नेपाल–भारतको अन्तिम सीमा क्षेत्रसम्म ४४ किलोमिटर कालोपत्रे हुलाकी सडक स्थानीय तहको निर्वाचनपछि नै सम्पन्न भएको छ । यसलाई गाउँलेहरू नरैनापुरले ‘तरक्की गरेको’ बताउँछन् ।
नरैनापुरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पनि कर्मचारीका रूपमा पहिलो पटक यहाँ आउँदा खेप्नुपरेका सास्ती पटक्कै भुलेका छैनन् । ‘कच्ची बाटोमा गाडी फसेपछि ट्रयाक्टरले तान्नुपरेको थियो । जुत्ताचप्पल बोकेर हिँडे पनि कपडा हिलाम्मे भएका थिए । म त पहिलो पटकमै कहालिएको थिएँ,’ उनले भने ।
उनका अनुसार चार वर्षअघि गाउँपालिका कार्यालय नै नाम मात्रको थियो । पानी, बिजुली, शौचालय केही थिएन । त्यसैले कर्मचारीहरू सितिमिति नरैनापुर जान मान्दैन थिए । अहिले नरैनापुरको प्रगति देखर बस्नेत आफैं दंग छन् । ‘यति छिट्टै काँचुली फेर्ला भनेर मैले कल्पना पनि गरेको थिएन,’ उनले विगत सम्झिँदै भने ।
रामचन्द्रलाई भने अझै पनि गाउँमा धेरै काम गर्न बाँकी छन् भन्ने लाग्छ । ‘स्थानीय सरकार आएपछि गरिब जनताको आवाज सुनिए, बच्चाबच्चीको पढाइका लागि राम्रो विद्यालय बनाइयो,’ उनले सुनाए, ‘नरैनापुरको विकास ‘शम्मु मियाँ’ आएपछि भयो,’ रामचन्द्रले भने ।
नरैनापुरकै ५८ वर्षीय मंगलप्रसाद पनि आफूले देख्दादेख्दै नरैनापुरले काँचुली फेरेको बताउँछन् । उनले पनि विकासको जस ‘शम्मु मियाँ’ लाई नै दिए । ‘शम्मु मियाँ’ कै नेतृत्वमा धेरै विकास भयो,’ उनले भने, ‘उहाँकै पालामा सडक र बिजुली बत्ती गाउँमा आयो । नरैनापुरमा विकास भयो ।’
६५ वर्षीया सुन्दरादेवी चौहानको पनि यस्तै अनुभव छ । आफ्नो जीवनको धेरै समय सुँडेनीका रूपमा बिताएकी सुन्दरा भन्छिन्, ‘पहिले जन्मिएका धेरै बच्चा मर्ने गर्थे । अचेल एक बच्चा पनि मरेको मैले सुनेकी छैन ।’ नरैनापुरले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेकोमा उनी सबैभन्दा धेरै खुसी छिन् ।
पहिला सडक नहुँदा यहाँका महिलाहरूलाई सुत्केरी हुन भारत जानुपर्ने बाध्यता थियो । सडक निर्माणले नेपालगन्जका अस्पतालसम्म पुर्याउन सहज भएको छ । नरैनापुर–४ स्थित पण्डित पुरूवामा पनि २९ करोड रूपैयाँ लागतमा १५ बेडको अस्पताल बनाउन टेन्डर आह्वान भइ निर्माण कार्य सुरु भइसकेको छ ।
बिजुली र बाटो पुगेपछि नरैनापुर–५, मटैयामा पेट्रोलपम्प सञ्चालनमा आउँदैछ । गाउँमै ६ वटा इँटाभट्टा सञ्चालनमा छन् । भारतबाट इँटा किनेर ल्याउनु परेको छैन । अन्य उद्योग पनि विस्तारै खुल्ने क्रममा रहेको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । नरैनापुर– ३ का ३६ वर्षीय मोहम्मदले भने नेपाली पैसाको कथा सुनाए ।
‘पहिले त यहाँ नेपाली पैसा लिन कोही मान्दैन थिए । लिए पनि भाउ घटाएर मात्र लिन्थे,’ उनले भने, ‘जम्मै कारोबार भारतीय पैसामै हुन्थ्यो । स्थानीय सरकार आएसँगै नरैनापुरमै बैंक स्थापना भएको छ । आज यहाँ नेपाली रूपैयाँको महत्व बढेको छ । नरैनापुरको विकास ‘शम्मु मियाँ’ ले गर्नुभएको हो ।’
पहिला नेपाली १० को नोट ६ रूपैयाँजतिमा चल्थ्यो । उतिखेर सबैले नेपाली नोटलाई थोत्रा नोट भन्थे । सडक बनेपछि जब स्थानीयहरू नेपालगन्जमा किनमेल गर्न जान थाले, त्यसपछि नेपाली रूपैयाँको चलनचल्ती बढेको छ । मोहम्मदले स्थानीय सरकार बनेपछि नरैनापुरका समस्या एकपछि अर्को दूर भइरहेको बताए ।
नरैनापुरवासीमा सामाजिक चेतना पनि जागृत हुँदै गएको छ । पहिले नरैनापुर क्षेत्रका विद्यार्थी उच्च शिक्षा पढ्न नेपालगन्ज वा भारत जान्थे । अहिले परिस्थिति उल्टो भएको छ । ‘आज इन्डियाका बालबालिका हामीकहाँ पढ्न आउन थालेका छन्,’ मोहम्मदले भने । जय किसान माविमा प्लस–टूको पढाइ हुन थालेपछि शिक्षाप्रति आकर्षण बढेको छ ।
पाँच वर्षअघि यहाँ प्लस–टू सञ्चालन गर्न खोज्दा शिक्षक अभावले सम्भव भएको थिएन । अहिले कुल विद्यार्थी संख्या १४ सयभन्दा बढी पुगेको छ । केही वर्षअघिसम्म अभिभावकहरू छोरीलाई स्कुल पठाउन मान्थेनन् । अर्काको घर जाने छोरीलाई किन पढाउनुपर्यो भनेर प्रश्न गर्ने अभिभावकहरूले अहिले विद्यालयमा छोरी पठाउन थालेका छ ।
विद्यालयमा पढ्न आउने छोराभन्दा छोरीको संख्या धेरै छ । नरैनापुर गाउँपालिकाभरि २१ सामुदायिक विद्यालय, २७ मदरसा र दुईवटा बोर्डिङ स्कुल छन् । स्थानीय तहमा निर्वाचित भएर आएका ‘शम्मु मियाँ’ को नेतृत्वमा जनप्रतिनिधि आएसँगै उनीहरुको मेहनतले गाउँको शिक्षा क्षेत्रमा सुधार भएको नरैनापुरबासीहरु बताउँछन् ।
इस्तियाक अहमद शाहलाई नरैनापुरबासीले ‘शम्मु मियाँ’ भनेर सम्बोधन गर्छन् ।
समुदाय शिक्षित भएन भने अन्य विकासका कामहरु सम्भव नहुने भन्दै शिक्षालाई प्राथमिकीकरण गर्दै ‘शम्मु मियाँ’ ले नरैनापुरको शैक्षिक क्षेत्रलाई ‘तरकी’ गर्न लायक बनाइदिए । छोरीलाई किन शिक्षा आवश्यक छ भन्ने कुराको फेहरिस्त सुनाउँदै अभियान चलाएपछि अभिभावकले छोरा मात्र होइन, छोरीलाई पनि विद्यालय पठाउन थाले ।
विद्यालयप्रति आकर्षण बढाउन गाउँपालिकाले बस समेत किनिदिएको छ । साना बालबालिकालाई त्यसैबाट विद्यालय ल्याउने–लैजाने हुँदै आएको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत स्मरण गर्दै बस्नेतले भने, ‘अध्यक्षज्यूले धेरै मेहनत गर्नुभयो । विद्यालय सुधारका लागि सम्भव भएसम्मका सहयोग गर्नुभयो ।’
विद्यालय सुधारमा मात्र होइन, बाटो, खानेपानी र बिजुलीबत्ती आपूर्तिमा पनि त्यसैगरी काम भएको छ । ‘शम्भु भैया’कै अथक मेहनतका बाबजुत गाउँमै १२ कक्षासम्मको पढाइ सुरू भयो । यहाँ नरैनापुरकै जय किसान माविमा कृषि र सिभिल इञ्जिनियरिङजस्ता प्राविधिक विषयको पढाइ सुरू भएको छ ।
शिक्षामा मात्रै गाउँपालिकाले यो आर्थिक वर्ष करिब ६ करोड रूपैयाँ लगानी गरेको उनले जानकारी दिए ।

Previous articleबरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले गरे जमुनाह नाकामा कडाई
Next articleरासायनिक मल नपाउँदा किसान चिन्तित : बाँकेमा १२ सय मेट्रिक टन डिएपी माग, २८० मेट्रिक टन मात्र मौज्दात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here