नरैनापुरको प्राथमिकतामा शिक्षा : गुणस्तरिय शिक्षा र शैक्षिक पूर्वाधारमा जोड

बाँके, १४ जेठ, २०७९ ।


नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले समृद्ध नरैनापुर निर्माणमा कुनै कसुर बाँकी नराख्ने बताएका छन् । उनले दोस्रो कार्यकालमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
शिक्षा बिना समाज परिवर्तन सम्भव नदेखेको बताउँदै उनले नरैनापुरमा क्याम्पस स्थापना गरिने बताए । उनले बालबालिकालाई शिक्षा लिन प्रेरित गर्न गाउँपालिकाले विद्यार्थीका लागि स्कुल बस संचालन गर्ने बताए ।
गाउँपालिका भित्र रहेका सवै सामुदायिक विद्यालयलाई एक–एक वटा स्कुल बस उपलब्ध गराउने बताउँदै उनले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजालाई निरन्तरता दिँदै विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने स्पष्ट पारे । ‘पहिलो कार्यकालमा नरैनापुरलाई साक्षर बनायौँ । दोस्रो कार्यकालमा गाउँपालिकालाई गुणस्तरिय शिक्षा र शैक्षिक पूर्वाधारमा सम्पन्न बनाउँछौँ,’ उनले भने ।
उनले नरैनापुरमा पढ्ने संस्कृतिको विकास हुँदै गएको बताए । विद्यालय पठाउन नमान्ने अभिभावकहरुले आफ्ना छोरीलाई स्वस्फूर्त रुपमा विद्यालय पठाउन थालेको बताउँदै बालिका शिक्षाका लागि विभिन्न सहयोग योजना ल्याउने धारणा राखे । ‘बालिकाहरुका लागि छुट्टै विद्यालय स्थापना गर्ने सोँचका साथ अगाडी बढेका छौँ,’ उनले भने ।
एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि पालिका बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि पालिका भित्र क्याम्पस संचालन गरिने बताए । उनले आगामी शैक्षिक शत्रबाट अध्यापन हुने गरि जय किसान माविमा क्याम्पस स्थापना गर्ने लक्ष रहेको बताए । ‘पालिका भित्र क्याम्पस नभएकै कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित हुनु परेको छ,’ उनले भने, ‘आगामी शैक्षिक शत्रदेखि पढाई हुने गरि क्याम्पस संचालनको तयारी गरिएको छ ।’
उनले किशोर किशोरीलाई शिक्षा लिन प्रेरित गर्न एसईईमा सर्बोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गाउँपालिकाले ल्यापटप कम्प्यूटर दिने प्रतिवद्धता जनाए । उनले गाउँपालिकाको वडा नं. १ महतनियामा तीन करोड लागतमा मावि विद्यालय निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले सडक निर्माणलाई पनि जोड दिएका छन् । हरेक गाउँसम्म पक्की सडक निर्माण गर्ने उनको योजना छ । गाउँबाट गाउँपालिकाको सदरमुकासम्म पुग्न पक्की सडक निर्माण गर्ने योजनाका साथ गाउँपालिका अगाडी बढेको छ,’ उनले भने ।

Previous articleजनप्रतिनिधिको अग्रसरता : शिक्षामा फड्को मार्दै नरैनापुर
Next articleबरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले गरे जमुनाह नाकामा कडाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here