जनप्रतिनिधिको अग्रसरता : शिक्षामा फड्को मार्दै नरैनापुर

बाँके, १३ जेष्ठ, २०७९ ।


शिक्षा, स्वास्थ्य, सडक, बत्ती, सिँचाइ र सचेतनामा कमी भएकै कारण नरैनापुरलाई बाँकेको कर्णाली भनिन्थ्यो । विद्यालय भए पनि गुणस्तरिय शिक्षा नहुँदा अधिकांश बालबालिका अध्ययनका लागि सीमावर्ती भारतीय विद्यालयमा आश्रित थिए ।
नरैनापुरका माध्यमिक विद्यालयबाट एसएलसी (एसईई) उत्तीर्ण गरे लगत्तै त्यहाँका विद्यार्थीलाई जिल्ला सदरमुकाम नेपालगन्ज वा भारतीय कलेज धाउनुपर्ने बाध्यता थियो । नेपाली भएको आभाष गराउने सरकारी कार्यालय नहुँदा त्यहाँ नेपाली रूपैँयासमेत प्रचलनमा थिएन । सरकारी उपस्थिति न्यून रहेको नरैनापुरमा शिक्षाको दियो बाल्ने चुनौती जनप्रतिनिधिमा आइलाग्यो ।
शिक्षा बिना विकास असम्भव छ भन्ने बुझेका नरैनापुर गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र अन्य जनप्रतिनिधिले शिक्षामा विशेष जोड दिए । त्यसको फलस्वरूप १० कक्षासम्म पढाइ हुने नरैनापुर गाउँपालिकाको विद्यालयमा शैक्षिक शत्र २०७६–०७७ देखि कक्षा ११ को पढाइ सुरु भएको छ ।
नरैनापुर गाउँपालिका–६, गंगापुरको भोजपुरस्थित जयकिसान माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७६–७७ मा कक्षा ११ को पढाइ सुरु गरेपछि यहाँ शिक्षाको दीप बल्न थालेको अभिभावक बताउँछन् । पहिलो वर्ष कक्षा ११ मा ४५ जना विद्यार्थी भर्ना भए । ती मध्ये ४२ जना १२ कक्षाको जाँच दिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण तिवारीले बताए । उनले छात्रको तुलनामा छात्राको संख्या थोरै भए पनि तुलनात्मक रूपमा सन्तोषजनक रहेको बताए । ‘जनप्रतिनिधि आउनुभन्दा पहिले ११–१२ कक्षा पढ्न नेपालगन्ज वा सीमावर्ती भारतीय विद्यालयमा जानुपर्ने बाध्यता थियो । छोरीलाई घरभन्दा बाहिर पठाउने संस्कार नभएकोले अधिकांश छात्राले एसईई उत्तीर्ण गरेपछि पढाई छोड्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘घर नजिकैको विद्यालयमा पढ्न पाउने भएपछि अभिभावकले आफ्ना छोरीलाई ११ मा भर्ना गराएका छन् ।’
जनप्रतिनिधि आएपछि गाउँपालिकाको सहयोगमा जयकिसान माविले कक्षा ९ देखि विज्ञान कक्षा पनि सञ्चालनमा ल्याएको छ । ४८ जनाको कोटामा ३३ जना भर्ना भएका छन् । कृषि क्षेत्रको सुधारका लागि कक्षा ९ देखि बाली विज्ञानको कक्षा सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादवले बताए । ‘बाली विज्ञान अध्ययनतर्फ विद्यार्थीको रुचि देखिन्छ,’ उनले भने ।
कक्षा ११ मा पनि विद्यार्थी संख्या सोँचे भन्दा धेरै भएको अध्यक्ष यादवले बताए । उक्त विद्यालयमा शिक्षा विषय पढाइ हुने गरेको छ । अध्ययनका लागि ४७ जनाले प्रवेश परीक्षा दिएका थिए । तीमध्ये ४३ जना भर्ना भई ४० जना वार्षिक परीक्षामा सहभागी भए । ‘कामका लागि बाहिर गएका र कोरोनाका कारण बाहिरबाट आउन नसकेका बाहेक अधिकांश विद्यार्थी कक्षा ११ को परीक्षामा सहभागी भए,’ प्रधानाध्यापक तिवारीले भने ।
जय किसान माविको तल्लो कक्षामा पनि विद्यार्थी संख्या बढ्दै गएको छ । शैक्षिक शत्र २०७६–०७७ मा ४१६ छात्र ® २९९ छात्रा भर्ना भए भने २०७७–७८ मा ८१७ जना अध्ययनरत रहेको प्रधानाध्यापक तिवारीले जानकारी दिए । उनले ड्रपआउट हुने विद्यार्थीको संख्यामा समेत कमी आएको बताए । पछिल्लो समय ३–५ प्रतिशत विद्यार्थी ड्रपआउट हुने गरेको तथ्यांक विद्यालयले दिएको छ । ‘छात्राको संख्या बढेको छ नै ड्रपआउट पनि एकदमै घटे को छ,’ तिवारीले भने ।
गाउँपालिकाले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शिक्षामा जोड दिएपछि अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठाउन थालेको नागरिक समाज, गंगापुरका अगुवा सोहनलाल यादवले बताए । उनले भारतीय विद्यालयमा पढ्न जाने विद्यार्थीको संख्यामा समेत कमी आएको स्पष्ट पारे । ‘गाउँपालिकाले शिक्षामा लगानी गरेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार भएको छ । आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतनाको विकास अभिभावकमा जागेको छ,’ उनले भने ।
गाउँपालिकामा तीन मावि, एक आधारभूत र १७ प्राथमिक विद्यालय छन् । त्यसैगरि, कक्षा पाँचसम्म पढाइ हुने एक सहित कक्षा तीनसम्म पढाइ हुने २५ मदरसा गरी २६ मदरसा नरैनापुरमा रहेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए ।
महेन्द्र माध्यमिक विद्यालय, मटेहियामा पनि विद्यार्थीको संख्या बढ्दो छ । विद्यालयमा शैक्षिक गुणस्तर बढेपछि अध्ययनका लागि सीमापारीका विद्यालयमा जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको प्रधानाध्यापक सन्तोषकुमार तिवारीले बताए । ‘गाउँपालिकामा जनप्रतिनिधि आएपछि शैक्षिक सुधारका लागि बजेट विनियोजन भयो । शैक्षिक सुधारका लागि जनप्रतिनिधिले चासो राखेपछि विद्यार्थीको संख्या बढ्दै गएको छ नै शैक्षिक गुणस्तरमा समेत सुधार आएको छ,’ उनले भने ।
छात्रालाई विद्यालयमा टिकाई राख्न गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समेत गरेको छ । ‘छोरीलाई विद्यालय नपठाउने परम्पराको अन्त्य गर्न र भर्ना भएका छात्रालाई विद्यालयमा टिकाई राख्न विभिन्न थरिका सहयोग प्रदान गर्दै आएका छौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने ।
उनले बालबालिकालाई विद्यालयमा टिकाउने चुनौती अझैँ भए पनि जनप्रतिनिधिको सहयोगमा ड्रपआउट हुने क्रम रोकिएको छ,’ उनले भने ।
उनले शैक्षिक सुधार बिना विकास सम्भव नभएकोले गाउँपालिकाले अन्य क्षेत्र भन्दा शैक्षिक क्षेत्रको विकासमा विशेष जोड दिएको बताए । ‘गाउँपालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ,’ उनले भने ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अशिक्षाका कारण नरैनापुरमा विकास हुन नसकेको बताए । उनले राम्रो शिक्षकलाई प्रोत्साहन र काम नगर्ने शिक्षकलाई नसिहतको व्यवस्था गरिएको बताए । ‘विद्यालयमा नियमित आउने र शैक्षिक सुधार गर्ने शिक्षकलाई पुरस्कार तथा जेहेन्दार विद्यार्थीको शिक्षामा टेवा पु¥याउन छात्रवृत्ती प्रदान गर्ने नीति गाउँपालिकाले अघि सारेको छ,’ अध्यक्ष शाहले भने ।
शैक्षिक सुधारका लागि गाउँपालिकाले बजेट विनियोजन गरी विभिन्न थरिका कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनले अध्ययनका लागि विद्यालय जान नसक्ने बालबालिकालाई मदरसा शिक्षा दिँदै आएको बताए । विद्यालय जाने विद्यार्थीलाई विद्यालय शिक्षा र नजाने बालबालिकालाई मदरसा शिक्षा दिने नीति अघि सारेको उनले बताए । ‘जसरी भए पनि बालबालिकालाई शिक्षा दिने र नरैनापुरलाई छिट्टै साक्षर गाउँपालिका घोषणा गर्ने योजना छ,’ उनले भने ।
शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताउँदै उनले कक्षा ११ सञ्चालनका लागि वडा कार्यालयले समेत आर्थिक सहयोग गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले एक लाख ५० हजार एक सय, वडा नम्बर ४ का वडाध्यक्ष दिनेशप्रसाद शर्माले ५१ ह्जार र वडा नम्बर १ का सदस्य जलालु खाँले २५ हजार रूपैयाँ दिएका छन् । ‘जनप्रतिनिधि, सर्वसाधारण जागरुक भएपछि वडा कार्यालय, विभिन्न संघसंस्था, नरैनापुरमा सञ्चालित २१ वटा विद्यालय र सर्वसाधारणले आर्थिक सहयोग गरेका छन्,’ अध्यक्ष शाहले भने ।
गाउँपालिकाले शिक्षामा जोड दिएपछि बालबालिकाले गुणस्तरीय शिक्षा पाउन थालेको मटेहियाका स्थानीय रामप्रसाद यादवले बताए । उनले पहिलेको तुलनामा शैक्षिक सुधार भएको बताउँदै भारतीय विद्यालयमा जाने बालबालिकाको संख्यामा समेत कमी आएको बताए । ‘पहिले पनि विद्यालय नभएका होइनन् । तर, त्यतिबेला शिक्षकहरू हाजिरी लगाउनमात्र विद्यालयमा आउँथे । यहाँका विद्यालयले गुणस्तरीय शिक्षा नपाउँदा अधिकांश विद्यार्थी भारतीय विद्यालयमा अध्ययनका लागि जाने गर्थे,’ उनले भने ।
उनले पछिल्लो समय छोरीहरू पनि विद्यालय जाने क्रम बढेको बताए । गाउँपालिकाले छोरीलाई शिक्षा दिने विशेष योजना बनाएपछि अभिभावकले आफ्ना छोरीलाई पनि विद्यालय पठाउन थालेको उनको भनाइ छ । ‘अब त छोरा सरह छोरीलाई पनि विद्यालय पठाउने क्रम बढे को छ,’ उनले भने ।

Previous articleबाँकेमा भत्कियो सत्तागठ्बन्धन, कार्यपालिका निर्वाचनमा कुन-कुन दल वीच भएको छ गठबन्धन ?
Next articleनरैनापुरको प्राथमिकतामा शिक्षा : गुणस्तरिय शिक्षा र शैक्षिक पूर्वाधारमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here