बाँके, १२ जेठ, २०७९ ।
डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चमा कटौती गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले आर्थिक भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । उनले करार कर्मचारी मध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीको सम्झौता थप नगर्ने नीतिगत निर्णय भएको बताए ।

कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय गरेको बताए । खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने अध्यक्ष चौधरीको भनाई छ ।
उनले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई धन्यवाद दिँदै जनताको सेवामा सधैँ खटिने प्रतिबद्धता जनाए । दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता तथा प्रभावकारी सेवा प्रवाहमा कुनै पनि कन्जुस्याई नगर्ने स्पष्ट पारे ।
