सत्तागठबन्धनलाई भारी मत अन्तरले पराजित गरि तुल्सीपुरको मेयर–उपमेयरमा एमालेका खड्का र चौधरी विजयी

बाँके, ११ जेठ, २०७८ ।


२०५४ सालदेखि दाङको तुल्सीपुरमा राज गर्दै आएको एमालेले यस पटकको स्थानीय तह निर्वाचनमा पनि जित निकालेको छ । सत्तागठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले तुल्सीपुरमा जित निकालेको छ ।
मेयरमा एमालेका टीकाराम खड्का र उपमेयरमा एमालेकी स्यानी चौधरी विजयी भएकी छन् । मेयरमा खड्काले गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै विजयी भएका छन् । खड्काले ३१ हजार चार सय ८ मत प्राप्त गर्दा गिरीले २७ हजार सात सय १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुल्सीपुरका प्रमुख राजेश्वर अर्यालले जानकारी दिए ।
त्यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरीले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार पाँच सय ३२ मतले पराजित गरेकी छिन् । चौधरीले ३० हजार पाँच सय ९७ मत ल्याउँदा रानाले जम्मा २१ हजार ६५ मत ल्याए ।
उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । एक लाख एक हजार चार सय ६० मतदाता रहेको उपमहानगरमा ७४ हजार तीन सय ३६ मत खसेको थियो ।
विजयी भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित मेयर खड्काले तुल्सीपुरलाई समृद्ध बनाउने बताए । उनले आफू सुकुमबासी भएकाले सुकुमबासीका हरेक समस्या समाधान गर्ने बताए । त्यस्तै, नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले शिक्षालाई निःशुल्क बनाउन आफूले पहल गर्ने बताइन् ।

Previous articleभेरी अस्पताल यस बर्ष पनि देशकै उत्कृष्ट
Next articleखजुरा गाउँपालिकाको प्रवक्तामा वडा अध्यक्ष ओली नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here