भत्कियो २०५१ सालदेखिको ‘एमाले विरासत’

बाँके, ८ जेठ, २०७९ ।


नेपाली काँग्रेसले कोहलपुर नगरपालिकामा एमालेको ०५१ सालदेखिको विरासत भत्काएको छ । कोहलपुर गाउँ विकास समिति हुँदादेखि नै एमालेले त्यहाँ जित्दै आएको थियो । एमालेका लुटबहादुर रावतले ०५१ र ०५४ मा कोहलपुर गाउँ विकास समितिको अध्यक्षमा जितेका थिए । त्यसपछि उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट कोहलपुर नगरपालिकाको मेयरमा जित्न सफल भए ।
उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका भानुभक्त भट्टराईलाई ८३ मतले पराजित गरेका थिए । तर एमालेको किल्लालाई यस पटक काँग्रेसका यूवा नेता पूर्णप्रसाद आचार्यले भत्काएका छन् ।
थारु बाहुल्य कोहलपुरमा थारु समुदायको मत निर्णायक मानिन्छ । नेपाली काँग्रेसमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) समाहित भएपछि कोहलपुरमा काँग्रेस झनै बलियो भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवार फुलाराम थारुले दुई हजार ३०३ मत पाएका थिए । तत्कालिन फोरम लोकतान्त्रिकको मत पनि यस पटक नेपाली काँग्रेसले पाएको छ ।
उता, एमालेबाट माधव नेपालको समुह बाहिरिएर नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि एमालेलाई झनै असर परेको हो । एकीकृत समाजबादीले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि यसको प्रत्यक्ष फाइदा नेपाली काँग्रेसले पाएको छ ।
एमाले विभाजन र काँग्रेसमा फोरम लोकतान्त्रिक समाहित भएकै कारण एमालेले २०५१ सालदेखिको आफ्नो विरासत यस पटक गुमाएको छ । यस पटक काँग्रेसले मेयर र उपमेयर दुवै हात पारेको छ ।
अर्कोतर्फ एमालेबाट विजयी भएका मेयर रावतले मुक्त कमैया र सुकुम्बासीको माग सम्बोधन गर्न नसकेका कारण मतदाताले काँग्रेसलाई रोज्न पुगेका हुन् । मेयर रावतले बसाईसराई दर्ता नगरेको भन्दै कोहलपुर उपमहानगरपालिका ११, सुकुम्बासी बस्तीका करिव पाँच सय परिवारले नगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए । बसाईसराई दर्ता नगरिदिँदा आफूहरु राज्यको विभिन्न सेवासुविधाबाट बञ्चित भएको भन्दै सुकुम्बासीले एक हप्तासम्म गेटमा धर्ना दिँदै कामकाज ठप्प पारेका थिए । यसको असर पनि एमालेलाई परेको राजनीतिज्ञहरुको भनाई छ ।
लामो समयसम्म कोहलपुरको बागडोर एमालेले सम्हाले पनि जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेको अनुभूती जनताले गरेको स्पष्ट भएको छ । यसको असर पर्न गई स्थानीय तह निर्वाचन-०७९ मा एमालेले कोहलपुरमा पराजित हुन परेको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा सात वटा वडा जितेको एमाले यस पटक चार वडामा सिमित भएको छ । मेयर र उपमेयरको टिकट वितरणमा समेत असन्तुष्टि देखिएकोले पनि एमाले पराजय हुनुको अर्को कारण हो । थारु समुदायको मत बटुल्न राजनीतिमा नआएकी थारु महिलालाई टप्प टिपेर उपमेयरको उम्मेदवार बनाएका कारण अस्मिता थारुले आफ्नै वडामा समेत सोँचे जस्तो मत पाउन सकिनन् ।
मेयरमा आचार्यले १४ हजार एक सय ३४ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय ८५ मत पाए भने माओवादी केन्द्र–एकीकृत समाजबादीको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले ९ हजार सात सय २५ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा काँग्रेसकी संगिता सुवेदीले १४ हजार ७४ मत पाएर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेकी अस्मिता थारुले १३ हजार एक सय ५७ मत पाइन् ।
१५ वटा वडा रहेको कोहलपुरमा काँग्रेसले ९, एमालेले चार र माओवादी केन्द्रले दुई वटा वडा जितेको छ ।

Previous articleतुल्सीपुरमा एमालेका मेयर र उपमेयरको अग्रता कायमै, कसले कति मत पाए ?
Next articleसामुदायिक विद्यालयलाई बस प्रदान गर्ने नरैनापुर गाउँपालिका अध्यक्षको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here