कैलालीमा रेशम चौधरीको लोकप्रियता : नागरिक उन्मुक्ति पार्टीले तीन पालिका जित्यो, एक पालिका जित नजिक

बाँके, ५ जेठ, २०७९ ।


पहिलो पटक निर्वाचनमा भाग लिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको सुदूर पूर्वका तीन वटा पालिका जितेको छ । जेल जिवन विताइरहेका रेशमको अगुवाईमा केहि महिनाअघि मात्र नागरि उन्मुक्ति पार्टी दर्ता भएको थियो । उक्त पार्टीको अध्यक्ष रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरी छिन् । स्थानीय तह निर्वाचनमा पहिलो पटक भाग लिएको उक्त पार्टीले कैलालीको सुदूर पूर्वी क्षेत्रमा हलचल ल्याएको छ ।
कैलालीको सुदूर पूर्वमा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा रेशम चौधरीको पार्टीका उम्मेदवारले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेको छ । जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले जित नजिक पुगेको छ ।
टीकापुरको मेयरमा उन्मुक्ति पार्टीका रामलाल निर्वाचित
टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका मेयरका उम्मेदवार रामलाल डंगौरा थारु विजयी भएका छन् । उनले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई तीन हजार बढी मतले पराजित गरेका हुन् । थारूले नौँ हजार ६ सय ४२ मत पाएका छन् । कांग्रेसका रावलले ६ हजार ६ सय ४२ मत पाए । उनी टीकापुर नगरपालिका ७ का निवर्तमान वडाध्यक्ष समेत हुन् । उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नंं. ४ र ५ को वडाध्यक्ष पनि जितेको छ ।
जोशीपुरमा उन्मुक्ति पार्टीका चित्रबहादुर र रेखादेवी निर्वाचित
जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार बन्सराम बडायकलाई एक हजार पाँच सय ३५ मतले पराजित गरेका हुन् । चौधरीले चार हजार नौँ सय ३ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी बन्सरामले तीन हजार तीन सय ६८ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा चार हजार पाँच सय ८१ मत ल्याएर उन्मुक्ति पार्टीकी रेखादेवी कठरिया विजयी भएकी छन् । रेखादेवीले नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार दीर्घराज विनाडीलाई पराजित गरिन् । विनाडीले तीन हजार तीन सय ६८ मत पाएका छन् ।
जोशीपुरका वडा नं. १, ३, ४ र ५ नागरिक उन्मक्तिले जितेको छ । वडा नं. २ जनता समाजवादी, वडा नं. ६ माओवादी केन्द्र र वडा नं. ७ नेकपा एमालेले जितेको निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए । ०७४ मा अध्यक्ष, उपाध्यक्षसहित सात वटै वडा एक्लै जितेको नेपाली काँग्रेसले यसपटक वडा नं. ७ मा दुई वटा सदस्य मात्रै जितेको छ ।
भजनीको मेयरमा केवल र उपमेयरमा राजु तिरुवा विजयी
भजनी नगरपालिकाको मेयर र उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ । निवर्तमान मेयर तथा सत्तागठबन्धनबाट माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई तीन हजार भन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका केवल चौधरी विजयी भएकी छन् ।
यसैगरी, उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली काँगे्रसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार चार सय मत अन्तरले नागरिक उन्मुक्तिका राजु तिरुवा विजयी भएका छन् । मेयर र उपमेयर जितेको नागरिक उन्मुक्तिले ३ वटा वडा जितेको छ ।
जानकीको अध्यक्षमा गणेश र उपाध्यक्षमा लालमति अगाडी
जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार गणेश चौधरी धेरै अगाडी छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा एक हजार पाँच सय मत अन्तरले अगाडी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कान्तिपुर दैनिकको कैलाली सम्बाददाताबाट राजिनामा दिएर नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको उम्मेदवार बनेका चौधरीले चार हजार आठ सय ३४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पर्शुराम महतोले तीन हजार चार सय मत पाएका छन् । उनीहरु वीच एक हजार चार सय ३८ मत अन्तर रहेको छ ।
उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमति कठरिया अगाडी छिन् । उनले चार हजार तीन सय ४३ मतका साथ अगाडी छिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जयप्रकाश दहितले तीन हजार एक सय ७८ मत पाएका छन् । दहितभन्दा कठरिया एक हजार एक सय ६५ मतका साथ अगाडी छिन् ।

Previous articleकैलालीको टीकापुरको मेयरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका रामलाल विजयी
Next articleजानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here