मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका घले र उपाध्यक्षमा काँग्रेसकी लामा विजयी

File Photo

काठ्माडौँ, ३१ बैशाख, २०७९ ।


मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र घले विजयी भएका छन् । घले ०७४ को निर्वाचनमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । घलेले ३ सय २० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ दोर्जे लामाले २ सय ७९ मत ल्याएर पराजित भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मार डोमा लामा ३ सय २५ मतले बिजयी भएकी छ्न् । उनकी प्रतिद्वन्दी नेकपा एमालेकी आश कुमारी गुरुङ २ सय ७४ मत ल्याएर पराजित भएकी छन् । चामे गाउँपालिकामा ०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेसले नै उपाध्यक्ष जितेको थियो ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।
त्यसैगरि, वडा नम्बर ५ को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०÷३० मत ल्याएका थिए ।
दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन । गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८÷२८ मत खसेको थियो ।
दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।

Previous articleस्थानीय तह निर्वाचन : बाँकेमा चार हजार सुरक्षाकर्मी परिचालन
Next articleनेपालगन्ज उपमहानगरमा मत गणना सुरु (मतदान स्थलको फोटा सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here