भ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिदयाल मिश्रको ‘अब्बल’ योजना

बाँके, २६ बैशाख, २०७९ ।


०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ । पदको दुरुपयोग गरि जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । जनताले भ्रष्टाचार नगर्ने उम्मेदवारलाई भोट दिने भनेपछि उम्मेदवारले विजयी भए भ्रष्टाचार नगर्ने कसम खाइरहेका छन् । कोही मन्दीरमा गएर भ्रष्टाचार नगर्ने कसम खाएका छन् । भने, कुनै उम्मेदवारले जनतासमक्ष कसम खाएर मतदाताको भोट तान्ने कोशिस गरिरहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले पनि विभिन्न थरिका योजना ल्याउने विकासको मुल फुटाउने आश्वासनहरु बाँडिरहेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आ–आफ्ना धारणा बाहिर आएका छन् । नेपालगन्जका कुनै उम्मेदवारले कसम खाएर भ्रष्टाचार नगर्ने र नियन्त्रण गर्ने बताइरहेका छन् भने कसैले भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने कामहरु सार्वजनिक गरेका छन् ।
नेपालगञ्जमा भएका विभिन्न कार्यक्रमहरुमा एमालेका पशुपतिदयाल मिश्र, राप्रपाका नन्दलाल बैश्य र कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । नेपालगन्जको मेयरका लागि प्रतिस्पर्धामा रहेका यी तीन जना मध्ये एमालेका उम्मेदवार मिश्रको भ्रष्टाचार नगर्ने योजना सटिक र विश्वासिलो देखिन्छ ।
कांग्रेसका उम्मेदवार विष्ट र राप्रपाका उम्मेदवार बैश्यसँग भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने ठोस योजना सार्वजनिक गर्न सकेका छैनन् । उनीहरु योजना भन्दा कसममा विश्वास गरेर सोही योजना सार्वजनिक गर्दै आएका छन् । राप्रपाका उम्मेदवार बैश्यले भ्रष्टाचार गर्नु आमाको रगत खानुजस्तै भएकाले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।
कांग्रेसका उम्मेदवार विष्टले भ्रष्टाचार नियन्त्रण गर्न देश र नेपालगञ्जको मायाको भावना जागृत गराउनु पर्ने तर्क राखेका छन् । उनले एक दिन सबै मरेर जाने भएकाले मरेपछि कसैले पैसा बोकेर लान नमिल्ने भएकाले भ्रष्टाचार गर्नु हुँदैन भन्ने दावी गर्छन् ।
एमालेका उम्मेदवार मिश्रले डिजिटल माध्यमबाट भ्रष्टाचार नियन्त्रण गर्ने योजना अघि सारेका छन् । कामलाई जानीजानी ढिलो गरेर भ्रष्टाचार गरिने प्रवृत्ति रहेकाले एप्समार्फत निवेदन दिएर निश्चित समयमा काम सम्पन्न हुने वातावरण सिर्जना गर्दा भ्रष्टाचार स्वतः कम हुने मिश्रको तर्क छ ।
यदि नगरपालिकाको कार्यालयमा पुग्नुपर्ने र त्यहाँका कर्मचारीलाई भेटेर कुरा गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरी केही काम घरमा बसी अनलाइन माध्यमबाट गर्न सकियो भने भ्रष्टाचार सजिलै नियन्त्रणमा आउने मिश्रको भनाई छ ।
अहिले मैदानमा देखिएका तीन जनामध्ये पशुपतिदयाल मिश्र त्यसका लागि योग्य रहेको बुद्धिजीवी वर्गको धारणा आइरहेका छन् । नेपालगन्जवासीले अहिले नै होस पुर्याउन सकेनन् र राम्रो मान्छे छान्न सकेनन् भने पाँच वर्षसम्म पछुताउनुको विकल्प छैन ।

Previous articleनेपालगन्ज उपमहानगर : शान्ति ढकालले सत्तागठबन्धनको सहानुभूति भोट पाउने निश्चित
Next articleदंगीशरण गाउँपालिका : ‘एक वडा, एक उद्यम’ कार्यक्रम ल्याउने एमालेको प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here