राप्तीसोनारी गाउँपालिका : रामदाशको पल्ला भारी, अध्यक्षका कुन उम्मेदवारको बारेमा के भन्छन् मतदाता ? पूरा पढ्नुस्

बाँके, २२ बैशाख, २०७९ ।


अन्य पालिका जस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकाका नागरिकलाई पनि निर्वाचनले छोएको छ । गाउँपालिकाका मतदाता विशेषगरि तीन वटा पार्टी एमाले, काँग्रेस र माओवादी केन्द्रमा विभाजन भएका छन् । थारु समुदायको बाहुल्यता भएको यो गाउँपालिकामा दुई जना थारु नेता अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । राजनीतिमा दुवै थारु उम्मेदवार खारिएका र निस्कलंक भएका कारण मतदातालाई उम्मेदवार छान्न सकस परेको छ ।
माओवादी केन्द्रका उम्मेदवार पट्टु थारु संविधानसभा सदस्य हुन् । संविधानसभा सदस्य हुँदा उनले आफ्नो गाउँठाउँका लागि केहि गर्ने प्रयास नगरेका होइनन् । तर उनले त्यतिबेला आफ्नो लागि बाहेक सिंगो समाजका लागि सिंको समेत नभाचेको मतदाताको आरोप छ । माओवादी युद्धबाट खारिएर संविधानसभा सदस्य भएपछि उनीसँग साविकका खासकुसुम, कचनापुर, बैजापुर विनौना र फत्तेपुरका थारु समुदायले ठूलो आशा गरेका थिए । विकासले गति लिने आशा गरेका थिए ।
जनयुद्धमा लागे बापत पाएको दुख पूर्ती हुने विश्वास थियो नागरिकममा, तर उनले जनयुद्धको मर्म बुझ्न सकेनन् । जनयुद्धमा लागेका र जनयुद्धमा लागे बापत दुख पाएका त्यस ठाउँका नागरिकको भावना बुझ्न सकेनन् । ‘पट्टु थारु संविधान सभा सदस्य भएको सुन्यौ, तर कुनै महशुस भएन । गाउँमा उहाँ (पट्टु) ले विकास गरेको एउटा पनि योजना भेटाउन सकिन्न,’ बैजापुरका एक स्थानीयले नाम सार्वजनिक नगर्ने सर्तमा भने, ‘जनयुद्धले थारु समुदाय लगायत पछाडी पारिएका, दविएर बसेका दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायमा चेतना बृद्धि भयो, तर विकासका योजना केहि पाएनौँ ।’
राप्तीसोनारी गाउँपालिकाका थारु समुदायका मतदाताहरु थारु उम्मेदवारलाई नै भोट दिने मनस्थिति बनाएका छन् । ‘थारुको भोट थारुलाई’ भन्ने नारा राप्तीसोनारीमा लाग्न सक्छ । आफ्नो भोट खेर जान नदिने उपायको खोजी गर्न सक्छन् त्यहाँका थारु समुदाय । थारु समुदायबाट अध्यक्षको उम्मेदवार भएका दुई मध्ये कसलाई भोट दिँदा सिंगो राप्तीसोनारीको विकास हुनसक्छ भन्ने खोजीमा छन् सर्वसाधारण मतदाता । ‘थारुको भोट थारुलाई बाहेक अन्यत्र जान दिनुहुन्न भन्ने नारा लाग्न सक्छ । दुई उम्मेदवार मध्ये जो जित्ने जस्तो छ त्यसको पक्षमा जनलहर सिर्जना हुन सक्छ,’ बिनौनाका एक मतदाताले भने ।
उनले अहिलेसम्म अधिकांश थारु मतदाता एमाले उम्मेदवार रामदाश थारुको पक्षमा भएको बताए । कचनापुर गाविसका पूर्व अध्यक्ष समेत रहेका रामदाशले भोटको कदर गर्न सक्ने राप्तीसोनारीबासीको ठम्याई भएको उनको भनाई छ । राजनीतिमा लामो अनुभव संगालेका रामदाशसँग विकासको खाका तयार पार्ने र योजना कार्यान्वयन गर्ने खुवी भएको स्थानीय मतदाताको बुझाई छ । ‘हुन त अध्यक्षका अन्य उम्मेदवारको चर्चा पनि छ, तर यस पटक रामदाशको पक्षमा माहोल बढ्ता भएको जस्तो देखिन्छ । जो जित्ने जस्तो छ त्यसलाई भोट हाल्ने राप्तीसोनारीका मतदाताको मनोभावना देखिन्छ,’ फत्तेपुरका एक मतदाताले भने ।
रामदाशप्रति मतदाताको सवैभन्दा धेरै आकर्षण भए पनि सर्वसाधारणले उनको पनि केहि खोट औँल्याएका छन् । विकास, निर्माणका योजना बनाउने र कार्यान्वयन गर्नसक्ने खुवी उनमा भए पनि उनी कचनापुरमा मात्र सिमित हुने गरेको, थारु समुदायको समग्र विकासमा भूमिका खेल्न नसकेको आरोप छ । ‘रामदाश सरल, सहज र विकासे काममा अगाडी भए पनि उनका पनि केहि कमिकमजोरी छ, त्यो उहाँले सुधार्नु पर्छ,’ बिनौनाका एक मतदाताले गोचाली खवरसँग भने ।
हुन त नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार तप्त पौडेलको लोकप्रियता पनि कम छैन । नेपालगन्जमा बसेर कानून ब्यवसाय समेत गर्दै आएका पौडेलले राजनीतिमा राम्रो दखल राख्छन् । नेपाली काँग्रेसको राम्रो पकड भएको राप्तीसोनारीमा उनी जित्ने सम्भावना पनि उत्तिकै छ । तर, टिकट दिने बेला देखिएको असन्तुष्टिका कारण काँग्रेस केहि कमजोर हुने हो की भन्ने आँकलन गरिएको छ । तै पनि राप्तीसोनारीमा काँग्रेस बलियो भएको विश्लेषकहरुको भनाई छ ।
पौडेललाई नेपालगन्ज बसेर राजनीति गरेको आरोप लाग्ने गरेको छ । उनी अधिकांश समय नेपालगन्जमा बस्ने र गाउँका सुखदुखमा साथ नदिएको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । धेरै नबोल्ने, रिसाएको जस्तो गरि गमक्क परेर बस्ने, खुलेर कुरा नगर्ने ठालु स्वभावको नेताको रुपमा पौडेललाई सर्वसाधारणले चित्रण गर्छन् ।
थारु समुदायको भोट दुई वटा थारु उम्मेदवारमा बाँडिने भएकोले पनि राप्तीसोनारीमा थारु उम्मेदवार कमजोर हुने आँकलन गरिएको छ । तर, एमालेको संगठन पहिलेको तुलनामा मजबुत भएको र अधिकांश थारुको भोट रामदाशलाई जाने भएकोले पनि एमाले अगाडी आउने दावी गरिएको छ । तीन वटै राजनीतिक दलका उम्मेदवारले आपूmले जित्ने दावी गरे पनि ३० बैशाखपछि मात्र भन्न सकिने अवस्था छ ।

Previous articleफोहर केलाएर ‘मोहर’ कमाउने मजदुर महिला : हामीलाई चुनावको के मतलव
Next articleमजदुरका परिवारलाई निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्था गर्ने मेयरका उम्मेदवार भुसालको प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here