बाँके, २२ बैशाख, २०७९ ।
खजुरा गाउँपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले खजुराबासीलाई पत्रमार्फत भावुक बनाएका छन् । उनको पत्रले अधिकांश खजुराबासीको उत्साहित भएका छन् । उनीहरु अध्यक्षका उम्मेदवार सुमनको बारेमा सोँच्न बाध्य भएका छन् । माओवादी केन्द्रको क्रेज घट्दै गएको बेला यस्तो पत्र घर–घरमा पुगेपछि मतदातामा खुसीयाली छाएको छ । उनले पत्रमार्फत समग्र खजुराको विकास गर्ने प्रतिवद्धता मतदातासँग गरेका छन् ।
थोरै बोल्ने, काम धेरै गर्ने स्वभावका सुमन खजुरामा लोकप्रिय मात्र छैनन् यहाँका मतदाताको मन, मस्तिष्कमा अड्डा जमाएर बसेका छन् । देश र नागरिकका लागि केहि गर्नुपर्छ भन्ने भावनाका धनी सुमनसँग विकासको योजना कोर्ने शिप छ । जनताको भावना बुझ्ने कला र कदर गर्ने बानी छ । उनी आश्वासन र भाषणमा विश्वास गर्दैनन् । धेरै भाषण र मिठा कुरा गर्नेहरुलाई उनले मन पराउँदैनन् । भन्छन्, ‘आश्वासन र भाषण गर्नेहरुको मन कालो हुन्छ । मन कालो भएकाहरु राज्यको सम्पत्तीमा आँखा लगाउँछन् । यस्ता नेताबाट सजग हुनु पर्छ ।’
उनले आगामी पाँच बर्षको स्पष्ट खाका कोरेका छन् । खजुरालाई समृद्ध बनाउने धोको पूरा गर्न उनी आत्तुर भएको पत्रमा उनले उल्लेख गरेका छन् । उनको पत्रमा खजुराको समृद्धि र यहाँका जनताको भलाईका लागि चालिने कदमको बारे उल्लेख गरेका छन् ।
मतदातालाई पठाएको चिठ्ठी पढेर खजुरा गाउँपालिका ७ का ८० वर्षिय कर मोहम्मद खाँले जितको शुभकामना दिएका छन् । पत्र पढेर भावुक भएको उनले बताए । ‘अध्यक्षका उम्मेदवार सुमनले पठाएको पत्र पढेर असाध्यै खुसी लाग्यो । उहाँले पत्रमा उल्लेख गरेको ‘दुःखमा साथ दिने मेरो स्वभाव हो’ भन्ने शब्दले झनै भावुक बनाएको छ,’ उनले भने ।
खजुरा गाउँपालिका–२ का खगेन्द्र सुबेदीले चिठ्ठी हातमा पर्ने वित्तिकै क्षणभरमै पढ्न भ्याए । हरेक शब्द मनछुने रहेको प्रतिक्रिया दिँदै उनले ‘म नेता बन्न होइन सेवक बन्नका लागि निर्वाचनमा होमिएको हुँ’ भन्ने शब्द असाध्यै मन परेको बताए ।

खजुरा गाउँपालिका ५ का तसरोथ खाँले पनि चिठ्ठी पढेर मन हर्षित भएको बताए । उनले उम्मेदवारबाट अहिलेसम्म यति राम्रो प्रतिवद्धता नदेखेको जिकिर गरे । उनले सुमनको भावना उत्कृष्ट लागेको बताए । ‘म मात्र नभई सायद खजुराका हरेक ब्यक्ति चिठ्ठीबाट प्रभावित भएको हुनुपर्छ,’ उनले भने ।
सुमनले चिट्ठी साँचेर राख्न खजुराबासीसँग आग्रह गरेका छन् । प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा कार्यान्वयन भए–नभएको थाहा पाउन हरेक समय परीक्षा लिन अनुरोध समेत गरेका छन् ।
